लोडसेडिङ दैनिक दुई घण्टा घट्यो (तालिकासहित)




काठमाडौं, माघ १९ - नेपाल विद्युत् प्राधिकरणले यही माघ २१ गते आइतबारदेखि लागू हुने विद्युतभार कटौतीलाई हप्ताको १३ घन्टाले घटाएको छ । यसअघि माघ ६ गतेदेखि हप्तामा ९७ घन्टा विद्युतभार कटौती गरिँदै आएकामा आगामी आइतबारदेखि हप्तामा ८४ घन्टा विद्युतभार कटौती गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार परिवर्तित तालिकाअनुसार अब हप्ताको सातै दिन १२ घन्टा लोडसेडिङ हुनेछ। नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहे तापनि भारतबाट आयातित विद्युत् आपूर्तिमा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण साबिकमा हुँदै आएको विद्युत्भार कटौतीको तालिकामा हेरफेर गरिएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताए।
उनका अनुसार यही माघ १० गते बुधबारदेखि अघोषितरूपमा विद्युतभार कटौती कम गरी लागू गरिएकामा यही माघ २१ गते आइतबारदेखि विद्युत्भार कटौतीको समयतालिका घोषितरूपमा परिवर्तन गरिएको हो।
प्रधानमन्त्री बाबुराम भट्टराईले टि्वटर एकाउन्ट खोलेलगत्तै बढी टिप्पणी भएपछि लोडसेडिङ घटनाउने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणापछि भने साविकको लोडसेडिङ यथावत थियो ।