नायिका हाँसे निर्देशक रिसाए

'सुनगाभा' फिल्मको पत्रकार सम्मेलनमा (बायाँबाट) अभिनेत्रीहरू दिया मास्के, निशा अधिकारी र मेनुका प्रधान ।



श्रावण ३० - महिला समलिंगीलाई मुख्य विषय बनाइएको सुवर्ण थापा निर्देशित फिल्म 'सुनगाभा' ले व्यावसायिक प्रदर्शनपूर्व नै तीन अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुने मौका पाएको छ । यही खुसी बाँड्न सोमबार पत्रकार सम्मेलन गरिएको थियो, जसमा सबै कुरा सोचेअनुरूप भएन ।
मुख्य नायिका दिया मास्के र निशा अधिकारी कार्यक्रमको आखिरीमा झुल्किए । उनीहरू कलाकार परिचय चरणमा मात्रै मञ्चमा बोलाइए । अर्का कलाकार सौगात मल्ल उपस्थित नै भएनन् । निर्देशक थापालाई आक्रोशित तुल्याउन यी प्रसंग पर्याप्त थिए । 'सौगात पारिवारिक कारणले आउन सकेन, मुहूर्तको बेला पनि उसलाई यस्तै भएको थियो,' उनी गुनासिए । 
सुरुआती नाम 'स्नो फ्लावर्स' बदली 'सुनगाभा' राखिएको फिल्मको भदौ ७ देखि १८ सम्म क्यानाडाको मन्टि्रयल फिल्म फेस्टिभलमा वल्र्ड पि्रमियर हुनेछ । असोज ११ देखि २० सम्म जर्मनीमा हुने ह्याम्बर्ग फिल्म फेस्टिभल र असोज २३ देखि २७ सम्म प|mान्समा हुने युथ डिरेक्टर्स साँ जँ द ल्युज फिल्म फेस्टिभलमा पनि यो फिल्म प्रदर्शन हुनेछ ।
'मैले मेरै आँखाले यो फिल्म बनाएको हुँ । के महिला-महिलाबीच प्रेमकथा हुन सक्दैन ? के यस्तो सम्बन्ध पहिलेदेखि थिएन ?' लामै समय आक्रोशित देखिएका निर्देशक थापाले आफूले कुनै हौवा मच्चाउन अंग्रेजी नाम राखेर विदेशी फिल्म नबनाएको प्रष्टीकरण दिए । 'यहाँ खुट्टा तान्ने प्रयास धेरै हुने रहेछ,' उनी आफैंसँग च्याँट्ठिए, 'तर म ढुक्क छु, उनीहरूले ताने भने पनि खुट्टाको हिलो मात्रै पाउनेछन् ।' कसले खुट्टा तान्न खोज्यो भन्ने चाहिँ उनले खुलाएनन् ।
यसअघि सर्टफिल्म 'मलामी' बनाइसकेका निर्देशक थापाले नवीन सुब्बाको पोस्ट प्रोडक्सनमा रहेको 'गुडबाई काठमाण्डु' मा मुख्य चरित्रमा अभिनय पनि गरेका छन् । कथा, पटकथा र संवाद समेत उनकै रहेको 'सुनगाभा' को सम्पादन सिल्भी गाद्मेरले गरेका हुन् भने छायांकन सारा कोर्नुले । नेवारी संस्कार झल्कने फिल्मको संगीतमा सिल्भाँ मोरिजेलाई नेपालकै कुटुम्ब ब्यान्डले सघाएको छ ।
कार्यक्रममा अभिनेता अनुप बरालले 'सुनगाभा' जडसूत्रवादी फिल्म नभएको भन्दै आफूलाई क्यामेराको काम मन परेको बताए । निर्देशक छिरिङरितार शेर्पाले फिल्मबाट सकारात्मक संकेत पाएको उल्लेख गरे । यो फिल्म विदेशबाट फर्किसकेपछि मात्रै स्वदेशमा सार्वजनिक प्रदर्शनी गरिनेछ ।