पुतलीको घर



-क्याथरिन म्यान्सफिल्ड- 

एक 
बर्नेलका केटाकेटीसँग बुढीआमै लामो समय बसिन्। केटाकेटी बुढीआमैसँग औधी रत्तिए। पछि बुढी सहर फर्किन्। सहर फर्किसकेपछि उनले राम्रो पुतलीको घर किनेर केटाकेटीलाई पठाइदिइन्। यो कति ठूलो थियो भने प्याट र गाडावालले बोकेर आँगनमा ल्याउनुपर्‍यो। कागजका ठूल्ठूला दुइटा बाकसले छोपेर यसलाई भण्डारकोठा छेवैको काठको दुई बाकसमाथि अडेसा लगाएर ठड्याइयो। बाहिर यसलाई केही असर पर्नेवाला थिएन। हिउँदको घमाइलो दिन थियो। सायद केही दिनपछि घरभित्र हुल्दा यसबाट आइरहेको इनामेलको गन्ध पनि मत्थर हुन सक्थ्यो। साँच्चै! इनामेलको गन्ध त खपिनसक्नु नै आइरहेको थियो, बिरामी परिएलाजस्तो। बेरिल काकीलाई चाहिँ त्यस्तै लाग्यो। यसरी केही गाढा, चिल्लो, हरियो र चहकिलो पहेँलो रङले सिँगारिएको पुतलीको घर आँगनमा ठडियो। यसको छानोमा रातो र सेतो रङको दुई चिम्नी गाँसिएको थियो। पहेँलो बार्निस लगाएको ढोका त झन् हेर्दै चकलेटको टुक्राजस्तो! साँच्चैजस्ता लाग्ने चार वटा झ्याल पनि थिए; खापा पनि भएको। हरियो, मोटो धर्का कोरेर छुट्याएको। बार्दली पनि थियो। पहेँलो रङको। 



  
जे होस्, सानो घरचाहिँ गज्जबकै थियो। त्यो जाबो गन्ध कसले वास्ता गरोस्! यसले केही उमंग र केही नयाँपन लिएर आयो।
'लौ न चाँडो गर, कसैले खोल न यस घरलाई!'
दुई
छेउतिरको काँटी दह्रोसँग गाडिएको थियो। प्याटले सानो हाते चक्कुले यसलाई निकाल्यो। अनि त घरको अगाडिको बाहिर देखिइहाल्यो नि। अहा! एकै पटकमा बैठक कोठा, भान्छा कोठा, डाइनिङ र दुइटा सुत्ने कोठा सबै देखिए। यो पो हो त खोल्ने तरिका! सबै घर यसैगरी खुल्नु नि! एउटा छाता र टोपिराख्ने स्ट्यान्ड भएको जाबो हलमा ढोकाको प्वाल चियाएर हेर्नुभन्दा काइदा के छ र!
'ओ हो!' बर्नेलका केटाकेटी घोर निराशामा परेजस्तो 'खुइय' गर्न थाले। पुतलीको घर गजबकै थियो। तिनले सोचेभन्दा कता हो कता राम्रो। तिनीहरुले आजसम्म यस्तो जिनिस देखेकै थिएनन्। सबै कोठामा वालपेपर टाँसिएको थियो। भित्तामा सुनौला रङको फ्रेममा चित्र झुन्ड्याइएको थियो। भान्छाबाहेक सबै कोठामा रातो कार्पेट ओच्छ्याइएको थियो। बैठक कोठामा रातो र डाइनिङ कोठामा हरियो कुर्सी थियो। टेबुल, अनि साँच्चिकै तन्ना ओछ्याएको खाट, कोक्रो, एउटा स्टोभ, केही प्लेट र जग भएको ड्रेसर पनि थिए त्यहाँ। तर, केजियालाई तीमध्ये बत्ती सबैभन्दा मन पर्‍यो।
डाइनिङ रुमको बीचमा गेरु रङको बत्ती; सिसाको सेतो गुलुप भएको। औधी राम्रो थियो। भित्र तेल पनि हालेर बाल्न ठीक्क पारेजस्तो। साँच्चिकै बाल्नचाहिँ नमिल्ने! बत्तीभित्र तेलजस्तो केही चीज पनि थियो। हल्लायो भने पनि छचल्किने।
बाबु र आमाचाहिँ पुतली बैठक कोठामा नहल्लीकन बसेका थिए। त्यहीँ बेहोस भएजस्ता; अनि तिनका छोराछोरीचाहिँ माथिल्लो तल्लामा सुतिरहेका थिए। बत्तीचाहिँ एकदम 'परफेक्ट' थियो। केजियातिर हेर्दै हाँसेर 'म यहाँ बस्छु' भन्न लागेजस्तो देखिन्थ्यो। बत्तीचाहिँ गजपकै हो गाँठे!

