हँसिलो मुद्रामा सेवा अभियान




काठमाडौ, श्रावण २९ - मुख्यसचिव लीलामणि पौडेलले सम्पूर्ण निजामती कर्मचारीले सेवाग्राही जनतालाई हँसिलो मुद्रामा रहेर सेवा दिने अभियानको सुरुआत गरेका छन् । पौडेलले आफ्नै कार्यकक्षमा आइतबार निजामती कर्मचारी संघको 'सेवासहितको मुस्कानः कर्मचारीको अभियान' उल्लेखित स्टिकर विमोचन गर्दै हँसिलो मुद्रामा रहेर सेवा दिने अभियानको सुरुआत गरेका हुन् ।
मुख्यसचिव पौडेलले राम्रा ठाउँमा सरुवा गराउन मात्र लाग्ने प्रवृत्तिका कारण कर्मचारी युनियनहरूको छवि बिग्रिएको उल्लेख गर्दै सेवाग्राहीलाई हँसिलो मुद्रामा रहेर सेवा दिने अभियानलाई संस्कृतिका रूपमा व्यवहारमा उतार्न सके निजामती प्रशासनमा सुधार ल्याउन मद्दत पुग्ने र युनियनप्रतिसमेत विश्वास बढ्ने विश्वास व्यक्त गरे ।
उनले आम कर्मचारीको व्यवहारमा सुधार गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन, आमजनताप्रति झन् बढी उत्तरदायी बनाउन र ट्रेड युनियनको प्रतिष्ठा वृद्धि गर्न यस्तो अभियानले सहयोग पुग्ने बताए । पौडेलले सरकार एक वर्षभित्र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव गराउन लागेको उल्लेख गर्दै निर्वाचनलाई स्वीकार नगर्ने युनियनहरूप्रतिको नकारात्मक धारणा झन् बढ्ने चेतावनीसमेत दिएका थिए ।
सचिवहरू गृहका नवीन घिमिरे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जयमुकुन्द खनाल र सामान्य प्रशासन मन्त्रालयका दुर्गानिधि शर्माले 'सेवासहितको मुस्कानः कर्मचारीको अभियान' उल्लिखित स्टिकर आ-आफ्नो कार्यालयमा टाँसी यसले निजामती प्रशासनलाई सेवाग्राहीमुखी बनाउन सहयोग पुर्‍याउने बताए । संघका अध्यक्ष शोभाकर रेग्मीले कर्मचारीलाई सेवाग्राहीमुखी बनाउन आफूहरूले यो अभियान सुरु गरेको बताए ।