आज बिहानै अफजल गुरुलाई झुन्ड्याइयो
![]() |
नयाँ दिल्ली, माघ २७ (एजेन्सी) - सन् २००१ मा भारतको संसदमा हमला गर्ने योजनाकारमध्येका एक अफजल गुरुलाई दिल्लीस्थित तिहाड जेलमा आज बिहान झुन्ड्याइएको छ। टेलिभिजन रिपोर्टका अनुसार उनलाई बिहानै फाँसी दिइएको हो। घटनाको भारतीय गृह मन्त्रालयले पुष्टी गरेको छ।
केही समयअघि उनको मृत्युदण्ड रोक्न राष्ट्रपति प्रणव मुखर्जीसामु निवेदन परेको थियो। त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेका थिए। २००१ को संसदमा भएको आतंकवादी हमलामा उनको भूमिका रहेको प्रमाणित भएपछि उनलाई मृत्युदण्डको घोषणा गरिएको थियो।
मृत्युदण्डलगत्तै जम्मु र कस्मिरमा कर्फ्यू आदेश दिइएको छ।
सन् २००४ मा नै भारतको सर्वोच्च अदालतले अफजल गुरुलाई मृत्युदण्डको घोषणा सुनाएको थियो। २००६ मा उनलाई झुन्ड्याइने तय भएको थियो। तर, उनकी पत्नीले उनको मृत्युदण्ड रोक्न निवेदन दिएपछि मृत्युदण्ड तत्काललाई रोकिएको थियो।
गत जनवरी २३ मा राष्ट्रपतिसामु परेको मृत्युदण्ड रोक्ने निवेदनलाई राष्ट्रपतिले अस्वीकार गरेको जानकारी गृह मन्त्रालयलाई गराएका थिए।
२००१ को डिसेम्बरमा पाँच हतियारधारी आतंकवादीले भारतीय संसद परिसरभित्र गोली प्रहार गरेका थिए। घटनामा ९ जना मारिएका थिए। मारिनेमा अधिकांश सुरक्षाकर्मीहरु थिए। आतंकवादीहरु पनि त्यहीँ मारिए। यो घटनाको केही दिनपछिमात्रै अफजल गुरु पक्राउ परेका थिए।
भारतको विपक्षी दल भारतीय जनता पार्टीले उनको मृत्युदण्ड ढिलाई गरिएको प्रति आक्रोश प्रकट गर्दै आएको थियो।
![]() |