कमिसन नबढाए प्रेटोलियम डिलर्सले आन्दोलन गर्ने



काठमाडौं, साउन २१ (नागरिक)- नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले भदौभरमा पाँच प्रतिशत कमिसन नदिए आन्दोलन गर्ने निर्णय गरेको छ। एसोसिएसनको शनिबार बुटवलमा भएको भेलाले भदौसम्म कमिसन नबढेमा आन्दोलनमा जाने निर्णय गरेको हो। 
 
'अहिले हामीले पाएको कमिसनले व्यवसाय धान्नै कठिन भयो। त्यसैले हामीले धेरै अघि पाँच प्रतिशत कमिसन पुर्‍याउन आयल निगमलाई आग्रह गरेका थियौ,' एसोसिएसनका पूर्व अध्यक्ष शिव घिमिरले नागरिकसँग भने, 'हाम्रो माग प्रति अहिलेसम्म सुनुवाई भएन। भदौसम्म पनि कमिसन बढेन भने आन्दोलनमा जानेछौ।'
स्रोतका अनुसार एसोसिएसनको बैठकमा पेट्रोलियम क्षेत्रको मुद्धालाई एकमत भएर लैजानुपर्नेमा जोड दिइएको थियो। पेट्रोलियम व्यवसायीका सबै संगठन एकतावद्ध भएर आफ्ना माग पूरा गराउनुपर्ने आवाज समेत उठेको एसोसिएसनका एक सदस्यले जानकारी दिए। यसअघिनै एसोसिएसन, ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघलाई एकतावद्ध गरेर लैजाने तयारी भएको थियो। तर यो प्रस्तावमा सहमति भने जुट्न सकेको छैन। 
पेट्रोल पम्पले अहिले तीन प्रतिशत कमिसन फ्ल्याटमा पाउँदै आएका छन्। घिमिरेका अनुसार ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलनलाई समेत एसोसिएसनले ऐक्यवद्धता जनाएको छ। 
'ग्यास उद्योगीले गर्ने आन्दोलनका कार्यक्रमलाई समेत एसोसिएसनले ऐक्यवद्धता जनाएको छ,' उनले भने। संघले आफुले खाईपाई आएको कमिसन बढाउनुपर्ने, कोटा निर्धारण हुँदा संघको सिफारिस हुनुपर्ने, नयाँ उद्योग आउन संघकै सिफारिस चाहिने लगायतका माग राखेको छ। यो माग पूरा नभएमा साउन २३ गतेदेखि आन्दोलनमा उत्रिने घोषणा गरिसकेको छ। 
उनका अनुसार गुणस्तर तथा नापतौल विभागले जारी गरेको नयाँ परिपत्रको बारेमा समेत छलफल भएको थियो।