यौनरोगः लाज मानेर निको हुँदैन



स्वास्थ्य परीक्षण गर्न वीर अस्पतालको छाला, यौन तथा कुष्ठरोग विभागमा डाक्टरलाई भेटेको केही क्षणमै बिरामी हतास
मनस्थितिमा पुगे।

घाउहरु देखाएर लक्षण उल्लेख गर्दा सम्बन्धित डाक्टरले यौनरोग लागेको बताएपछि थचक्क कुर्सीमा बस्दै हतास मुद्रामा ती अधबैंसे बिरामीले सोधे- ँडाक्टर सा’ब, यो रोग निको हुँदैन त ?’
काठमाडौंमा विस्थापित जीवन बिताइरहेको बताउने ३८ वर्षीय ती अधबैंसे नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्-

एकैछिन्को असावधानीले सारा सपना ध्वस्त भए।’ घरमा श्रीमती हुँदाहुँदै अन्यत्र गएर असुरक्षित यौनसम्पर्क गर्दा उनको शरीरमा हर्पिस सिम्प्लेक्स भाइरस टु नामक जीवाणु प्रवेश गरेको छ। करिब १२ वर्षअघि असुरक्षितरुपमा यौनसम्पर्क गरेको र त्यसको एक सातापछि नै पिसाब पोल्न थालेको उल्लेख गर्दै उनी थप्छन्- ँपानीको फोकाजस्ता स-साना घाउहरु आउन थाल्दा नै शंका त लाग्याथ्यो, तर केही समयपछि आफैं ठीक भएकोले त्यति वास्ता गरिएन।’

यौनांगको वरिपरि स-साना पानीफोकाजस्ता घाउहरु फुट्ने र चहर्याउँदाखेरि उनले औषधि पसलबाट किनेर मलहम लगाए तर जँचाएनन्। यसबारेमा उनी भन्छन्- ँएक त आफैंलाई लाज लाग्यो, फेरि कसैले देख्ने वा थाहा पाउने हुन् कि भन्ने डर पनि भयो।’

सम्बन्धित विशेषज्ञहरुका अनुसार उनलाई हर्पिस जेनिट्यालिस (Herpes Genitalis) नामक यौनरोगले सताइरहेको छ। यो रोग निको पार्ने औषधि हालसम्म बनेको छैन। वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार झा भन्नुहुन्छ- ँजतिसुकै औषधि गरे पनि यो पानीफोका यौनांगवरिपरि पटक-पटक आउँछ। विनाऔषधि फोका हराएर पनि जान सक्छ। तर केही समयपछि पुनः आइहाल्छ। यो यौनरोगले असाध्यै दुःख दिन्छ।’




यौन सङ्क्रमण भएको व्यक्तिसँगको असुरक्षित यौनसम्पर्कबाट सर्ने हर्पिस जेनिट्यालिस लगायतका दर्जनौं यौनरोगहरु महिला र पुरुष दुवैमा सङ्क्रमण हुने क्रम बढ्दो छ। जसमध्ये अधिकांश यौनरोगहरुको समयमै उपचार गरे पूर्णरुपले निको हुने सम्बन्धित चिकित्सकहरु बताउँछन्।

बढ्दै छ जोखिम
नेपाल मात्र नभएर विश्वमै जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा यौनरोगहरु देखापरेका छन्। विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार विश्वमा प्रत्येक वर्ष३५ करोडभन्दा बढी व्यक्तिलाई नयाँ यौनरोगको सङ्क्रमण हुने गरेको छ। जुन सङ्क्रमण नेपालजस्ता विकासोन्मुख देशहरुमा बढी हुने गरेको पाइएको छ।

संगठनले गरेको अनुमानमा यौनरोगहरुमध्ये सबैभन्दा बढी ट्राइकोमोनियासिस (Trichomoniasis) बाट १९ करोड ३० लाख, क्लामाइडिया (Chlamydia) बाट ९ करोड ३० लाख, गोनोरिया (Gonorrhoea) बाट ६ करोड २० लाख र सिफिलिस (Syphilis) बाट १ करोड २० लाख मानिसहरु सङ्क्रमणमा पर्ने गरेका छन्। यी रोगहरु औषधि गर्दा पूर्ण निको हुन्छन्। हरेक १० जना यौनरोगीमध्ये ७ जना यौनरोगीहरु १५ देखि २४ वर्ष उमेर समूहमा पर्छन्।

