शिवरात्री मान्न आएका साधुलाई भेटीसहित बिदाइ गरिँदै


गणतन्त्र आएपछि न बागम्बर, न चिदम्बर !

२९ फागुन, काठमाडौं । शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आएका साधुबाबाहरुलाई सरकारले मंगलबार परम्पराअनुसार भेटी र दक्षिणा दिएर बिदाइ गर्दैछ । पशुपति मन्दिर परिसरमा मंगलबार बिहान एक कार्यक्रम गरी उनीहरुलाई दान एवं उपहारसहित विदाइ गर्ने कार्यक्रम राखिएको छ ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आवश्यक भेटी, दान र उपहार दिएर साधुबाबाको बिदाइ गर्ने प्रचलन छ । उनीहरुलाई गच्छेअनुसार एकसयदेखि पाँचहजार रुपैंयासम्म दिएर बिदाइ गरिने कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
वैद्यका अनुसार पशुपतिमा आएका सबै बाबाहरुलाई भेटी र उपहार दिएर बिदाई गरिन्छ । यसवर्ष देशका बिभिन्न ठाउँ र भारत समेतबाट गरी झण्डै ५ हजार साधुबाबा पशुपति आएका थिए ।





साधुबाबाहरुको पनि दर्जा निर्धारण
शिवरात्रीमा पशुपति आउने साधु बाबा हेर्दा उस्तै लागे पनि त्यहाँ पनि थरीथरीका दर्जा हुन्छन् । उनीहरुको दर्जा सरकारले नै छुट्याईदिन्छ । सबैभन्दा बढी आकर्षणको केन्द्रबिन्दु रहने नागाबाबा उच्चकोटीका साधुमा पर्छन् । पशुपति मूल मन्दिर नजिकैको अन्नपूर्ण अखडा भण्डारका बाबा पशुपतिले साधुसन्तको वर्गीकरण र दक्षिणा तोक्ने गर्छन् ।
bab-2
साधुबाबाको वर्गीकरण गर्दा सम्प्रदाय र क्षमतालाई आधार बनाईन्छ । नागा, उदासी, दशनामी, अधोरी, नाथ सम्प्रदायकालाई नगद दक्षिणा, रुद्राक्ष, चमर, बख्खु, चाँदर, घण्टी र लोटा दिने गरिन्छ ।
पहिले थापाथलीको कालमोचन घाटबाट साधुबाबाको बिदाई हुने गरेकोमा केही वर्षदेखि भने पशुपतिबाट बिदाई गर्ने गरिएको छ ।
गणतन्त्र आएपछि न बागम्बर, न चिदम्बर !
सरकारले भेटी र उपहार दिएर बिदाइ गर्ने गरे पनि साधुबाबाहरुको आफ्नै गुनासो छ । पहिले राजाको पालामा साध ुबाबाहरुलाई बाघको छाला अर्थात बागम्बर र चितुवाको छाला अर्थात चिदम्बर दिने गरिन्थ्यो । तर, अहिले उनीहरुले यो पाउँदैनन् । भेटी कटौती भएको साधु बाबाहरुको गुनासो छ । यस्तै दिइने भेटी पनि थोरै भएको र शिवरात्रीको बेला पशुपतिमा खाने बस्ने उचित प्रबन्ध नभएको केही साधुहरुले गुनासो गरेका छन् । कतिपय साधुबाबाहरु भने रिसाएर राज्यले दिने भेटी र उपहार नलिइकन र्फकन थालेका छन् ।