पाखुरामा ‘आइ लभ यु’ लेखेर आत्महत्या


महोत्तरी, फागुन २२ – महोत्तरीको बर्दिबास-७ का एक युवा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । बर्दिबासस्थित देउराली उच्च माविमा कक्षा ११ मा अध्ययन गर्ने १७ वर्षीय निजर कार्की बर्दिबासकै नवक्षितीज उच्च माविको कक्षा कोठामा मृत अवस्थामा फेला परेका हुन् । कार्कीलाई विद्यालयको कक्षा कोठामा झुण्डिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बर्दिबासले पुष्टि गरेको छ ।
आफ्नो हातको पाखुरामा ‘आइ लभ यु’ लेखेका कार्कीले असफल प्रेमको कारण आत्महत्या गरेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बाबुराजा खड्काले जानकारी दिए । कार्कीले सोमबार राति आत्महत्या गरेको हुनसक्ने  खड्काले बताए ।
कार्कीको शव परीक्षणका लागि जलेश्वर अस्पताल लगिएको छ ।




-->