असुरक्षित यौनसम्बन्धका कारण बढ्दै गएको यौनरोगबाट नेपालमा कति पीडित छन् भन्नेबारे आधिकारिक तथ्यांक छैन। बेलाबखत गरिएका अध्ययन-अनुसन्धानहरुमा पनि एकरुपता छैन। सरकारी तथ्यांकअनुसार सन् १९९८-९९ मा शून्य दशमलव ३४ (०.३४) प्रतिशतमा यौनरोग पाइएको थियो।

यौनरोगीहरुलाई परामर्श र उपचार गर्दै आइरहेको स्याक्ट्स नामक संस्थाले सन् १९९९ मै काठमाडौंका ३ सय जना व्यावसायिक यौनकर्मीमा गरेको एक अध्ययनमा १९ दशमलव ३ प्रतिशतमा सिफलिस नामक यौनरोग लागेको पाइएको थियो। १७ दशमलव ३ प्रतिशतमा एचआईभी सङ्क्रमण भएको उल्लेख छ।

एकभन्दा बढी व्यक्तिसँग असुरक्षित यौनसम्पर्क राख्नेहरु नै यौनरोगको सङ्क्रमणमा पर्ने गरेको स्याक्ट्सकी कार्यक्रम संयोजक पूर्णदेवी मानन्धर बताउनुहुन्छ। सन् २००० मा स्याक्ट्सले यौनकर्मी र हाई-वेमा ट्रक चलाउने ड्राइभरहरुबीच गरेको सर्वेक्षणमा यौनकर्मीमध्ये ४ प्रतिशतमा एचआईभी र १ दशमलव ५ प्रतिशत ड्राइभरहरुमा पनि एचआईभी पाइएको थियो। त्यस्तै बसाइँ सराइ गरेका वा विस्थापित परिवारमा पनि यौनरोग देखापरेको छ।

कैलाली जिल्लाको धनगढीमा बसाइँ सराइ गरेका तथा त्यहीँ बस्दै आएका पुरुषहरुबीचको सर्वेक्षणमा शून्य दशमलव ३ प्रतिशतलाई एचआईभी भएको देखिएको छ। सन् २००२ मा गरिएको यस सर्वेक्षणमा सहभागीमध्ये शून्य दशमलव ५ प्रतिशतमा सिफलिस पाइएको थियो।

त्यस्तै पोखरामा पनि एचआईभी, सिफलिस, जीएनआईडीजस्ता यौनरोगबाट प्रभावित हुनेहरुको संख्या बढ्दो छ। सन् २००३ मा पोखरामा ३ सय जना दुर्व्यसनीहरुभध्ये २२ प्रतिशतमा एचआईभी, ८ प्रतिशतमा सिफलिस र १२ प्रतिशतमा जीएनआईडी पाइएको थियो। त्यस्तै सन् २००४ मा काठमाडौंका यौनकर्मीहरुबीचको सर्वेक्षणमा २ प्रतिशतमा एचआईभी र ३४ प्रतिशतमा सिफलिस देखा परेको तथ्यले पनि यौनरोगको भयावहलाई देखाउँछ।

स्वच्छन्द यौन क्रियाकलापले यौनरोग फैलाउन बढावा दिएको छ। युनिसेफले नेपालका टिनएजर्सहरुबीच सन् २००१ मा गरेको एक अध्ययनमा २० प्रतिशत किशोरकिशोरीहरुले विवाहपूर्वको यौनसम्पर्कलाई ठीक भएको बताएका छन्। ५ जना केटाहरुमा १ जना र १० जना केटीहरुमा १ जनाले यौनसम्बन्ध राखेको पाइएको छ। यौनसम्बन्ध असुरक्षित किसिमबाट समेत हुने गरेको छ। असुरक्षित यौनसम्पर्कबाट १४ प्रतिशत किशोरीहरु गर्भवती भएको र १३ प्रतिशत यौनरोगी भएको पाइएको छ।

