डेकेन्द्र हत्याका आरोपी जेल पठाइए




दैलेख, माघ १९ - पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधिश रामकृष्ण भट्टको इजलासले शुक्रबार तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरु कसुरदार देखिएकाले मुलुकी ऐन अदालती बन्दोबस्त महलको ११८ (२) बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आदेशलगत्तै पक्राउ परेका पाँचैजना अभियुक्तलाई जिल्ला कारागार चलान गरिएको छ ।
थुनछेकका लागि वादी प्रतिवादी तर्फका वकिलको बहस दुई दिनसम्म चलेको थियो । जाहेरी दरखास्तवाला लक्ष्मी थापाको तर्फबाट जिल्ला न्यायाधिवक्ता डम्बर काफ्ले, अधिवक्ताहरु गोविन्द बन्दी, दिनेश त्रिपाठी, वसन्त गौतम, सुरेन्द्र अधिकारी, ललित मल्ल र प्रतिवादीका तर्फबाट गोपाल सिवाकोटी चिन्तन, केदार गुरागाई, कपिल पोखरेल र कृष्णलाल भट्टराईले बहस गरेका थिए ।
द्धारी गाविस १ का लक्षीराम घर्तीमगर, बालुवाटार ९ का निरकबहादुर घर्तीमगर, वडा नं. ४ का बीरबहादुर केसी, द्धारी ३ का हरिलाल पुनमगर, रानीवन गाविस १ का  जयबहादुर शाही, छिउडीपुसाकोट १ का बमबहादुर खड्का अरुण, केशव खड्का, कट्ट िगाविस १ का बमबहादुर खड्का मुक्ति, द्धारी १ का भक्तिराम लामिछाने उपर कर्तव्यज्यानसम्बन्धी मुद्दा दायर गरिएको थियो ।