नेपालमा अपहरण, अमेरिका बस्नेसँग फिरौती माग
![]() |
सन्तोष सिंह, सर्लाही, फागुन १४ - उर्लाबारीबाट अपहरणमा परेका राधाकृष्ण न्यौपानेलाई सर्लाहीको बरहथवाबाट प्रहरीले उद्धार गर्नुको साथै तीन अपहरणकारीलाई पक्राउ गरेको छ। फागुन ९ गते उर्लाबारीबाट अपहरणमा परेका न्यौपानेलाई सोमबार दिउसो तीन बजे बरहथवा-९ स्थित राजदेव चौधरीको घरमा बन्धक बनाएर राखेको अवस्थामा सर्लाही प्रहरीले उद्धार गरेको अपराध अनुसन्धान अधिकृत भुवनेश्वर साहले बताए।
प्रहरीले अपहरणका योजनाकार सर्लाही सुन्दरपुर चोहर्वा-१ का बिरेन्द्र कुमार यादव सहित तीन जनालाई घेरा हाली सोमबार दिउसो पक्राउ गरेको साहले बताए । अपहरणमा संलग्न रहेको आरोपमा बरहथवा-८ का राजेदेव चौधरी, मुर्तिया-७ का सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर अनुसन्धान गरिराखिएको छ।
सर्लाहीमा अपराध नियन्त्रणका लागि खटेका सादा पोसाकका प्रहरीले बिहान उर्लाबारि प्रहरी दिएको जानकारी अनुसार तत्कालै अपहरणकारीको पहिचान गरी अपह्रितलाई उद्धार गरी अपहरणकारीलाई पक्राउ गर्न सफल भएको प्रहरी अपराध अनुसन्धान अधिकृत साहले बताए।
भुटानी शरणार्थी शिविर बस्दै आएका न्यौपानेले साडी न्यौपाने बहिनीलाई जबरजस्ती अमेरिका पठाएको भन्दै अपहरण गरिएको थियो। न्यौपानेकी बहिनीसँग अपहरणका योजनाकार बिरेन्द्र कुमार यादवको प्रेम सम्बन्ध रहेको र बहिनीसँग विछोड गराई अमेरिका पठाएको भन्दै यादवले अपहरण गरेको सर्लाहीका एसपी शरद चन्दले बताए। शिविरमा सडक निर्माणको क्रममा सुभरभाइजर भएर काम गर्न गएका बेला न्यौपानेकी बहिनी साडी न्यौपाने सँग यादवले प्रेम गरी विवाह समेत गरेका थिए। तर घरमा अर्की श्रीमती रहेको जानकारी पाएपछि यादवलाई छोडेर उनी चार महिना अमेरिका गएको एसपी चन्दले बताए।
-->
यादवले अमेरिबाट पटक पटक पैसा पठाउन भन्दा नमानेपछि भाइलाई अपहरण गरी फिरौती मागेका थिए। फिरौती नदिए परिणाम भयवह हुने अमेरिका बस्दै आएकी न्यौपानेलाई अपहरणकारीले धम्की दिँदै आएका थिए।
![]() |