तीन
भोलिपल्ट बिहान बर्नेलका केटाकेटी कछुवाको तालमा स्कुलतिर लागे। सबैको एउटै ध्याउन्न थियो। कुन बेला स्कुल पुग्नु र घन्टी लाग्नुअघि सबैलाई पुतलीको घरबारे सुनाउनु।
'म भन्छु सबैलाई', इजाबेलले भनी, 'म जेठी हुँ नि! तिमीहरु मैले भनेपछि थप कुरा भन। सुरुचाहिँ म गर्छु।'
उसको कुरो काट्ने हिम्मत कसैमा भएन। इजाबेल अलि दादा खालकी थिई। तर, कुरो ठीकै गर्थी। फेरि जेठो हुँदा कति 'पावर' हुन्छ भन्ने कुरा लोट्टी र केजियाले पनि त बुझेका थिए! त्यसैले दुवै जना चुपचाप आफ्नो बाटो हिँड्न थाले।
'अनि पहिले को आएर त्यो घर हेर्छ त्यो पनि म नै छान्छु। आमाले पनि मलाई नै साथी छानेर ल्याउनु भन्नुभा'छ।'
'पुतलीको घर' आँगनमा रहँदासम्म स्कुलका केटीहरुले दिनमा दुई जनाका दरले आएर हेर्न पाउने कुराको टुंगो बिहानै लागिसकेको थियो। तर, घरभित्र पस्ने वा चिया खाजा खाने गरेरचाहिँ बोलाउन नपाइने। इजाबेलले घर देखाउँदा चुपचाप शान्त भएर बस्ने सर्त पनि थियो।
स्कुलको खेल्ने चउरमा पुग्दा-पुग्दै घन्टी लागिहाल्यो। टोपी टक्टकाएर लाइनमा बस्नेबाहेक फुर्सदै भएन। तर, केही छैन, इजाबेल अलि अर्कै महत्वपूर्ण र रहस्यमयी मान्छेजस्तो गरेर बेग्लै फुर्ती लिएर उभिई। अनि आफूभन्दा अगाडि बसेकी केटीको कानमा फुसफुसाउन थाली, 'भरे टिफिनमा एउटा कुरा भन्नु छ।'
टिफिन टाइममा सबै केटीहरुले इजाबेललाई घेरे। इजाबेलसँग अँगालो हालेर हिँड्न, उसको साखुल्ले पल्टिन र उसको विशेष साथी बन्न कक्षाका सबै केटीहरुको तँछाडमछाड पर्‍यो। चउरको छेउमा भएको ठूलो सल्लाको रुखमुनि सानोतिनो सभा नै बस्यो। खलबल गर्दै, खित्खिताउँदै केटीहरु झुरुप्प भएर बसे। त्यस समूहबाट बाहिर केल्भी दिदीबहिनीमात्रै थिए। यी दुई आजमात्र होइन, सधँै बाहिरै हुन्थे। बर्नेल परिवारको छेउछाउ जानुहुँदैन भन्ने तिनीहरुले राम्ररी बुझेका थिए।

चार
खासमा कुरो के थियो भने बर्नेल केटाकेटीलाई त्यस स्कुलमा हाल्न तिनका बाआमाले चाहेका थिएनन्। त्यसभन्दा राम्रो अर्को स्कुल भएको भए हाल्थे होलान्। तर, कुनै उपाय थिएन। कोसौँ परसम्म पनि अर्को स्कुल थिएन। त्यसैले गाउँका सबैखाले केटाकेटी त्यहीँ पढ्न आउँथे। न्यायाधीशका छोरीहरु, डाक्टरसापका छोरीहरु, स्टोरकिपरका केटाकेटीदेखि लिएर दूध बेच्नेका सन्तान पनि यही स्कुलमा मिसिन आउँथे। भन्नै पर्दैन, छुद्र, गुन्डा खालका केटाहरुको संख्या पनि उत्तिकै थियो। तर, विभाजनको रेखा कतै न कतै त चाहिन्थ्यो