त्यस्तै यौनसम्पर्कबाटै २२ प्रतिशत केटाहरुमा यौनरोग सरेको पाइएको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. पदमबहादुर चन्दका अनुसार भारतमा काम गर्न गएका कतिपय पुरुष एवम् महिला एचआईभीलगायतका यौनरोगहरुबाट पीडित भई घर फर्कने गरेका छन्। डा. चन्द भन्नुहुन्छ- ँघरमा आएपछि असुरक्षित यौनसम्पर्क गरेर रोगलाई सार्ने काम भइरहेको छ।’ भारतमा २० लाख यौन व्यवसायी छन्। जसमध्ये २५ देखि ३० प्रतिशत किशोरीहरु भएको अनुमान गरिएको छ।

जहाँ नेपाली पुरुषहरु पनि जाने गरेका छन्। हरेक वर्ष ५ देखि १० हजार नेपाली महिलाहरु भारतको यौनबजारमा बेचिने गरेका छन्। मुर्म्बईबाट नेपाल आएका नेपाली महिला यौन व्यवसायीमध्ये ५० प्रतिशतमा एचआईभीलगायत अन्य यौनरोगको सङ्क्रमण दखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
चेतनाको अभाव, सामाजिक हेयको भावना, संकुचित मानसिकताका कारण कतिपय यौनरोगीहरु जँचाउनसमेत जाँदैनन्। यस कार्यले पनि यौनरोग झन्-झन् भयावह बन्दै गएको विज्ञहरु बताउँछन्।

यौना•मा सङ्क्रमण
मुख्यतः असुरक्षित यौनसम्पर्कबाट यौनरोग सर्ने भए पनि कतिपय अन्य कारणबाट पनि सङ्क्रमणमा परेका छन्। वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार झाका अनुसार सङ्क्रमित गर्भवती आमाबाट जन्मेको शिशु, निर्मलीकरण नगरिएको सुई तथा औजार, सङ्क्रमित रगत र रगतजन्य पदार्थहरुबाट पनि यौनरोग सर्न सक्छ।

नेपालमा विशेषगरी एचआईभी/एड्स सिफिलिस (भिरंगी), गोनोरिया (धातुरोग), हर्पिस जेनिट्यालिस, स्याङ्क्रवाइड, क्लामाइडिया, ट्राइकोमोनियासिस, भेनेरल वार्ट, ग्रानुलोमा इनग्विनेल लगायतका यौनरोग देखा परेका छन्। असुरक्षित यौनसम्पर्क गरेको ९ देखि ९० दिनभित्र यौना•मा सानो खटिरा आयो भने सिफिलिसको शंका गर्दा हुन्छ। डा. झा भन्नुहुन्छ- ँयो खटिरा केही समयपछि आफैं हराएर जान सक्छ तर कीटाणु भने रगतमा प्रवेश गरी भित्री शारीरिक अंगलाई असर गर्छ।

रोग जटिल अवस्थामा पुग्यो भने शरीरको सम्पूर्ण अंगलाई क्षति पुर्याउँछ।’ घाउ नभए पनि कसै-कसैलाई रगतमा एकै पटक कीटाणु देखिन सक्छ। यो आमाबाट बच्चामा पनि सर्न सक्छ।
त्यस्तै असुरक्षित यौनसम्पर्क गरेको १० दिनभित्र यौना•बाट पीपजस्तो पदार्थ आउन थाल्यो भने गोनोरिया -धातुरोग) भएको हुन सक्छ। पिसाब फेरिरहन मन लाग्ने तर पोल्ने महसुस गर्नुभएको छ भने जँचाइहाल्नुस्, तत्कालै जाँच र उपचार गरे गोनोरिया निको हुने चिकित्सकहरु बताउँछन्।

यौनसम्पर्क गरेको ७ देखि १० दिनभित्रै एकभन्दा बढी पिलोजस्ता खटिरा एकैचोटि आएको छ भने स्याङ्क्रवाइडले सङ्क्रमण गरेको हुन सक्छ। डा. झाका अनुसार सिफलिसमा पिलो दुख्दैन तर स्याङ्क्रवाइडयुक्त पिलो दुख्छ। समयमै उपचार गरे यो रोग पनि निको हुन्छ।

