धमाका
![]() |
राजेश हमालले अभिनय गरेका चलचित्र सिनेमा हलमा नआएको धेरै भयो। मुम्बईमा बसोबास गरे पनि निखिल उप्रेतीका नेपाली चलचित्र भने बेला-बेलामा प्रदर्शन भैरहेका छन्। मुम्बईमै संघर्ष गरिरहेकी उषा पौडेलका चलचित्र पनि बेला-बेलामा प्रदर्शन भैरहेका छन्। यी तीनै जना कलाकारले अभिनय गरेको एउटा पुरानो नेपाली चलचित्र 'धमाका' आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। राजेश हमाल, निखिल उप्रेती तथा उषा पौडेलबाहेक यो चलचित्रमा सुमन सिंह, नवीन श्रेष्ठ, सभ्यता गिरी, हेमन्त बुढाथोकी आदि कलाकारले पनि अभिनय गरेका छन्। यो चलचित्रको निर्देशन दीपक परिकोटीले गरेका हुन्। आगामी भदौ १ गतेदेखि काठमाडौंबाहिर प्रदर्शन हुने चलचित्र धमाकाको निर्माण केही वर्ष अघि नै सम्पन्न भएको हो। केही वर्षअघि निर्माण गरिएकाले यसको विषयवस्तु तथा प्रस्तुतीकरण केही पुरानो हुने अनुमान गरिएको छ। चलचित्रमा दीपक शर्माको संगीत, अभ्युदय खनालको लेखन, रोशन श्रेष्ठको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन तथा शिव विकको नृत्य निर्देशन छ। निर्देशक परिकोटी आफ्नो चलचित्रलाई एक्सन थ्रिलर लभ स्टोरी भएको बताएका छन्। पछिल्लो समय नाम चलेका कलाकारका चलचित्रहरूसमेत असफल भैरहेको अवस्थामा 'धमाका' ले कस्तो धमाका मच्चाउने हो, हेर्न बाँकी नै छ।
![]() |