ब्राजिल इटालीसँग बराबर


जेनेभा, चैत १० (एएफपी)- डानियल डी रोसी र मारियो बालोटेलीले तीन मिनेट फरकमा गोल गरेपछि इटाली बिहीबार ब्राजिलविरुद्ध सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-२ को बराबरी नतिजा निकाल्न सफल भएको छ।

 
गत महिना इङ्ल्यान्डसँग २-१ को पराजय भोगेको विश्वकप २०१४ को आयोजक ब्राजिल विजय हासिल गर्ने उच्च मनोबलसहित जेनेभा आएको थियो। लुइस फिलिप स्कोलारीको टोलीले पहिलो हाफमै दुई गोल गरेर जितको आधार तयार पारेको पनि थियो, तर डी रोसीले सुरु गरेको इटालियन पुनरागमनको कथामा बालोटेलीले गोल थपेपछि बराबरी नतिजा निस्कियो।
फ्रेडले ३३औं मिनेटमा अग्रता दिलाएको ब्राजिलका लागि मध्यान्तर हुन तीन मिनेट बाँकीमा चेल्सीका स्टार ओस्कारले अर्को गोल थपे। तर, दोस्रो हाफ आफ्नो नाममा लेखाउने क्रममा इटालीका लागि डी रोसीले ५४औं मिनेटमा एक गोल फर्काएर पुनरागमनको संकेत गरे। बालाटोलीले त्यसको तीन मिनेटपछि ब्राजिलको पोस्ट सम्हालेका क्विन्स पार्क रेन्जर्सका गोलकिपर जुलियो सिजरलाई कुनै मौका नदिई गोल गर्दै खेल बराबरीमा ल्याए।
'मैले आज धेरै सकारात्मक पक्ष भेटेको छु,' दोस्रोपल्ट ब्राजिली राष्ट्रिय टोलीको नेतृत्व लिएपछि पहिलो जित प्रतीक्षा गरिरहेका स्कोलारीले हालै मात्र आलोचना गरेका सान्तोषका स्ट्राइकर नेइमारको प्रशंसा गर्दै भने, 'रणनीतिक रूपमा नेइमारले राम्रो खेले। सायद यो ब्राजिलका लागि उनले अहिलेसम्म खेलेकामध्ये उत्कृष्ट खेल थियो। उनलाई दोस्रो स्ट्राइकरका रूपमा प्रयोग गर्दा इटालियन रक्षापंक्तिले धेरै तनाव बेहोर्नुपर्‍यो।'
विश्वकप छनोटको तयारीमा बिहीबारै अन्य मैत्री खेलमा जोर्डन, कुवेत र इक्वेडरले जित पाए। जोर्डनले बेलारुसमाथि १-० को जित दर्ता गराउँदा कुवेतले प्यालेस्टाइनलाई २-१ को नतिजामा हरायो। यसैगरी इक्वेडरले एल साल्भाडोरमाथि ५-० को रवाफ जमायो।