जतिसुकै औषधि गरे पनि निको नहुने हर्पिस जेनिट्यालिस भएको छ भने यौनांगको वरिपरि मसिना पानीफोकाहरु आउँछन्। विनाऔषधि फोकाहरु हराएर पनि जान सक्छन्। र, पुनः फोकाहरु आएर दुःख दिन्छन्। यसको कीटाणु रगतमा लुकेर बसेको हुन्छ। यो रोग लागेको महिला वा पुरुषसँग असुरक्षित यौनसम्पर्क गर्दा सजिलै रोग सर्ने डा. झा बताउनुहुन्छ।

महिलाहरुमा बढी हुने ट्राइकोमोनियासिस यौनसम्पर्क मात्र नभई यौनांग फोहोर भएर पनि हुन सक्छ।

यो रोग लागेको बेला यौनांगबाट सेतो पानी आउने, यौनांगवरिपरि रातो बिमिरा आउने, यौनांग सुन्निने हुन्छ। त्यस्तै क्यान्डिडियासिस नामक रोग पनि असुरक्षित यौनसम्पर्क र फोहोरमैलाका कारण हुन्छ। यौनांग रातो हुने, यौनांगवरिपरि रातो बिमिराजस्ता लक्षणहरु देखा पर्छन्। डा. झा थप्नुहुन्छ- ँकीटाणु यौनांगमा छ भने एन्टिबायोटिक औषधि प्रयोग गर्दा यो रोग झन् बढ्न सक्छ।’

भारतीय सीमावर्ती क्षेत्र तथा तराईका बासिन्दामा बढी पाइने रोग ग्रानुलोमा इनग्विनेल भएको बेला यौनांगमा खटिरा आउने र सुन्निने हुन्छ।

पीडामाथि पीडा
यौनरोग सङ्क्रमितसँगको असुरक्षित यौनसम्पर्क वा अन्य कारणले रोग सरेका व्यक्तिहरुमा हीनताबोध र डरसँगै लाजले गर्दा जँचाउन जाने गरेको पाइँदैन।

यौनरोगीहरुलाई स्वेच्छिक परामर्श दिंदै आउनुभएकी पूर्णादेवी मानन्धर सामाजिकरुपमा हेय भावनाले हेरिने परम्पराले गर्दा उपचार गर्न हिचकिचाउने गरेको बताउनुहुन्छ। त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा चर्म तथा यौनरोग विभागका प्रमुखसमेत रहिसक्नुभएका वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. अनिलकुमार झा पनि यौनरोगको शंका लाग्यो भने धेरै बिरामीहरु सरकारी अस्पतालमा भन्दा निजी अस्पतालमा जाने गरेको बताउनुहुन्छ। सरकारी अस्पतालमा जाने चर्मरोगीमध्ये १ देखि २ प्रतिशत मात्र यौनरोगी हुने गरेका छन्। तर निजी नर्सिङहोममा सम्पूर्ण चर्मरोगीमध्ये ३ देखि ४ प्रतिशत यौनरोगी रहने गरेको डा. झा उल्लेख गर्नुहुन्छ। उहाँका अनुसार सरकारी अस्पतालमा कसैले देखिहाल्ने पो हुन् कि भन्ने त्रास हुन्छ, त्यसैले धेरै बिरामीहरु गोपनियता खोज्दै निजी नर्सिङहोमतिर नै जान्छन्।

स्वास्थ्यकर्मी र बिरामीबीचको सुमधुर अन्तरक्रिया नै यौनरोगको उपचार सेवा र परामर्शका लागि महत्त्वपूर्ण हुन्छ। यौनरोग सेवा प्रदान गर्ने क्रममा अरुले संवाद नसुन्ने तथा परीक्षण गर्दा नदेख्ने गरी गोप्य हुनुपर्छ। तर सरकारी अस्पतालहरुमा यौनरोग सेवा दिने स्थल र विधिप्रति बिरामीहरुले असन्तुष्टि व्यक्त गरेका छन्। वीर अस्पतालमा जँचाउन गएका एक बिरामीले दुखेसो पोख्दै भने- ँएक त हामी आफैंमा पनि हीनताबोध भइरहेको हुन्छ। त्यसमाथि डाक्टरहरुको व्यवहारले झन् पीडा थप्छ।’

दिनेश गौतम