नागरिकता नपाए आत्महत्या गर्ने चेतावनी
![]() |
काठमाडौं, फागुन २९ (नागरिक)- जन्मसिद्ध नागरिकता पाएका नागरिकहरुका छोराछोरीले आफूलाई तत्काल वंशजको आधारमा नागरिकता पाउने गरी कानुनी ब्यवस्था मिलाउन माग गरेका छन्। तत्काल नागरिकता नपाए उनीहरुले आत्महत्या गर्ने वा अधिकारका लागि हतियार उठाउने बताए।
राज्यविहीन मधेसी युवा संघर्ष समितिको नाममा संगठित भएका उनीहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नागरिकता नपाउँदा आफूहरु राज्यविहीन भएको र अवसर पाउनबाट वञ्चित भएको भन्दै तत्काल नागरिकता पाउने ब्यवस्था नगरे आफूहरुसँग आत्महत्या गर्ने वा अधिकारको लागि हतियार उठाएर विद्रोह गर्नुको विकल्प नरहेको स्पष्ट पारेका हुन्।
समितिले त्यसको लागि कानुन निर्माण गर्नुपर्ने, नागरिकता बनाउन विपन्नका लागि बजेटको ब्यवस्था गर्नुपर्ने, सीमा क्षेत्रमा नागरिकता छानबिन आयोग दुवै देशको सहमतिमा गर्नुपर्ने, आमाको नामबाट नागरिकता पाउनुपर्ने, नागरिकताका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने, नागरिकता वितरणसहित मतदाता नामावली संकलन कार्य तत्काल सुरु गर्नुपर्ने माग अघि सारेको छ।
कार्यक्रममा बोल्दै समितिकी अध्यक्ष संगीता चौरसीयाले आमासँग वंशजको आधारको नागरिकता भएको, बाबुको जन्मसिद्ध नागरिकता भए पनि आफूले नागरिकता नपाउँदा महिला विकासको जागिर तीन महिना खाएर छाड्नुपरेको र अहिलेसम्म सबै अवसरबाट वञ्चित हुनु परेको गुनासो गरिन्।
हेमन्त पाण्डेले आफूले नागरिकता नभएकै कारण उच्चशिक्षा अध्ययन वञ्चित हुनुपरेको गुनासो सुनाए। साह आलम अन्सारीले आफूले देश मान्ने तर देशले आफूहरुलाई किन नमानेको भन्दै प्रश्न गरे। महोत्तरीका एमवीए पास गरेर अर्जुनकुमार साहले नागरिकताविहीन भएर आफूले रोजगारी पाउन नसकेको बताए।
![]() |