मुस्ताङका स्याउ बोटबाटै बिक्री




कास्की, आश्विन ७ - स्याउका लागि प्रख्यात हिमालपारिको जिल्ला मुस्ताङमा यति बेला धमाधम बोटबाटै स्याउ बिक्री हुन थालेको छ । ठेकेदारले बोटबाटै ठेक्का लिएर जिल्लाका विभिन्न ठाउँमा उत्पादित स्याउ बिक्री गर्न सुरु गरेका हुन् ।
कुनै बेला बजार नपाएर कुहिएर जाने गरेको मुस्ताङको स्याउ बोटबाट बिक्री हुन थालेपछि किसानहरूले बर्सेनि विस्तार गदै लगेका छन् । मुस्ताङमा उत्पादित स्याउ काठमाडौं, पोखरा, म्याग्दी, बागलुङ लगायतका जिल्लामा लैजान ठेकदारहरूले बोटैबाट ठेक्का लिने गरेका हुन् । दसैं तथा तिहार नजिकै आइरहेको बेला मुस्ताङको स्याउ कोसेलीको रूपमा जिल्लाबाहिर पुग्ने गरेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार यसपटक बोटबाटै धमाधम ठेक्का लिएर स्याउ बिक्री हुने क्रम चलेको छ ।
कार्यालयकाले दिएको जानकारी ३० टनभन्दा बढी बोटबाट बिक्री भइसकेको र यो बिक्री हुने क्रम निरन्तर चलेको छ । भदौको अन्तिम साताबाट सुरु भएकेा स्याउ बिक्री हुने क्रम मंसिर महिनासम्म चल्ने गर्छ । 'अघिल्लो वर्षभन्दा यस वर्ष स्याउ उत्पादन राम्रै छ,' बागबानी अधिकृत नारायण काफ्लेले भने, 'अधिकांश कृषकले बोटैबाट स्याउ बिक्री गरेका छन् ।' उनका अनुसार अघिल्लो वर्ष ३ हजार ७ सय टन स्याउ उत्पादन भएकामा यस वर्ष दस प्रतिशत उत्पादनमा वृद्ध हुने अनुमान छ । बाटोघाटोको सुविधा र स्याउको उत्पादन राम्रो भएकाले कृषकहरूसमेत उत्साही देखिएका छन् ।
हवाई मार्गबाट समेत स्याउ जिल्लाबाहिर खपत हुँदै आएको छ ।
किसानहरूले बोटबाटै ६० देखि ८० रुपैयाँ किलोमा स्याउ बिक्री गरिरहेका छन् । काफलेले हावापानी, माटो  र वातावरणले अन्य बालीभन्दा स्याउ राम्रो र उत्पादन पनि वृद्धि हुँदै गएकाले स्थानीय खाली जग्गामा समेत स्याउ खेती गर्न उत्साही भएको बताए । जिल्लामा गत ६/७ वर्षयता मोटरबाटो पुगेपछि यहाँको स्याउ सजिलो बजारमा पुग्न थालेपछि माग बढी हुन थालेको हो ।
जोमसोमस्थित इको ग्रो सहकारी संस्थाका अध्यक्ष कुलबहादुर थकालीले स्याउ उत्पादन राम्रो भएकाले यति बेला बोटबाटै जान थालेकाले कृषकलाई उत्साही बनाएको बताए । जिल्लाको मार्फा, जोमसोम, टुकुचे, मुक्तिनाथ, छुसाङ लगायतका गाउँमा स्याउ उत्पादन हुँदै आएको छ । टुकुचेका सबैजसो किसानले बोटबाटै स्याउ बिक्री गरिसकेका छन् ।
जिल्लामा रेड डेलिसियस, गोल्डेन डेलिसियस रिचाइर्ड र  रोयल डेलिसियस जातको झन्डै  ४ सय हेक्टर जमिनमा स्याउ खेती हुँदै आएकामा अहिले सहकारी मार्फत जमिनको विस्तार भएको छ । मुस्ताङको स्याउबाट बन्ने सुकुटी ब्रान्डी जुस पनि त्यत्तिकै लोकपि्रक मानिन्छ । स्याउको गुणस्तर जोगाउन जिल्ला कृषि विकास कार्यालयले कृषि सहकारी मार्फत ७५ प्रतिशत छुट प्रदान गर्दै आएको  छ ।
मुस्ताङमा १९ हजार स्याउका बिरुवा उत्पादन हुँदै आएकोमो यसपटक जुम्लाबाट १ लाख बिरुवा भित्र्याएर खेती विस्तार गरिएको हो ।