बाँदरमुडे पीडितलाई पार्टी कोषबाटै ६० लाख दिने
![]() |
काठमाडौं, फागुन २२–एकीकृत नेकपा माओवादीले चितवनको माडीस्थित बाँदरमुढे घटना पीडितलाई पार्टी कोषबाटै राहत रकम दिने भएको छ ।
मंगलबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारी बैठकले बाँदरमुडे घटनाका पीडितलाई पार्टी कोषबाटै ६० लाख राहत रकम दिने निर्णय गरेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीमै पुगेर राहत रकम दिने घोषणा गरेपश्चात् एकीकृत माओवादीले यो निर्णय गरेको हो । राज्यको कोषबाट माओवादीले दिन लागेको रकमको पीडितहरूले नै विरोध गरेपछि माओवादीले पार्टी कोषबाट रकम दिने निर्णय गरेको हो । यस्तै, सरकारसँग परामर्श नै नगरि प्रचण्डले पहिले नै सार्वजनिक कार्यक्रममा भाषण गरेपछि सरकारमा रहेका मन्त्रीहरुले समेत त्यसको बिरोध गरेका थिए ।
राहत रकम आजै निकासा गर्ने निर्णय पनि बैठकले गरेको छ । सर्वसाधारण सवार यात्रुबसलाई लक्षित गरी माओवादीले बिछ्याएको धरापमा परी २३ जेठ ०६२ मा ३९ जनाको मृत्यु भएको थियो ।
![]() |