नै। त्यो रेखा केल्भी दिदीबहिनीमा आएर कोरियो। बर्नेललगायत थुप्रै केटाकेटीलाई केल्भीसँग बोल्न प्रतिबन्ध नै थियो। ती दुईलाई सबैले एक्ल्याउँथे। तिनीहरु बोल्दा मास्टरको आवाज पनि अलग्गै हुन्थ्यो, अनि लिल केल्भीले सस्तो खाले फूलको गुच्छा लिएर कक्षामा आउँदा मास्टर पनि अरुतिर हेरेर खिज्याउने खालको हासो हाँस्थ्यो।
तिनीहरु एकदम दुःखजेलो गर्ने धोवीका छोरीहरु थिए। आमाचाहिँ कपडा धुन दिनदिनै घर चहार्थिन्। यति भए त पुगिहाल्यो नि अरुलाई। उनीहरुका बा खै त? कसैलाई थाहा थिएन। तर, सबैजना ऊ जेलमा छ भन्थे। त्यसैले तिनीहरु धोबिनी र कैदीका सन्तान थिए भन्दा हुन्छ। आमाचाहिँले छोरीहरुलाई किन यस्तो अनौठा बनाइन् होली? यो भने बुझ्न गाह्रो थियो। तर, सत्य के थियो भने तिनीहरुले लगाउने लुगा जहिले पनि आमाले काम गर्ने घरबाट मागेर ल्याएको जडौरीमात्र हुन्थ्यो। दिदीचाहिँको नाम लिल थियो। ऊ अलि मोटी, सपाट खालकी र अनुहारमा पोतोको टाटा लागेकी थिई। उसले लगाएको कपडा बर्नेलको घरको टेबलपोसबाट सिलाइएको थियो। आधा टाउको ढाकेको उसको ह्याट कुनै बेला हुलाकीकी श्रीमती मिस लेकीको टाउकोमा सजिएको थियो। अनि उसकी सानी बहिनी, हाम्री एल्सचाहिँ नाइटगाउनजस्तो लामो र सेतो लुगा लगाएर आउँथी। उसका जुत्ता पनि केटाले लगाउनेजस्ता थिए। साह्रै खिरिलो ज्यान, बुच्चै बनाएर मुडुलेको टाउको, सेता हुचिलका जस्ता ठूल्ठूला उदास आँखा थिए उसका। ऊ जहिले पनि लिलको फ्रकमा हातले समातेर झुन्डिइरहन्थी। लिल जता जान्थी, हाम्री एल्स उतै जान्थी। खेल्ने चउरमा होस् वा स्कुल आउँदा जाँदा बाटोमा, लिल अगाडि हुन्थी र एल्स जहिल्यै उसको पछाडि। उसलाई केही लिनुपर्‍यो भने वा थाकी भने मात्रै हाम्री एल्सले दिदीलाई तान्थी। अनि दिदीचाहिँ पछाडि फर्केर बहिनीलाई हेर्थी। यी दिदीबहिनीले एकअर्कालाई साह्रै राम्ररी बुझेका थिए।
अहिले यिनीहरु चउरको छेउमा अल्लारिइरहे। आखिर टाढाबाट अरुको गफ सुन्न कसले 
रोक्ने? केटीहरुको सभाबाट कोहीले यिनलाई घुरेर हेरे, तर लिल आज पनि अरु बेलाजस्तै सिल्ली तरिकाले मुस्कुराई। तर हाम्री एल्सलेचाहिँ हेरीमात्र रही।
यता इजाबेलको गर्विलो आवाज आइरह्यो। ऊ भन्दै गई। कार्पेटको कुराले त्यहाँ सबैलाई सन्न बनायो। त्यस्तै ओछ्यान, तन्ना, स्टोभ र ओभनको ढोकाको कुरो गर्दा केटीहरु छक्क परे।
इजाबेलले बोलिसक्नेबित्तिकै केजियाले भनिहाली, 'ओई दिदी, तैँले बत्तीको कुरा त भन्नै बिर्सिइस् है!'
