फुलस्टप

नायिका बिनिता बरालले अभिनय गरेको दोस्रो चलचित्र 'फुलस्टप' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। यसअघि 'चपलीहाइट' बाट डेब्यू गरेकी बिनिताले 'फुलस्टप' मा कस्तो अभिनय गरेकी छिन् भन्ने कुराको पर्खाइमा उनका प्रशंसकहरूसमेत छन्।  कमलकृष्णद्वारा निर्देशित यो चलचित्रमा बिनितालाई नायक सविन श्रेष्ठले साथ दिएका छन्। सविन र बिनितालाई पहिलो पटक जोडीका रू पमा प्रस्तुत गरिएको हो। यसअघि उनीहरूले केही म्युजिक भिडियोमा सँगै काम गरिसकेका छन्। सविनलाई दर्शकहरूले यसअघि नायिका रेखा  थापाको जोडिका रूपमा चलचित्र रावण तथा अन्दाजमा देखिसकेका छन्। चलचित्रमा कलेजका विद्यार्थीहरूको वास्तबिक जीवनलाई मुख्य  विषय बनाइएको छ। सस्पेन्स, थ्रिलर तथा एक्सनप्रधान भनिएको यो चलचित्रमा सुस्मिता शाही, आइसा ठकुरी, अनुजा गन्धर्व, राज पुलामी  आदिले पनि अभिनय गरेका छन्। एउटा शैक्षिक भ्रमणको क्रममा निस्किएका विद्यार्थीहरू जंगलको बाटो हुँदै अघि बढ्दा एकपछि अर्को  विद्यार्थीको हत्या हुन थालेपछिको त्रासदीपूर्ण घटनाक्रमलाई चलचित्रको मुख्य  आधार बनाइएको छ। काठमाडौं, नगरकोट तथा गोरखामा  छायांकन गरिएको यो चलचित्रमा जम्मा दुईवटा गीत छन्।