डाक्टर आएपछि जँचाउनेको ओइरो




डोटी, श्रावण ३० - बगलेख ९ की खेमा साउद ३५ वर्षको उमेरमा पहिलोपटक छोरी जन्माउँदा आइतबार खुसीले दंग थिइन् । खेमालाई लामो व्यथाले च्यापेर अवस्था जटिल बन्दै गएका कारण छिमेकीले समेत सन्तान बाँच्न असम्भव रहेको अड्कल गरिरहेका थिए ।
तर जिल्ला अस्पताल डोटीमा दुई महिनाअघिबाट जटिल प्रसूतिको शल्यक्रिया सेवा सुरु भएका कारण खेमाले शल्यक्रियाबाट छोरी जन्माएपछि गाउँभर खुसियाली छाएको छ । 'बाँच्छु भन्ने सोच्दै सोचेकी थिइनँ,' लाज र खुसी मिश्रति अनुहारमा खेमाले कान्तिपुरसँग भनिन्, 'डा. दाजु फणीन्द्र बरालले गर्दा मैले मात्र होइन, छोरीले पनि संसार देख्न पाइ ।' ज्यान जोगाएकाले खेमाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई दाइ-भाइको नातासमेत जोडेकी छन् ।
खेमाले मात्र होइन, बिरामीको शल्यक्रियाबाट बच्चा जन्माउने सेवा सुरु भएपछि धेरैले जीवन पाएका छन् । उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको डोटीमा जटिल अवस्था रहेका गर्भवतीको शल्यक्रिया हुन थालेपछि दुई महिनाकै अवधिमा जिल्ला अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको संख्या दोब्बर भएको छ । 'खेमाको बच्चा जन्मने बेला टाउको फर्किएर अड्किएकाले आमा-छोरीलाई बिनाशल्यक्रिया जोगाउन गाह्रो थियो,' डा. फणीन्द्र बरालले भने, 'छ घन्टा लामो प्रयासपछि बिहान चार बजे पेट चिरेर आमा-छोरी जोगाउन सफल भयौं ।'
गर्भवती महिला बाहेक एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, महिलाको अन्डाशयमा ऐंजेरु पलाउने रोगीको शल्यक्रिया अस्पतालमा हुन थालेको छ । यसअघि सामान्य हातखुट्टा भाँच्चिदासमेत दुई सय किलोमिटर टाढा रहेको धनगढी जानुपर्ने बाध्यता थियो । जिल्ला अस्पतालभन्दा गाउँका इलाका स्वास्थ्य चौकीमा प्रसूति गराउनेको संख्या बढी थियो । 'डोटीका लागि अहिलेको अवस्थामा यो ठूलो उपलब्धि हो,' प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर खापुङले भने, 'अस्पतालभन्दा मेडिकलमा लाइन लागेर उपचार गर्नेहरू अहिले अस्पताललाई विश्वास गर्न लागेको बुझेको छु ।'
जिल्ला अस्पतालमा अहिले दुई वटा एमजीडीबी डाक्टर आएपछि सेवाग्राही लाभान्वित भएका हुन् । सरकारले दुई वर्षअघि मासिक दुई लाख तलब दिने गरी एमजीडीबी डाक्टर राखेर सेवा दिने आमा सुरक्षा कार्यक्रम रहे पनि जिल्ला स्वास्थ्यको लापरबाहीले बजेट फिर्ता गएको थियो । सो वर्ष बजेट फिर्ता गएपछि पछिल्ला आर्थिक वर्षमा केन्द्रबाटै कार्यक्रम कटौती गरेको थियो । तर यो वर्षबाट निक साइमन इनस्टिच्युट नामक संस्थाले डोटीमा पाँच वर्षका लागि उपकरणसहित जनशक्ति उपलब्ध गराएर जिल्ला अस्पताललाई सहयोग गरिरहेको छ ।
बेहोस पार्न जनशक्ति र साधन नहुँदा आन्द्रामा प्वाल परेका बिरामीको भने उपचार गर्न नसकिने डा. फणीन्द्र बरालले बताए । उनले बेहोस गर्ने साधन भएमा आन्द्रामा परेको प्वालको समेत उपचार गर्न सकिने बताए ।
अलपत्र गर्भवतीका आफन्त भेटिएनन्
बागलुङ
आफन्त र चिनेजानेका छिमेकीसमेत नभेटेर यहाँकी १६ साताकी एक गर्भवती डेढ महिनादेखि अस्पतालको शय्यामा अलपत्र छन् । घर ठेगाना सही बताउन नसक्ने अन्दाजी ३५ वर्षकी माया केसी धौलागिरि अञ्चल अस्पतालमा आफन्तको बाटो हेरेर बिरामी शय्यामा बिताइरहेकी हुन् । डेढ महिनाअघि सडकमा बिरामी भएर छटपटाएको अवस्थामा भेटिएपछि प्रहरीले उनलाइ अस्पताल पुर्‍याएको थियो ।
पुरानो कुरा सबै भुलेकाले केसीले घर, ठेगाना बताउन नसकेको चिकित्सकले बताए । १६ साताकी गर्भवती केसीले कसको गर्भ बोकेको हो भन्नेसमेत थाहा नपाएको बताइन् । सडकमा भेटे पनि बोली र व्यवहार सम्मानित देखाउने र लबजमा भारतीय बोलीचालीका भाषा र अंग्रेजी मिसाएर बोल्ने गरेकी छन् ।
गत असार पहिलो साता म्याग्दीको सदरमुकाम नजिक भेटिएकी ती महिलालाई प्रहरीले धौलागिरी अञ्चल अस्पतालमा स्थापना गरिएको 'लैङ्िगक हिंसा एकद्वार संकट व्यवस्थापक केन्द्र' मा बुझाएको थियो । केन्द्रमा केसीको निःशुल्क उपचार भइरहेको केन्द्रकी स्टाफ नर्स शोभा शर्माले बताइन् । 'अंग्रेजी भाषा पनि बोल्न जानेकी हुनाले विदेशमा पुगेर फर्केको अनुमान गरेका छौं,' शर्माले भनिन्, 'शारीरिक अवस्था हेर्दा उनी यसअघि नै आमा बनिसकेकी जस्ती देखिन्छिन् ।'
प्रहरीले बुझाएपछि अस्पतालमा उनको रगत, पिसाब तथा अन्य आवश्यक स्वास्थ्य परीक्षण गरिसकिएको छ । अलपत्र अवस्थामा गर्भवती भेटिएकाले एचआईभी संक्रमण भएको आशंकासमेत गरिए पनि उनी स्वस्थ्य रहेको अस्पतालका प्रमुख डा. तरुण पौडेलले बताए ।