'अँ हो त', इजाबेलले भनी, 'पहेँलो सिसाको सानो बत्ती पनि छ अनि बाहिरबाट सेतो सिसाको ग्लोबले ढाकेको छ। यो बत्ती डाइनिङ कोठामा छ। साँच्चिकै बत्ती हो, होइन छुट्याउनै सकिँदैन।'
'सबैभन्दा राम्रो त बत्ती नै हो', अलि चिच्याउँदै केजियाले भनी। उसलाई लाग्यो, 'इजाबेलले बत्तीबारे राम्ररी आधा कुरो पनि भन्न सकिन। तर, कसैले त्यति वास्ता गरेन। आज दिउँसो पुतलीको घर हेर्न पाउने दुई भाग्यमानीलाई इजाबेल छान्दै थिई। उसले इम्मी कोल र लेना लोग्यानलाई छानी। तर, उसले सबैलाई पालै-पालो लाने भनेपछि केटीहरुले इजाबेलको चाकरी अलि कम गर्न थाले। एक-एक गर्दै सबै जनाले इजाबेलको कम्मरमा हात राख्दै उसँगै हिँड्न थाले। सबैलाई इजाबेलको कानमा एउटै गोप्य कुरो भन्नु थियो, 'इजाबेल तिमी मेरी 'बेस्ट फ्रेन्ड' हौ बाबै!'
खाली केल्भी दिदीबहिनीलाई मात्र सबैले बिर्सिए। उनीहरुले सुन्ने कुरो अब केही थिएन।
दिन बित्दै गयो। 'पुतलीको घर' हेर्ने केटाकेटीको संख्या पनि बढ्दै गयो। जति धेरैले यसलाई हेर्दै गए, यसको प्रसिद्धि पनि बढ्दै गयो। केटाकेटीबीच कुराकानीको एउटै 'हट' विषय बन्यो त्यो घर। 'तिमीले त्यो घर हेर्‍यौ?' 'राम्रो छैन त?' 'अझै हरेेको छैन?' 'त्यो त हेर्नैपर्छ बाबै', कुराकानी यस्तैमात्रै हुन्थ्यो।
खाना खाने बेलामा पनि यस विषयले छोडेन। बर्नेल केटीहरु सल्लाको फेदमुनि बसेर मटनस्यान्डबीच र बटर हालेको केक खान थाले। अनि तिनीहरुभन्दा केही पर केल्भी दिदीबहिनी बसे। सधैँझैँ हाम्री एल्सचाहिँ दिदीको फ्रक समातेर बसी र उनीहरुको गफ सुन्न थाली।
'आमा', केजियाले भनी, 'केल्भीहरुलाई एकैचोटि मात्रै बोलाउँछु नि है।'
'अहँ कुनै पनि हालतमा हुँदैन।'
'किन हुँदैन?'
