गोरखाको उत्तरी गाविसमा झाडापखालाको प्रकोप


गोरखा, साउन १८ – गोरखाको उत्तरी प्रोक गाविसमा झाडापखालाबाट २ जनाको ज्यान गएको छ । ३ वटा वडाका दर्जनौं मानिसहरु बिरामी परेका छन् । झाडापखालाका कारण केही दिनअघि ६० वर्ष माथिका दुइजनाको ज्यान गएको र उनीहरुको नाम थाहा हुन नसकेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।
गोरखा सदरमुकाम देखि ४१ कोस टाढा रहेको प्रोक गाविसको वडा नं ४ को गप, ६ को छाक र ७ को क्वाक गाउँमा प्रकोप देखिएको इलाका स्वास्थ्य चौकीका स्वास्थ्य सहायक पेमा ग्याल्बो लामाले जानकारी दिनुभयो ।
प्रकोपबारे प्रारम्भिक जानकारी मात्र आएको र शुक्रवार काठमाडौबाट हेलिकप्टरमा चिकित्सक सहितको स्वास्थ्य टोली प्रकोपस्थलमा जाने जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख विश्वराम श्रेष्ठले बताउनुभयो ।