उपेन्द्र यादवका स्वकीय सचिव सदभावनामा प्रवेश
![]() |
प्रकाश तिमल्सिना, काठमाडौं, फागुन २९ - उपेन्द्र यादव नेतृत्व मधेसी जनअधिकार फोरम, नेपालका केन्द्रीय सदस्य तथा मधेसी युवा फोरमका अध्यक्ष योगेन्द्र यादवलगायत १८ जना केन्द्रीयस्तरका युवा नेता नेपाल सदभावना पार्टीमा प्रवेश गरेका छन्।
राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गर्ने यादव गत महिना मात्रै युवा फोरमको अध्यक्षमा पुनः निर्वाचित भएका थिए। 'उपेन्द्रजीले संगठन चलाउने तरिका ठीक नभएको हाम्रो निष्कर्ष रहदै आएको थियो,' यादवले नागरिकन्युजसँग भने, 'उहाँको नेतृत्वशैलीको आलोचना गर्दै आजवाट राजेन्द्रजी (सदभावना)को पार्टीमा प्रवेश गरेका हौं।' उनका अनुसार १८ केन्द्रीय युवा नेतासहित ३ सय युवा नेता महतो नेतृत्वको सदभावनामा प्रवेश गरेका छन्। अध्यक्ष यादव उपेन्द्र यादव मन्त्री रहँदा स्वकीय सचिव पनि भइसकेका थिए।
नवप्रवेशी सवैलाई अध्यक्ष महतोले टिका लगाएर पार्टी प्रवेश गराएका छन्। युवा फोरमका महासचिव तथा संगठन विभाग प्रमुख फिरोज मन्सुरी, केन्द्रीय सदस्य धिरेन्द्रप्रसाद यादव, जयप्रकाश महत्तो, मोहम्मद जावेद अन्सारी, सन्तोष सिंह, अब्दुल सतार, पंकज मण्डल, उपेन्द्र यादव, नरबिन्द यादव, दिनेश यादव, श्यामकिशोर यादव, जितेन्द्रकुमार साह, सञ्जितकुमार साह, राजकुमार चौरशिया, कार्तिकेश साह, हाकिम रायलगायत सदभावनामा प्रवेश गरेका हुन्।
![]() |