प्रचण्ड पिट्नेलाई यसरी जोगाएँ

हाम्रो पार्टी नेकपा एकीकृत माओवादीले नेपाल सम्वत् ११३३ को अवसर पारेर भृकुटीमण्डपमा चियापानको आयोजना गरेको थियो । विगतमा ठूला सार्वजनिक कार्यक्रम गर्दा भित्री सुरक्षाको चाँजोपाँजो मिलाउने जिम्मा वाइसीएलको हुन्थ्यो । गत वर्ष भृकुटीमण्डपमै भएको चियापानमा पनि मञ्च बनाउनेदेखि मञ्चको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी वाइसीएलकै थियो । तर, यसपटक हामीलाई मञ्च बाहेकको मात्रै सुरक्षात्मक जिम्मेवारी थियो । मञ्चको सुरक्षाको काम वुद्धिजिवी संगठनको थियो ।सुरक्षाको औपचारिक जिम्मेवारी नभए पनि चियापान कार्यक्रम सुरु भएपछि अस्तव्यस्तता र भद्रगोलको अवस्था देखेपछि मञ्चबाहिर लाइन मिलाउने काममा हामीले अग्रसरता लियौं । हात मिलाउन आएका मान्छेहरुको साथमा रहेको झोला र हेलमेट लगायतका समान लैजान नपाउने व्यवस्था तत्काल गर्‍यौँ ।
हामी उपत्यका वाइसीएलका करिब दुई सयजना कार्यक्रमस्थलमा थियौं । त्यसको समग्र नेतृत्व राजु खड्का र चन्द्रबहादुर थापाले गरेको भएपनि फिल्डमा हामी गर्‍यौँ । राजनीतिक दलका नेताहरूले सम्बोधन गरेर गएपछि चियापान सकियो । मञ्च छेउमा रहेका हाम्रा साथीहरु खाजा खान गएको अवस्था थियो । म मञ्च नजिकै थिएँ । अध्यक्ष प्रचण्डमाथि हात मिलाउन लाइनमा बसेका एक युवाले हात उठाए, उहाँको चश्मा खस्यो । अध्यक्षको सुरक्षामा खटिएका एकजना र प्रधानमन्त्री बाबुराम भट्टराईको सुरक्षामा खटिएका एक प्रहरीमध्ये एकले खुट्टा र अर्काले टाउकोतिर समातेर उसलाई तत्काल तल फाले । त्यो युवक मञ्चको अगाडि पत्रकारका लागि बस्न राखिएको कुर्सीमा बजारियो । लगत्तै उसमाथि त्यहाँ रहेका पार्टी कार्यकर्ताले कुटपिट गर्न थाले ।
घटनाबारे अनभिज्ञ धेरैलाई र खास गरी प्रहरीलाई पनि त्यहाँ के हुँदैछ भन्ने अनुमान लगाउन कठिन भयो । के भएको हो भन्नेबारे हामी एक-दुई जनाबाहेक अरुले चाँडो थाहा पाएनन् । हामीसँगै महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी जीवन श्रेष्ठ र उनीसँग रहेका तीनजना प्रहरी जवान थिए । आक्रोशित भीडबाट ती युवामाथि लगातार आक्रमण हुन थालेपछि मेरो दिमागमा एक्कासी उसलाई मर्न दिनुहुन्न भन्ने कुरा ‘क्लिक’ भयो । मसँगै थिए वाइसीएल ललितपुरका सदस्य कवि गौतम ‘विनय’ । उनी, म र केही प्रहरी भएर आक्रमणकारीहरूबाट ती युवालाई बल्लतल्ल फुत्काएर भृकुटी मण्डपको गेटसम्म पुर्‍यायौं । तर पनि कुटपिट रोकिएको थिएन ।
अध्यक्ष प्रचण्डमाथि हातपात गनर्एे युवकलाई हामी नै जोगाउन लागेको देखेर हामीलाई चिन्नेहरु यसलाई कुट्न हुने रहेनछ क्यार भन्ने ठानेर पाखा लागे । तर, अरु नयाँले आउँदै पिट्दै गर्न थाले । चियापानमा आएका हामीलाई नचिन्नेहरूले विनय र ममाथिसमेत हातपात गरे । वा, भनांै उसलाई प्रहार गर्दा हामीलाई पनि लाग्यो । प्रहरीहरुले उनलाई भ्यानमा राखेर बाहिर लैजाने कुरा गरे । मैले भनें ‘ड्राइभर र गाडीको पत्तो छैन, गाडी यहाँसम्म आउञ्जेल यसरी नै कुटपिट भइरहने हो भने यिनी मर्छन् ।’ त्यहाँ रोकिनु भनेको थप आक्रमण निम्त्याउनु थियो । मलाई लाग्यो, यो गल्ती गर्नुहुन्न । गाडीमा राखेर लान थालेको बुझेपछि भीडमा रहेका केहीले मूलगेट नै बन्द गर्न खोजे । त्यसपछि जति ढिला गर्‍यो, त्यति परिणाम बेठीक आउँछ भन्ने निस्कर्षका साथ उसलाई नजिकै रहेको पुुरानो महेन्द्र प्रहरी क्लब र हालको महानगरीय प्रहरी सहायता कार्यदलभित्र लगियो । त्यो युवालाई सुरक्षित गरेर बाहिर आउँदा प्रहरी कार्यालयको गेटमा हाम्रा साथीहरु चर्को नारा लगाइरहेका थिए । नारा लगाउने साथीहरूको माग थियो, अध्यक्षमाथि आक्रमण गर्नेलाई सार्वजनिक गेरर फाँसी दिनुपर्छ ।
