नेपाल विद्यार्थी संघ विवाद समाधान


काठमाडौ, श्रावण २६ - नेपाल विद्यार्थी संघको आन्तरिक विवाद मिलाएर नयाँ महाधिवेशनको तिथि तोक्ने सहमति भएको छ । एकपक्षीय रुपमा महाधिवेशनको मिति तोकेको भन्दै नेता शेरवहादुर देउवा पक्षीय सदस्यहरुले असहमति जनाएका थिए । 
उनीहरुले समानान्तर महाधिवेशनको मिति सार्वजनिक गरेपछि विवाद चुलिएको थियो । कांग्रेस केन्द्रीय सदस्य एवं विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीको पहलमा शुक्रबार भएको छलफलमा पछि सहमतिमा महाधिवेशन मिति तोक्ने सहमति भएको हो । नेविसंघका पूर्व केन्द्रीय सभापति र महामन्त्री भई पार्टीको शीर्ष तहमा पुगि सकेका नेताहरुसमेत छलफलमा सहभागि थिए । ‘केही प्राविधिक बाहेक सवै कुरामा सहमति भईसकेको छ । आईतबार हामी पत्रकार सम्मेलनमार्फत सहमति सार्वजनिक गर्ने छौं’ जोशीले भने । 
ऋसिकेशजंग शाहले नेतृत्व गरेको देउवा पक्षीय सदस्यहरुले महाधिवेशनको तिथि तोक्नुभन्दा अघि केन्द्रीय समितिमा मयर्दाक्रम मिलाउनुपर्ने, निर्वाचन समिति, अनुशासन समिति पुर्नगठन गर्नुपर्ने र केन्द्रीय प्रतिनिधि सन्तुलित रुपमा छनौट गरिनुपर्ने माग राखेको थियो । 
ती माग पुरा नगरी कनै संस्थापन पक्षले पुसको २५–२७ सम्म महाधिवेशन गर्ने मिति तोकेको भन्दै देउवा पक्षीय सदस्यहरुले आपति जनाएका थिए । देउवा पक्षीय समूहले पनि पुसको १७–१८ गतेको समानान्तर तिथि तोकेको थियो । शुक्रबारको छलफलमा देउवा पक्षीय सदस्यहरुले उठाएको मागलाई समेत सम्वोधन गरी महाधिवेशनको नयाँ मिति तोक्ने सहमति भएको हो । जोशीका अनुसार महाधिवेशनका लागि माघको दोस्रो साता या तेस्रो साताको तिथि तोकी पार्टीमा सिफारिस गरिनेछ । विद्यार्थी विभागबाट गएको सिफारिसलाई केन्द्रीय समितिले अनुमोदन गर्नेछ ।