नमस्ते


सानो पर्दामा हास्य श्रृंखलाको क्रेज घटेको छैन। हास्य श्रृंखलाका दर्शक बढिरहेका बेला लेखक तथा निर्देशक विजयविक्रम बस्नेतले डिजिटल  फम्र्याटमा तयार पारेको हास्य प्रधान चलचित्र 

'नमस्ते' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। सेक्स तथा एक्सन प्रधान  चलचित्रको लहर चलिरहेको बेला 'नमस्ते' लाई पूर्णरूपमा हास्य प्रधान बताइन्छ। देशव्यापी प्रदर्शन हुन लागेको यो चलचित्रमा दिलीप  रायमाझी, सोनिया केसी, कल्पना शाही, किरण केसी, सुशिल पोखरेल, गोपाल ढकाल छन्दे आदि कलाकारले अभिनय गरेका छन्। यही  चलचित्रबाट मिस्टर मेघालय राजीव हिमाशिव,  सन्तोष तामाङ तथा अपेक्षा अधिकारी नयाँ प्रस्तुतिको रुपमा डेब्यू गर्दैछन्। चलचित्रमा चार  वटा गीत समावेश गरिएको छ जसलाई विकास चौधरीले संगीतबद्ध गरेका हुन्। ज्ञानकुमार चापागाईँले निर्माण गरेको यो चलचित्रमा अष्ट महर् जनको द्वन्द्व निर्देशन छ। अधिकांश छायांकन काठमाडौं उपत्यका भित्रै गरिएको यो चलचित्रका छायांकार लोकचन्द्र थापा हुन्। यो चलचित्रले  सबै वर्गका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ। दुई घण्टा लामो चलचित्र नमस्तेमा नायिकाद्वय सोनिया केसी र कल्पना  शाहीलाई ग्ल्यामरस भूमिकामा प्रस्तुत गरिएको छ। अघिल्लो वर्षको डिजिटल फिल्म एवार्डका केही विधामा मनोनीत भैसकेको यो चलचित्र  निर्माण सम्पन्न भएको करिव एक वर्षपछि दर्शकमाझ पुग्न लागेको हो। पालो प्रणालीअन्तर्गत प्रदर्शन भएकाले नमस्तेलाई दर्शकमाझ आउन  समय लागेको बताइन्छ।