यार्सागुम्बा...हिडन पार्ट



फरक धारका चलचित्र निर्माण भैरहेको अवस्थामा आज शुक्रबारदेखि यही विधाको नयाँ चलचित्र 'यार्सागुम्बा...हिडन पार्ट' सार्वजनिक हुँदैछ। काठमाडौंका मल्टिलेक्सहरूमा समेत प्रदर्शन हुने यो चलचित्रको निर्माण तथा निर्देशन केसी राजेन्द्रले गरेका हुन्। चलचित्रमा गणेश उप्रेती, पवि  जिसी, राजीव हिमाशिव, प्रदीप बुढाथोकी आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रमा वास्तविक घटनाक्रम समावेश गरिएको सह-निर्देशक सुवास जिसी बताउँछन्। पश्चिम नेपालका केही हिमाली जिल्लामा यार्सागुम्बा टिप्ने परम्परा नै छ। चलचित्रमा त्यही परम्परालाई मुख्य  विषय बनाइएको छ। प्रायः नेपाली चलचित्र छायांकन नुहने रुकुम  तथा सल्यानका रमणीय लोकेसनमा छायांकन गरिएको यो चलचित्रमा सुदूर  पश्चिमाञ्चल क्षेत्रमा फैलिरहने झाडापखालाको प्रकोपदेखि लिएर द्वन्द्वपीडितहरूको समस्या, वैदेशिक रोजगारीमा गएका युवाहरूको घरमा  सिर्जित भएका समस्या तथा विसंगति, विद्यालयको पढाइ छाडेर यार्सागुम्बा टिप्न जानुपर्ने बाध्यता, यार्सागुम्बा टिप्ने क्रममा घट्ने अपराध,  यार्सागुम्बाको व्यापारजस्ता विषय समेटिएको छ। सञ्चारकर्मी क्रन्दन चापागाईंको पटकथा तथा संवादमा तयार भएको यो चलचित्रको  छायांकन रामेश्वर कार्कीले गरेका हुन्। चलचित्रमा विपिन घिमिरे तथा एकराज केसीको संगीत निर्देशनमा तीनवटा गीत समावेश छन् जसमा  नारायण पोखरेल, विपिन घिमिरे, एकराज केसी आदिको पाश्र्व गायन छ। मयूर नृत्यलाई समेत आकर्षणका रूपमा समावेश गरिएको यो  चलचित्र माउन्टेन मेघा मुभिजको ब्यानरमा तयार पारिएको हो।