'उता जा केजिया, तँलाई राम्ररी थाहा छ।'

पाँच
उनीहरुबाहेक सबैले त्यो पुतलीको घर हेरे। त्यो दिन यो विषय अलि सेलायो। खाजा खाने बेला भएको थियो। केटाकेटीहरु सल्लाको रुखतिर खाजा खान भेला भए।
कागजबाट खाजा निकालेर खाँदै, एक्लै चुपचाप बसिरहेका केल्भी दिदीबहिनीमा अचानक तिनको आँखा परे। आज यिनलाई उल्याउने र खिज्याउने मुड चल्यो केटीहरुको। एम्मी कोलले सुरु गरी।
'लिल केल्भी ठूली भएपछि नोकर्नी हुन्छे अरे।'
'छि... छि...', इजाबेलले एम्मीतिर हेर्दै भनी।
अनुहार बिगार्दै मुखभित्रको खाना निली एम्मीले। आमाले कहिलेकाहीँ त्यसो गरेको उसले देखेकी थिई।
'सही कुरा, हो.. हो... तिमीले ठीक भन्यौ', उसले भनी।
त्यसपछि लेनाको आँखा उज्यालो भयो, 'म सोधौँ है त उसलाई?' सानो स्वरमा उसले प्रस्ताव राखी।
'बाजी राख्ने? तैँले सोध्न सक्दिनस्।' जेस्सीले उक्साई 'उस्! म डराउँदिनँ बुझिस्।' लेनाले हिम्मत देखाई। अचानक लेना उठेर तीखो आवाज निकाल्दै अरु केटीहरुअगाडि नाच्न थाली।
'हेर! मलाई हेर! म नाच्दैछु।' लेना कराउन थाली। त्यसपछि नाच्दै बटारिँदै, खुट्टा घिसार्दै ऊ केल्भी दिदीबहिनी नजिक पुगी।
लिलले खाना छाडेर माथि हेरी। बाँकी खाजा उसले हत्तपत्त कागजमा पोको पारी, हाम्री एल्स पनि चपाउन छोडेर चुप्प लागी । अब के हुने होला!
'ओई लिल केल्भी! तँ ठूली भएपछि नोकर्नी बन्छेस् हो?' लेनाले चर्को र तीखो स्वरमा सोधी।
एक छिन सन्नाटा भयो। उत्तर दिनुको सट्टा लिलले उही सिल्ली मुस्कान छोडी। उसलाई प्रश्नले केही असर पारेजस्तै देखिएन। केटीहरु दबाएको हाँसो हास्न थाले।
लेनालाई उत्तर नपाएकोमा झोक चल्यो। कम्मरमा हात राखेर ऊ अगाडि बढी 'हँ..., यसको बाउ जेलमा छ।' लेनाले एकदम घृणाको स्वरमा भनी।
लेनाले भनेको कुरा केटीहरुलाई कति मज्जा लाग्यो भने तिनीहरु खुसीले मस्त पागल भए। कसैले डोरी भेट्टायो र तिनीहरु स्किपिङ खेल्न थाले। त्यो बिहानजस्तो मस्त भएर तिनीहरु पहिले कहिल्यै खेलेका थिएनन्।


दिउँसो बग्गी लिएर प्याट बर्नेल केटाकेटीलाई लिन आयो। घरमा पाहुना आएका रहेछन्। इजाबेल र लोट्टीलाई घरमा पाहुना आएको मन पर्थ्यो। त्यसैले तिनीहरु हत्तपत्त माथि तलामा कपडा फेर्न गए। तर, केजिया सुटुक्क पछाडि नै बसेर बाहिर निस्की। बाहिर कोही थिएन। ऊ आँगनको ठूलो सेतो गेटमा पिङ खेलेजसरी मच्चिन थाली। उसले पर बाटोमा दुईवटा साना थोप्लाजस्तो केही चीज देखी। त्यो ठूलो हुँदै गयो, किनकि त्यो ऊतिरै आउँदै थियो। अहिले उसले अलि प्रस्ट देखी। एउटा अगाडि र अर्को पछाडि थियो। अब त प्रस्टै भयो। केल्भी दिदीबहिनी पो रहेछन्। केजियाले पिङ खेल्न छाडी। दौडिन आँटेझैँ ऊ बाटोतिर गई। तिनीहरु नजिकै आइपुगे। तिनीहरुको छायाँ तन्किएर बाटै ढाकेको थियो। केजिया फेरि गेटमा झुन्डी। उसले आज निर्णय गरिसेकी थिई।
'हेलो के छ?' केजियाले केल्भीहरुलाई भनी।
तिनीहरु चकित परेर अगाडि नबढी त्यही टक्क अडिए। लिल उही सिल्ली तरिकाले मुस्कुराई। हाम्री एल्सले हेरीमात्र रही।
'आऊ, तिमीहरुलाई मन लाग्छ भने आएर हाम्रो पुतलीको घर हेर',
एउटा खुट्टा गेटबाट भुइँमा झार्दै केजियाले भनी तर लिल रातो भई र नाइँ भनेर मुन्टो हल्लाई।
'किन नाइँ?' केजियाले सोधी।
लिलले सास दबाउँदै भनी 'तिम्री आमाले हाम्री आमालाई भन्नुभा'को तिमी हामीसँग बोल्नु हुँदैन अरे।' 'ए', केजियाले भनी। के भन्ने भन्ने? केजियालाई आपत् पर्‍यो। 'केही फरक पर्दैन। आएर हेर न आऊ, आऊ कसैले देख्दैन।'
लिलले अझै दह्रोसँग नाइँ भन्ने भाकामा मुन्टो हल्लाई। अचानक लिलको स्कर्ट कसैले तान्यो। हाम्री एल्सका ठूला आँखाहरु 'जाऊ न हेर्न' भनिरहेका थिए। उसलाई दिदी नगएकीमा रिस पनि उठिरहेको थियो। उसलाई चाहिँ त्यहाँ गएर पुतलीको घर हेर्न कस्तो मन थियो!
