संविधानका अन्तर्बस्तुमा सहमति नभए निर्वाचनः प्रचण्ड

१३ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै संविधानका अन्तर्वस्तुमा सहमति खोज्ने र सहमति नबने निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।
पूर्वसांसद मञ्च नेपालद्वारा बुधबार आयोजित ‘राजनीतिक निकासका लागि राष्ट्रिय संवाद’ विषयक कार्यक्रममा प्रचण्डले संविधानका विषयगत मुद्दामा सहमति जुटाउन अहिले दलहरू अन्तिमचरणमा रहेको र सहमति जुट्न नसके प्रक्रियागतरुपमा जाने बताउनुभयो । ‘अहिले दलहरूबीच कि त संविधानका विवादित मुद्दामा सहमति हुनुपर्छ होइन भने प्रक्रियागतरुपमा संविधानसभाको पुनःस्थापना वा निर्वाचनमा जानुपर्छ’ उहाँले भन्नुभयो-’जहाँबाट सहमतिको प्रयासले विश्राम पाएको थियो, त्यही बिन्दुबाट नै सहमतिको प्रयास थाल्नुपर्छ ।’
धेरै विवादित मुद्दामा सहमति कायम भइसकेको भन्दै उहाँले दलहरूबीच राज्य पुनःसंरचना र सङ्घीयताको विषयमा प्रक्रियागतरुपमा सहमति कायम नहुँदा संविधानसभाको विघटन भएको बताउनु भयो ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले दलहरूबीच पुनः सुरु भएको वार्ताले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक गतिरोध अन्त्य हुने आशा जगाएको भन्दै यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ संविधान बनाउन र राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरूबीच पुनः परामर्श र वार्ताहरू भइरहेकाले यसले पक्कैपनि मुलुकलाई केही न केही निकास दिनसक्ने बताउनु भयो । हाँले भन्नुभयो-’तर, एकता र सहमतिका लागि कसैले पनि कमजोरी गर्न हुँदैन, पछिल्लो समयमा हामीहरूले वार्ता प्रक्रियालाई अगाडि बढाएका छौँ, यसले निकास दिन्छ ।’
एमाले अध्यक्ष झलनाथ खनालले पटकपटक सहमति गर्दै संविधानसभाको म्याद चार वर्ष पुर्‍याउँदासमेत मुलुक र जनतालाई संविधान दिन नसकिएको तीतो यथार्थतालाई हृदयङ्गम गरेर चक्रव्यूह परिरहेको मुलुकलाई निकास दिन सहमतिमै जोड दिनुपर्ने बताउनुभयो । उहाँले विगतमा सबैभन्दा ठूलो दलले जसरी सङ्कटको निकासका लागि पहल गर्नुपथ्र्यो त्यो नभएकाले अहिलेको अवस्था सिर्जना भएको हो भन्दै विगतका कमीकमजोरीलाई समीक्षा गरेर अगाडि बढ्नुपर्छ र सबै दल एकजुट हुनुपर्छ ।
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले तीन दलसहितको मधेसीदलको सिन्डिकेटले वर्तमान राजनीतिक एवम् संवैधानिक गतिरोधको अन्त्य हुन नसक्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “अब चार दलभन्दा अन्य दलले राजनीतिक निकास निकाल्न सक्दछन् ।” एकथरिले सत्ता छाड्न नसक्ने अर्काेथरिलाई सत्ता नभई नहुने स्थितिबाट सहमति ननिस्कने उहाँका तर्क थियो ।