सलमान खराब रणवीर उत्कृष्ट


मुम्बई, फाल्गुन ८ - सलमान खानका जबरजस्त फ्यान धेरै छन् । फिल्ममा उनले 'जे गरे पनि' बक्स अफिसमा सय करोड क्रस गर्छ भन्न थालिएको छ । उनका पछिल्ला फिल्मले लगालग बक्स अफिसमा कब्जा जमाए पनि फिल्म समीक्षकका नजरमा भने कमै पर्छन् । त्यसैले पनि सलमान प्रायः अवार्ड पाउँदैनन् । तर शुक्रबार साँझको एक अवार्ड कार्यक्रममा भने उनी रित्तो हात भएनन् ।
तर अवार्ड भने उनले उत्कृष्ट अभिनय गरेकाले नभई 'एक था टाइगर' र 'दबंग २' मा गरेको सर्वाधिक खराब कामका कारण पुरस्कृत भएका हुन् । खराब कामका लागि दिइने उक्त घन्टा अवार्डमा सलमानले अक्षय कुमार र अजय देवगणलाई उछिनेका हुन् । नायिकातर्फको घण्टा अवार्ड भने 'दबंग २', 'जोकर' र 'राउडी राठौर' मा गरेको अभिनयका आधारमा सोनाक्षी  सिन्हालाई दिइयो । 'सन अफ सरदार' लाई वर्षका रिलिज फिल्ममध्ये सर्वाधिक खराब फिल्म मानिएको अवार्ड कार्यक्रममा निर्देशकको उपाधि रामगोपाल बर्मालाई टक्र्याइएको थियो ।
आफुले घन्टा अवार्ड पाएको एक दिनपछि शनिबार भएको स्टार गिल्ड अवार्डमा भने सञ्चालक सलमान खानले उत्कृष्ट अभिनेताको अवार्ड थाप्न रणवीर कपुरलाई बोलाए । रणवीरलाई अवार्ड दिलाएको फिल्म 'बर्फी' ले उत्कृष्ट फिल्म सहित सात विधामा पनि अवार्ड जित्यो । सातवटै अवार्ड जितेको फिल्म 'विक्की डोनर' बाट नवनायकको अवार्ड आयुष्मान खुरानाले पाए । नायिकाका लागि अवार्ड लिन भने यसपटक पनि 'कहानी' की विद्या बालन नै बोलाइन् । पि्रयंका चोपडाले पनि 'बर्फी' मा गरेको अभिनयका कारण साइनिङ स्टारको अवार्ड हत्याइन् ।