भव्य समारोहबीच सकियो लन्डन ओलम्पिक
![]() |
लन्डन, श्रावण २९ - संयुक्त अधिराज्यको राजधानी लन्डनमा जारी ३० औं गृष्मकालिन ओलम्पिक १६ दिनपछि आइतबार राति एक भव्य समारोहबीच समापन भएको छ ।
गत २७ जुलाई देखि सुरु विश्वकै सबैभन्दा वृहत खेल मेला समापन हजारौं दर्शकले भरिभराउ पूर्वी लन्डनको स्ट्राटफोर्डस्थित ओलम्पिक स्टेडियममा भएको हो । उद्घाटन समारोह समेत सोही रंगशालामा भएको थियो ।
बेलायती इतिहास, संस्कृति र सभ्यतामा केन्दि्रत उद्घाटन समारोह भन्दा पृथक थियो समापन । करिब तीन घण्टा लामो सो समारोहलाई 'ए सिम्फोनी अफ बि्रटिश म्युजिक' उपमा दिइएको थियो । त्यसमा पाँच दशकयताको बि्रटिश पप संगीत गुञ्जियो ।
समापन समारोहका निर्देशक स्टेफेन डाल्ड्रीले यसलाई अहिले सम्मकै उत्कृष्ट पार्टीको संज्ञा दिए ।
लन्डन ओलम्पिकका अध्यक्ष लर्ड कोइले समापन समारोह बि्रटिश संगीतमा समर्पण गरिएको जनाए । समारोहका कला निर्देशक किम गेभिनका भनाइमा उद्घाटन समारोह बिहेको दिन थियो भने समापन बिहे पछिको डिस्को जसमा सहभागी मज्जाले रमे । समापन समारोहमा गुञ्जिए एडेल देखि एल्गरसम्मका संगीत ।
पप स्टार जर्ज माइकल, दि पेट सप बोइज्, म्याडनेस्, जेसी जे, ग्यारी बार्लो, केट बुस, टिनी टेम्प, रे डेभिस् र स्पाइस् गल्र्स समूहको प्रस्तुती पनि कम रोमाञ्चक रहेन ।
समारोहमा पैंतीस सय स्वयंसेवक, तीनसय ८० जना स्कुले केटाकेटीसहित चार हजार एकसय कलाकारले आफ्नो जादु देखाए ।
८० हजारले भरिएको रंगशालामा केट(डचेस् अफ क्याम्बि्रज),
राजकुमार ह्यारी, बेलायती प्रधानमन्त्री लगायत अन्य वरिष्ठ राजनीतिज्ञ दर्शकदीर्घामा थिए ।
समापन समारोहमा ओलम्पिकको अर्को संस्करण सन् २०१६ मा गर्नब्राजिललाई जिम्मा सुम्पिइएको छ । लन्डन मेयर बोरिस जोन्सन्ले रियो मेयर इडुएर्डो पायस्लाई ओलम्पिक झण्डा हस्तान्तरण गरेका हुन् । रियो सेग्मेन्टमा सुपरमोडेल एलेसान्ड्रो एम्ब्रोसियोसहित ब्राजिलियन कलाकारहरुले आठ मिनेट लामो शो प्रस्तुत गरेका थिए । शोमा पेले एकाएक देखिंदा दर्शकले तालीले स्वागत गरे ।
रियो ओलम्पिकका लागि ब्राजिल सरकारले करिब ११ विलियन पाउण्ड खर्चमा भौतिक पूर्वाधार निर्माण गर्दैछ । दक्षिण अमेरिकामा हुने सो पहिलो ओलम्पियाड ३४ स्थलमा खेलाउने तयारी उसको छ, जसमा १८ वटा सञ्चालनमा आइसकेका छन् भने ९ स्थल नयाँ र ७ अस्थायी स्थलका रुपमा विकास गरिंदैछ ।
लन्डन ओलम्पिकमा विश्वका २ सय ४ देशले २६ खेलका बेग्लाबेग्लै ३ सय ४ वटा इभेन्ट्समा स्पर्धा गरेका थिए । यसपटक अमेरिका पदक तालिकामा अग्रस्थानमा रह्यो । उसले कुल ४६ स्वर्ण जितेर आफूलाई पहिलो स्थानमा उभ्याएको छ । चार वर्ष अघि बेइजिङ ओलम्पिकमा ३६ स्वर्ण ल्याएर अमेरिका दोश्रो स्थानमा खुम्चिएको थियो ।
बेइजिङ ओलम्पिकमा ५१ स्वर्णसहित पहिलो स्थान सुरक्षित गरेको चीनले यसपटक ३८ स्वर्ण ल्याएर दोश्रो स्थानमा चित्त बुझाएको छ ।
कुल २९ स्वर्ण जितेर तेश्रो स्थानमा रह्यो बि्रटेन । बेइजिङ ओलम्पिकमा जम्मा १९ स्वर्ण ल्याएको बि्रटेन यसपटक सन् १९०८ यताकै सबैभन्दा बढि मेडल जित्न सफल भयो । त्यसो त बि्रटेनले एउटा पदकका लागि दश मिलियन पाउण्ड(नेपाली करिब एक अरब तीस करोड रुपैयाँ) लगानी गरेको जनाइएको छ ।
लन्डन ओलम्पिक सफलतापूर्वक सम्पन्न गरेर बि्रटेनले आफ्नो शक्ति विश्वसामू फेरी प्रदर्शन गरेको छ । आतंकवादको निसाना बनिरहेको बि्रटेनले आफ्ना सैनिक नै परिचालन गरेर खेल सुरक्षित तवरमा सम्पन्न गरेको हो । यस खेललाई विश्वका ४ विलियन दर्शकले हेरेको अनुमान छ । समाचार संकलनका लागि मात्र २० हजार भन्दा बढि सञ्चारकर्मी संलग्न थिए ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याकी रोजले भव्यतापूर्वक ओलम्पिक सम्पन्न गरेकामा बि्रटेनप्रति आभार व्यक्त गरेका छन् । उनले लन्डनले खेलाडीहरुलाई इतिहास रच्ने अवसर दिएकोमा पनि प्रशंसा गरे ।
लन्डन ओलम्पिक सफल बनाउन ७० हजार स्वयंसेवकहरुको उल्लेख्य भूमिकाको समेत तारिफ भएको छ । उनीहरुले करिव सत्र हजार पाँच सय खेलाडी, हजारौं अफिसियल र ओलम्पिक हेर्न ओइरिएका लाखौं दर्शकलाई लन्डनमा न्यायो स्वागतमात्र गरेनन्, हरेक कुरामा पथ प्रदर्शक र सहयोगी भूमिका निर्वाह गरेका थिए ।
![]() |