सिरिया उडेका २ महिला सम्पर्कविहीन


काठमाडौ, माघ २५ - गृहयुद्धमा रहेको मुलुक सिरियामा पुगेका नेपालीहरू 'सम्पर्कहीन' हुने क्रम बढेको छ । साउन ६ गते (जुलाई २१) काठमाडौं विमानस्थल हुँदै एयर अरेबियाबाट सिरिया गएका पोखराकी लक्ष्मी गुरुङ र बागलुङकी हुमा मगर सम्पर्कमा नरहेको भन्दै आफन्तले परराष्ट्र मन्त्रालयमा खोजबिनका लागि पुस १७ मा परराष्ट्रको कन्सुलर शाखामा आवेदन दिएका थिए । नेपाल सरकारले रोजगारीका लागि 'प्रतिबन्ध' लगाएको सिरियामा 'हाउसमेड' भिसाका दुई महिला काठमाडौं विमानस्थल हुँदै कसरी गएका हुन् भन्ने खोजबिन हुन सकेको छैन । अध्यागमनको मिलेमतोमा सम्भव हुने 'सेटिङ' अन्तर्गत यी महिला काठमाडौं विमानस्थल हुँदै सिरिया पुगेको अनुमान छ ।  
'टर्कीको बोर्डर रहेको युद्धग्रस्त एलेपो सहरबाट बहिनी लक्ष्मीले तीन महिनाअघि घरमा बुढीआमालाई फोन गरेकी रहिछन्,' लक्ष्मीका आफन्त दाजु केहरजंग गुरुङले कान्तिपुरसँग भने, 'बहिनीले यता काम गर्न गाह्रो पर्‍यो, यहाँबाट हामीलाई नेपाल फर्काउनुपर्‍यो भनेकी रहिछन् । तर उसले दिएको नम्बरमा फेरि सम्पर्क हुन सकेको छैन । परराष्ट्रलाई यसबारे जानकारी गराइसकेर पनि कतैबाट खोजबिन हुन सकेको छैन ।' गाउँमा तीन छोराछोरी छाडेर सिरिया गएकी लक्ष्मीका श्रीमान् कतारमा छन् ।
केहरजंगका अनुसार लक्ष्मीसँगै बाग्लुङकी मगर पनि सिरिया गएकी हुन् । बहिनी लक्ष्मी तथा हुमाको पासपोर्ट कपी र एयर अरेबियाको टिकट पनि केहरजंगले प्रमाणका रूपमा साथमा राखेका छन् । 'कास्कीको भेडीफार्मस्थित माइतीघरमा बस्दै लक्ष्मीको गाउँबाट थाहा पाएअनुसार मोहम्मद नामको एजेन्टले उनलाई सिरिया उडाएको रहेछ । म्यानपावर एजेन्सी र अरू विवरण केही छैन,' दाजुले भने । ३४ वषर्ीया लक्ष्मी र ३७ वषर्ीया हुमाले मेसिन रिडेबल पासपोर्ट सिरिया उड्नुभन्दा तीन महिनाअघि मात्रै बनाएका हुन् । परराष्ट्रले ध्यान नदिएपछि केहरजंगले एक साताअघि प्रवासी नेपाली समन्वय समितिको कार्यालयमा आवेदन दिएका थिए ।
समितिले बुधबार आयोजना गरेको 'कतार र लेबनानमा रहेका घरेलु कामदारको समस्या' सम्बन्धी कार्यक्रममा सिरियामा हराइरहेका महिलाबारे चासो बाहिर आएको हो ।  
'सिरियामा रहेका भनिएका लक्ष्मी र हुमाबारे जानकारी खोज्न परराष्ट्रले हालै अवगत गराएको थियो,' सिरिया मामलासमेत हेर्ने मध्यपूर्वको इजिप्टस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत प्रेम बरालले कान्तिपुरसँग फोनमा भने, 'ती महिलाको सम्पर्क भनेर दिइएको नम्बरमा फोन लाग्न सकेको छैन, सिरियाको विदेश मन्त्रालयले पाँच महिनाअघि