पच्चीसवर्षे डेरा जिन्दगी: रमेश क्षितिजको कथा




काठमाडौंमा डेरा खोज्दै हिँडिरहेको मान्छे गुन्टामाथि बसी सोच्छ, सोचिरहन्छ कहिले होला आफ्नो पनि एउटा सानो घर ओत लाग्ने भर रमेश क्षितिजले यो गीत रोमान्टिकभन्दा पनि अलिक गम्भीर गीत रुचाउने श्रोतालाई लक्ष्य गरे लेखेका हुन् । केही महिनाअघि सार्वजनिक 'क्षितिज' एल्बममा समेटिएको र शिशिर योगी स्वर रहेको यो गीतसँगै अञ्जु पन्तले गाएकी 'परेलीको वर्षातले...' अहिले चर्चामा छ । झन्डै २५ वर्ष गीत लेखनमा बिताएका साहित्यकार क्षितिज भने यतिबेला रोल्पामा बसेर नयाँ कविता संग्रह 'घर फर्किरहेको मानिस' को अन्तिम तयारीमा जुटिरहेका छन् । पचासकै दशकमा गोपाल योञ्जनको संगीत रहेको 'पाखाभरि धुपी रोप्छु म बाँचेको चिनो...,' नातीकाजीको संगीत रहेको 'आफूलाई भुलिरहें, बिर्सने सम्झिरहें...', 'बलेसीमा पानी तप्क्यो...' बाट चर्चामा आएका उनी २०५० मा रेडियो नेपालको गीत प्रतियोगितामा सर्वोत्कृष्ट र २०५१ मा प्रज्ञा प्रतिष्ठानले गरेको राष्ट्रिय कविता गोष्ठीमा प्रथम भएका थिए । 'अर्को साँझ पर्खेर साँझमा' कविता संग्रह र 'आफैं आफ्नो साथी' गीत संग्रह निकालिसकेका उनका एक सयभन्दा बढी गीत संगीतबद्ध भइसकेका छन् । हालै राजधानी आएका उनले यसरी सुनाएर आफ्नो कथा ।
४३ वर्षअघि सल्यानको हिवल्टामा जन्में, दाङमा हुर्कें । पढ्न दाङ झरेको थिएँ । मिरौलीमा बस्थें । सिद्ध जनता माविबाट एसएलसी सकाएँ । क्याम्पस पढ्न २०४३ मा काठमाडौं आउनुअघि नै लेखकीय छवि बनाइसकेको थिएँ दाङमा । तिनताक जिल्ला र अञ्चल स्तरीय कविता-निबन्ध प्रतियोगिता भइरहन्थे, स्कुलबाट संधै म छानिन्थें, किनभने फर्किंदा सधंै हातमा पुरस्कार हुन्थ्यो । नौ कक्षा पढ्दै गर्दा, दाङकै एक थारू युवतीमाथि 'बछिनियाँ' उपन्यास लेखें । बिदामा घर जाँदा सधंै त्यो उपन्यास पढेर हाँस्थें, लेखनको स्तर देखेर । अहिले पनि पाण्डुलिपि छ, रमाइलो लाग्छ ।
काठमाडौं आउँदा मसँग बुबा पनि हुनुहुन्थ्यो, उहाँ खर्च बर्च छोडेर सल्यान हिँड्नुभो, के पढ्ने भन्ने मलाई थाहै थिएन । एकजना दाई -प्रदीप) प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पस पढ्नु हुन्थ्यो, नाम लेखाइदिनुभो । पढ्छु भनेर ल भर्ना भएको थिइनँ, पढ्दा पढ्दै एलएलएम गरें । वकालतमा रुचि थिएन र कहिल्यै गरिनँ पनि । बरु क्लास छलेर रेडियो नेपालको गेट पुग्थें गायक गायिकाको नाम लिस्ट हेर्न । तिनताक वर्षमा दुईपटक रेडियो नेपालले गीत रेकर्डको लागि कलाकार समय सूची गेटमा टाँस्थ्यो । चिनेको कलाकारको नाम परेछ भने गीत बोकेर उनकोमा जान्थें र गाउन आग्रह गर्थें । त्यो बेलाको चलन त्यस्तै थियो ।
