आफ्नै कीर्तिमान तोड्ने आशा
![]() |
लन्डन, श्रावण १७ - नेपाली पौडी खेलाडी श्रेया धितालले बुधबार लन्डन ओलम्पिकको एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्दै छिन् ।
धिताल खेलको पूर्वसन्ध्यामा खुब उत्साहित देखिइन् । तर, उनको यो उत्साह पदक जित्ने झिनो आशाले प्रेरित थिएन । बरु, आफ्नो पुरानो कीर्तिमान तोड्ने विश्वास र नयाँ अनुभव बटुल्ने अपेक्षाले हौसिएकी छिन् उनी ।
ओलम्पिक स्टेडियम नजिक एक्वेटिक्स सेन्टरमा स्थानीय समयानुसार बिहान दस बजे उनको खेल हुनेछ ।
'पर्याप्त तालिम, हौसला र यहाँको उपयुक्त वातावरणले आफ्नै कीर्तिान तोड्ने विश्वास छ,' १७ वर्षीया किशोरी श्रेयाले मंगलबार कान्तिपुरसँग भनिन्, 'सकेसम्म राम्रो प्रदर्शन गर्ने अठोट लिएकी छु ।' सुटिङकी स्नेहाले गत शनिबार ५६ खेलाडीमाझ नर्भस भएरै आफ्नो कीर्तिमान समेत जोगाउन नसके पनि श्रेया भने आफूमा त्यस्तो अवस्था नआउने दाबी गर्छिन् ।
पौडी प्रशिक्षक ओङ्देन लामा पनि श्रेयाबाट धेरै आशावादी देखिए । 'गेम हो, भन्न सकिन्न तर श्रेयामा देखिएको आत्मविश्वासले नयाँ रेकर्ड रच्ने अपेक्षा मेरो छ,' उनले भने, 'महिना दिन अघिदेखिको नियमित तालिम, टाइमिङ मिल्नु र हावापानीले उनमा निखारता आएको देखिन्छ ।' अघिल्लो वर्ष १४ औं फिना विश्व पौडी च्याम्पियनसिपमा १ सय ५० स्थानभित्र परेकी श्रेयाको नाममा ५० मिटर बटरफ्लाईमा ३४ दशमलव ७५ सेकेन्ड र एक सय मिटर फ्री स्टाइलमा १ मिनेट दस सेकेन्डको कीर्तिमान छ । उनले पछिल्लोपटक छैंटौं राष्टिय खेलकुदमा ८ स्वर्ण र ४ रजत जितेकी थिइन् ।
उता, अर्का पौडी खेलाडी प्रसिद्धजंग शाहले भने बिहीबार ५० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । शाह पनि आफ्नै कीर्तिमान तोड्ने दाउमा मात्र
छन् । चार वर्षअघि बेइजिङ ओलम्पिकमा समेत सहभागिता जनाएका २३ वर्षीय शाहको लन्डन ओलम्पिकबाट राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ ।
![]() |