दिएको विवरणमा यी दुई नेपाली महिलाको नाम उल्लेखित छैन ।' २०११ को मार्चदेखि युद्ध भडकरहेको सिरियामा अहिलेसम्म ७० हजारभन्दा बढी नागरिकको मृत्यु भएको र झन्डै ३० हजार बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युद्ध भड्किएका अवस्थामा सिरियाबाट हजारौं नागरिक छिमेकी मुलुकहरू लेबनान, इजरायल, जोर्डन, टर्कीतिर पनि शरणार्थी हैसियतमा विस्थापित भइरहेको समाचारमा आइरहेको छ ।
कार्यवाहक राजदूत बरालका अनुसार कायरोस्थित सिरियाली दूतावासले दिएको विवरणअनुसार सिरियामा गत अक्टोबर २१ सम्म ८ जना नेपाली मात्रै कार्यरत थिए । सिरिया सरकारले दिएको जानकारीमा सिरियाभित्र पुरुषतर्फ सन्तोष केसी (२०१२ जून ७ मा टुंगिएको अस्थायी भिसा), भीमलाल रेग्मी -२०१२ फेब्रुअरी १ मा टुंगिएको वाषिर्क भिसा) र तिलकुमार कामतवाला -२०१२ मार्च १० मा टुंगिएको पर्यटक भिसा) छन् । यस्तै महिलातर्फ नियाक्स्मल श्रेष्ठ सिरियाको हलाब सहरमा एक सिरियन परिवारमा बच्चा हेर्ने (बेबी-सिटर) काममा छिन् । तर उनको पनि भिसा अवधि २०१२ जून १४ मा टुंगिएको जनाइएको छ । अर्कातिर २००७ को जुलाई २७ मा सिरिया पुगेकी सृजना शाह भने दमास्कसस्थित बहराइन दूतावासमा कार्यरत रहेको जनाइएको छ ।
 यस्तै २०१२ मे १३ मा सिरिया पुगेकी कान्छी लामा पनि बेबी-सिटरका रूपमा कार्यरत छिन् भने गत वर्ष जून ४ मा दमास्कस पुगेकी पेमायाङजी शेर्पा पनि घरेलु काममै छिन् । गत वर्ष जून १३ मा सिरिया पुगेकी विष्णु लामा पनि बेबी-सिटर काम गर्छिन् । सिरियाली सरकारले दिएको जानकारीमा एउटै नेपाली पनि त्यहाँका जेलमा छैनन् । सन् १९७० फेब्रुअरीमा नेपालसँग कूटनीतिक सम्बन्ध कायम रहेको सिरिया रोजगारी गन्तव्यका लागि भने प्रतिबन्धमा छ । सिरियासँग सबैभन्दा बढी सिमाना जोडिएको लेबनानमा रहेका कतिपय नेपाली घरेलु कामदार सिरियाली पुरुषसँग 'लिभिङ-टुगेदर' भई बस्ने गरेको रिपोर्ट आइरहेका बेला 'सीमा वारपार ओसारपसार' पनि हुन सक्ने अधिकारकर्मी रेणु राजभण्डारीले बताइन् । 'केही नेपाली महिलालाई लेबनानबाट सिरियातर्फ लगिएको सम्भावनालाई नकार्न सकिन्न,' यसै साता लेबनानको भ्रमणबाट फिरेकी राजभण्डारीले भनिन् ।
बेरुतस्थित अवैतनिक महावाणिज्यदूत जोए इस्सा एल-खोउरीले लेबनानमा घरेलु कामदारको समस्या चर्को रूपमा भए पनि अहिलेसम्म यसरी 'क्रस-बोर्डर ट्राफिकिङ' मा नेपाली सिरियातर्फ गएको भन्ने कुनै जानकारी नरहेको इमेलमा जनाए । 'यो विषयमा मैले भर्खरै कारितास संस्थालाई पनि अवगत गराएँ तर नेपाली कामदार ओसारपसारबारे तथ्यगत जानकारी आएको छैन,' उनले इमेलमा भने ।