एसएलसीको पूरक परीक्षा सुरु




भक्तपुर, श्रावण १७ - परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बुधबारदेखि एसएलसीको पूरक परीक्षा सञ्चालन गरेको छ । गत चैत्त ७ देखि १६ गतेसम्म सञ्चालन गरिएको एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रूपमा आजदेखि पूरक परीक्षा सञ्चालन गरेको सो कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए ।

यही साउन २४ गतेसम्म सञ्चालन हुने पूरक परीक्षामा मुलुकभरबाट एकलाख २४ हजार परीक्षार्थी सहभागी हुने उनले जनाए ।

परीक्षाका लागि मुलुकभर २४० वटा परीक्षा केन्द्र कायम गरिएको जानकारी दिंदै उनले परीक्षामा एक केन्द्रमा एक जना केन्द्राध्यक्ष, दुई जना सहायक केन्द्राध्यक्ष र २५ जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाइएको बताएका छन् ।

यसवर्ष सबभन्दा बढी गणित र त्यसपछि अङ्ग्रेजी र विज्ञान विषयमा पूरक परीक्षा दिने परीक्षार्थी रहेका छन् । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षार्थीले बुधबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।