सहर आएको केही वर्षमै मेरो नाम सुनिन थाल्यो रेडियोमा । पहिलो गीत 'तिर्खाएको काकाकुल सरी भएँ...' राजेशपायल राईले गाएका थिए २०४७ तिर । मचाहिँ पत्रिकाको कार्यालय र लेखककहाँ पुग्थें । विस्तारै रचना छापिन थाले । त्यसको केही वर्षमै 'नमाग मसँग साहरा नमाग...' रेडियो नेपालमा फस्ट भएपछि चर्चामा आइहालें, 'क' श्रेणीको गीतकारको दर्जा पाएँ, गीत गाइदिनु पर्‍यो भन्दै दैलो दैलो हिँड्नुपरेन ।
रेडियो नेपालभित्रको रमाइलो माहोल सम्झन्छु । गीत रेकर्ड गर्ने भनेपछि जात्रा जस्तै हुन्थ्यो नि । गायक, एरेन्जर, वाद्यवादक सबै साथ हुन्थे । गाउँदै गयो, सितारवालाले बिगार्‍यो भने फेरि दोहोर्‍याउनुपर्ने, फेरि सितारले सपार्दै गयो, गिटारवालाले बिगारिदिने । सबभन्दा रमाइलोचाहिँ गीतको पैसा लिएको दिन हुन्थ्यो । 'क' श्रेणीको गीतकारले एउटा गीतको सय रुपैयाँ पाउँथे, वाद्यवादक, एरेन्जर सबै बसेर रमाइलो गथ्र्यौ । एक हप्तासम्म खर्च पुग्थ्यो, दसै नै आएजस्तै । क्याम्पस पढ्ने बेला, तन्नेरी छँदा कसैसित आकषिर्त हुनु सामान्य नै लाग्छ, तर बिहे भने एरेन्ज गरें । उनी (निर्मला शर्मा) दाङबाट नेपालीमा एमए गर्न कीर्तिपुर आएकी थिइन्, बिहे अघि टाढाबाट झुलुक्क देखेको हुँ, परिवारकै रोजाइमा बिहे भयो । 
काठमाडौंको डेरा कथा किसिम किसिमका छन् । २५ वर्षमा अनेकौं पटक डेरा सरियो । क्याम्पस पढ्ने बेला वर्षमा तीन पटकसम्म डेरा सर्नुपथ्र्यो । कोही घरबेटी मायालु हुन्थे, 'एक्लै मान्छे, नखाईकन सुत्छौ सधैँ' भन्दै सेल अचार ल्याइदिन्थे । कोही चाहिँ साँझ 'लाइट निभाउ, मिटर चढ्छ,' भन्थे, पानी दिँदैनथे । तीन वर्षअघिको एक दिन डेरा सर्दै थिएँ, गुन्टामाथि बसेर सोचिरहें । कस्तो कस्तो अनुभूतिले चिमोट्यो । काठमाडौंमा मात्रै ५० लाख डेरावाल छन्, तिनका कथा पनि सम्झेँ अनि गीत लेखें, 'कहिले होला आफ्नो पनि एउटा सानो घर...।' ती वास्तवमै साँचो अनुभूतिजन्य अभिव्यक्ति थिए । 
रोल्पा (स्थानीय विकास अधिकारी) बाट काठमाडौं आउँदा पुराना दिन सम्झन्छु । अहिले पनि डेरा (शान्तिनगर) मै छु । बुबा, आमा, पत्नी र छोरीहरू छन् । चार वर्ष भो रोल्पाको जागिर । 'गाउँ फर्किरहेको मान्छे' कविता संग्रहमा रोल्पाका अनुभूति जन्य सिर्जनाहरू पनि छन् । १२ वर्षअघि जागिरे भएयता जापान, जर्मनी, नर्वे, स्विडेन, डेनमार्क लगायत मुलुक घुमें, त्यसलाई रोल्पा र हाम्रो स्थितिसँग जोडेर पनि लेखेको छु । भदौमा बजारमा आउँछ होला ।