दोस्रो मैत्रिपूर्ण फुटबलमा पनि नेपाल पाकिस्तानसँग पराजित



२७ माघ, काठमाडौं । दोस्रो मैत्रिपूर्ण फुटबलमा पनि नेपाल पाकिस्तानसँग पराजित भएको छ । शनिबार भएको खेलमा पाकिस्तानले नेपाललाई १-० ले पराजित गरेको हो ।
यससँगै भ्रमणकारी टोली पाकिस्तानले दुबै मैत्रिपूर्ण खेल आफ्नो पक्षमा पारेको छ । पहिलो मैत्रिपूर्ण खेल पनि पाकिस्तानले १-० ले जितेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको सुरुमा आक्रमक खेल खेलेको नेपालले केही राम्रा मौका गुमाएको थियो । पाकिस्तानको केही खतरनाक प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।
दोस्रो हापमा पाकिस्तानले ६५ औं मिनेटमा गोल गर्‍यो । असम बासिरले दिएको बल नेपाली रक्षक किरणलाई विट गरिसकेको अवस्थामा मोहमद मुजाहिनले गोल गरेका हुन् । त्यसपछि पनि नेपाली बराबरी गर्ने केही मौका नपाएको भने हैन । तर, फिनिसिङ नहुँदा नेपाली खेलाडीहरु गर्न असफल भए र पाकिस्तान १-० ले विजयी भयो ।