अनलाईन मतदानको निम्ति हेल्प नेपालको अपील

नेपालीहरुले स्थापना गरेको विश्वव्यापी परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको अमेरिका शाखाले चेज कम्यूनिटि कन्टेस्ट (Chase Community Contest CCG) २०१२ मार्फत दुई लाख पचास हजार डलर जित्ने उसको प्रयासमा सहयोग गर्नको निम्ति संसारभर छरिएका नेपालीहरु एवं नेपालका शुभचिन्तकहरुलाई अपील गरेको छ।
उक्त प्रतियोगिताको अन्तमा सबभन्दा धेरै मत प्राप्त गर्ने १९६ वटा च्यारिटि वा परोपकारी संस्थाहरुलाई चेजद्वारा करीब पचास लाख डलर बाँडिनेछ। सबैभन्दा धेरै मत प्राप्त गर्ने संस्थाले दुई लाख पचास हजार डलर पाउनेछ। अन्यले दश हजार डलरदेखि लिएर एक लाख डलरसम्म पाउनेछन्।
“हाम्रो अपीलप्रति हालसम्म निकै उत्साहजनक प्रतिक्रिया प्राप्त भएका छन्। चार दिनभित्र हामीले पांच हजार पांचसय मत प्राप्त गर्न सक्यौं र हामी प्रतिश्पर्धामा अग्र स्थानमा छौं,” हेल्प नेपाल नेटवर्क यूएस च्याप्टर (HeNN USA) का अध्यक्ष अभय श्रेष्ठले बताए। “यही गतिमा हामीलाई समर्थन गरिरहन हामी सबै शुभचिन्तक एवं मित्रहरुलाई हार्दिक अनुरोध गर्दछौं।”
मतदान सेप्टेम्बर १९, २०१२ सम्म मात्र खुला छ।
आयोजकहरुका अनुसार अनलाईन मतदान गर्न केवल तीस सेकेण्ड मात्र लाग्दछ, अनि तीन सजिला कदममार्फत यो पुरा गर्न सकिन्छ।
सर्वप्रथम यस लिंकमा जानुहोस् http://on.fb.me/OXtoBN.
आफ्नो Facebook एकाउण्टमा आफ्नो Username र Password मार्फत लग इन गर्नुहोस्।
Search Charities box मा गएर Help Nepal Network US Inc. टाइप गर्नुहोस्।
त्यसपछि vote लेखेको बटनमा click गरेर मतदान गर्नुहोस्।
‘हामी हाम्रा प्रशासनिक खर्च बेग्लै कोषबाट बेहोर्छौं अनि सहयोगको रुपमा जुटाइएका रकममध्ये प्रत्येक पैसा प्रत्यक्षरुपमा लक्षित कार्यक्रमहरुमै खर्च गरिन्छन्,” HeNN USA का अभय श्रेष्ठले भने। उनले अनलाइन भोटिङमा सहभागी भएर नेपालमा हेल्पनेपाल नेटवर्कले गर्दै आएका राम्रा काममा सघाउन पनि सबैलाई आग्रह गरे।
हेल्प नेपाल नेटवर्कले हालसम्म चालीसभन्दा बढी विद्यालयहरु तथा चालीसभन्दा बढी पुस्तकालयहरु स्थापना गरिसकेको छ भने विभिन्न विद्यालयहरुमा इलेक्ट्रोनिक पुस्तकालयको स्थापनामा सघाएको छ। दुर्गम मुगु जिल्लामा स्वास्थ संस्था सञ्चालन गरिरहेको हेल्प नेपालले काभ्रे जिल्लाको धुलिखेलमा बनाउन थालेको अनाथालय निर्माणको अन्तिम चरणमा पुगेको छ।