एक छिन लिलले छक्क पर्दै एल्सलाई हेरिरही। तर, फेरि एल्सले लिलको स्कर्ट घच्घच्याउन थाली। ऊ अगाडि बढी। केजिया बाटो देखाउँदै अघि बढी। साना चोर बिरालाको चालमा तिनीहरु पुतलीको घर हेर्न लुसुक्क आँगनतिर लागे।
'ऊ त्यहाँ छ', केजियाले भनी।
एक छिन दुवै रोकिए। लिलले ठूलो स्वरमा सास फेरी, बाहिरै आवाज सुनिने गरी। हाम्री एल्स त ढुंगाजस्तै चलपल पनि नगरी टक्क उभिई।
'म खोल्छु है त', केजियाले मायालु स्वरमा भनी, उसले काँटी खोली र तिनीहरुले भित्र हेरे।
'ऊ त्यो बैठक र डाइनिङ कोठा, अनि त्यो.. '
'केजिया!'
बेरिल काकीको आवाज आयो। उनीहरुले पछाडि फर्केर हेरे। पछाडि ढोकामा त काकी पो चकित परेर उभिएकी। मानौँ केल्भीहरुलाई देखेर उनलाई हृदयाघात हुन लागेको छ।
'मेरो आग्नाँ पस्ने हिम्मत तिमेर्लाई कसरी आयो हँ?'
रिसले मुर्मुरिँदै उनी कराउन थालिन्। 'हाम्रा केटाकेटीसँग तिमेरु बोल्नुहुँदैन भनेर राम्ररी थाहा छ। फेरि किन आ'का? भागिहाल याँ'बाट। फेरि आयौ भने खुट्टो भाँच्दिन्छु।' अनि उनले बाहिर निस्केर कुखुराका चल्ला लखेटेसरी केल्भीहरुलाई लखेटिन्।
केटीहरुलाई दोहोर्‍याएर भन्नै परेन। विचरीहरु लाजले खुम्चिएर एकै डल्लो परेर बल्लतल्ल ठूलो गेट पार गरेर बाटामा निस्किए।
'बदमास दुष्ट केटी', काकीले केजियालाई पनि गाली गरिन् र, पुतलीको घरको ढोका ढ्याम्म लगाइन्।
बर्नेलको घर ओझेल परेपछि केल्भी दिदीबहिनी रोडछेउको ठूलो रातो ढलको पाइपमा थकाइ मार्न बसे। लिलको गाला अझै रातो थियो। स्वप्निल हुँदै उनीहरुले खेततिर हेरे, जहाँ लोगानहरुको गाई दुहुन ठीक्क पारिएको थियो। तिनीहरु के सोचिरहेका थिए होलान्!
अहिले हाम्री एल्स दिदीसँगै टाँस्सिई। तर, उसले त्यो रिसाहा आइमाईलाई बिर्सिसकेकी थिई। उसले औँला निकाली र दिदीको ह्याटलाई बिस्तारै औँलाले चलाई। त्यसपछि उसको ओठमा एकदम दुर्लभ मुस्कान देखियो। 
'मैले त्यो सानो बत्ती देखेँ नि!' उसले मधुरो स्वरमा भनी। 
त्यसपछि फेरि दुवैजना चुपचाप बने। 


अनुवाद : विकास बस्नेत