अध्यक्ष प्रचण्ड हाम्रो शीर्ष नेतृत्व हुनुहुन्छ । उहाँलाई आक्रमण गर्नेलाई छुट दिनुपर्छ भन्ने आशय त मेरो पनि थिएन । तर, उसलाई कुटेर मारिएको भए के नेपालको राजनीतिमा त्यो एउटा असामान्य परिघटना हुने थिएन ? सरकारको नेतृत्व गरिरहेको पार्टीका कार्यकर्ताको कुटाइबाट सार्वजनिक स्थलमा कसैको ज्यान गएको भए के त्यसको परिणाम सहज हुन सक्थ्यो ? मैले रामहरि श्रेष्ठ प्रकरण दोहोरिने खतरा देखेर उसलाई बचाउनुपर्छ भन्ने निर्णय लिएको हुँ । आफ्नो शीर्षस्थ नेतृत्वमाथि आक्रमण हुँदा रीस उठ्ने कुरालाई सामान्य मान्न सकिएला, तर के उ मरेको भए त्यसको सबैभन्दा बढी नोक्सानी हाम्रो पार्टी र माओवादी आन्दोलनमा पर्ने थिएन ? तर, त्यतिखेर हाम्रो पार्टीका केही नेतादेखि कार्यकर्तासम्मले यो कुरामा विचार पुर्‍याएजस्तो मलाई लागेन ।
शान्तिप्रक्रियामा आएदेखि नै अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतृत्वलाई युद्ध अपराधीको अभियोगमा ‘हेग’ मा उभ्याउनुपर्छ भन्ने अभियानमा एकथरि अभिजात वर्गका मानिसहरु लागेकै छन् । मेरो विचारमा यदि त्यो युवक कुटपिटबाट मरेको भए प्रचण्डलाई हेग लाने बाटो खुल्न सक्थ्यो । त्यतिखेर हेग अभियानमा लागेकाहरू सबैभन्दा खुसी हुने थिए । देशको राजनीतिले नै अर्को मोड लिन पनि सक्थ्यो ।राजनीतिक नेतृत्वमाथि थप्पड प्रहार भएको यो नै पहिलो घटना होइन । यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथि सुनसरीमा र काँग्रेस सभापति सुशील कोइरालामाथि काठमाडौंमै कार्यकर्ताले हात लगाएका थिए । ती दुवै घटनामा संलग्नले माफी पाउने, अनि गलतै भएपनि प्रचण्डमाथि हात उठाउनेले चाहिँ सार्वजनिक सञ्चारमाध्यमका अगाडि दिनदहाडै मृत्युदण्ड पाएको भए के हुन्थ्यो होला ? यो कुरा नबुझेर ममाथि पार्टीभित्रैका केही मान्छेले अनेकथरि आरोप लगाए र लगाइरहेका छन् । मलाई मान्छेहरूले भनिरहेका छन् । ‘प्रचण्डलाई मायाँ गरेजस्तो पनि गर्ने अनि आक्रमणकारीलाई पनि जोगाउने’, यो द्वैध चरित्र भयो ।
कतिपयले समाचार दैनिकको प्रसंगलाई पनि यसैमा जोड्ने गरेको सुनेको छु । पार्टीको योजना र हाम्रो पहलमा समाचार दैनिक सात महिनासम्म चल्यो । पछि त्यो बन्द भयो । समाचार बन्द भएपछि म एकपटक मात्र लाजिम्पाट पुगेको छु । त्यसयता मेरो र प्रचण्डबीच भेटघाट पनि भएको छैन । समाचारको प्रकाशन जसरी बन्द भयो, अवश्य पनि त्यसमा मसहित हाम्रो टीमका केही गुनासा छन् । म कसैमाथि आरोप लगाउन त चाहन्न, तर के नेतृत्वको वैचारिक र भौतिक दुवै सुरक्षाका लागि सधैं सचेत भइरहने म प्रचण्डविरोधी र परिणामको ख्यालै नगरी उग्रता देखाउनेहरु धुरुन्धर प्रचण्ड पक्षधर हुनसक्छन् ?
टेलिभिजनको पर्दामा आक्रमणकारी युवालाई जोगाउन मैले खेलेको भूमिका देखेर स्वदेश र विदेशबाट समेत साथीहरुले टेलिफोन गरेर बधाइ दिइरहेका छन् । त्यतिमात्र होइन, हाम्रो पार्टीबाट अलग्गिएर गएको वैद्य माओवादीभित्र यो पहलकदमीबारे सकारात्मक कुरा हुन लागेको छ भन्ने सुनेको छु । जबकि उनीहरूको समूहभित्रका केही मान्छे एउटै पार्टीमा छँदा पनि मप्रति कहिल्यै सकारात्मक थिएनन् । यसबाट पनि मलाई झन् ठीक गरिएछ भन्ने लाग्न थालेको छ । घटनापछि बसेको पार्टी पदाधिकारी बैठकले अध्यक्षमाथि भएको हातपातबारे जुन निस्कर्ष निकाल्यो, त्यसबारे भन्दा पनि बाहिर प्रचारात्मक जे भयो, मेरो विचारमा त्यसो नगरेको भए हुन्थ्यो । निश्चय नै घटना अराजक, निन्दीय र गम्भीर हो । तर, पार्टीका तर्फबाट जसरी त्यसलाई सामान्यीकरण गरिनुपथ्र्यो त्यो हुन सकेन ।