मलेसियामा मृतक परिवारलाई तीन लाख सहयोग


महश्वर चामलिङ राई, उदयपुर, फागुन २०- एक महिनाअघि मलेसियामा सडक दुर्घटनामा परी ज्यान गुमाउन पुगेका खोटाङका कमलकुमार राईको परिवारलाई तीनलाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मलेसियाको जोहोरबारुस्थित पासिर गुडाङमा रहेको हवाइट हर्स नामक कम्पनीमा काम गर्ने सिलसिलामा गत माघ ११ गते ज्यान गुमाएका जिल्लाको राजापानी ७ का राईको परिवारलाई उक्त सहयोग शुक्रबार प्राप्त भएको हो।
-->


खोटाङ सेवा समाज मलेसियाको पहलमा हवाईट हर्समा कार्यरत सम्पूर्ण कामदारबाट व्यक्तिगत चन्दा संकलन गरेर सो रकम पठाएको मृतक राईको परिवारले जनाएको छ। नेपाली तथा अन्य देशका कामदारबाट सङ्कलित ११ हजार एकसय ५९ रिङ्गेट (मलेसिएन मुद्रा) मृतकका पिता जयबहादुर राईलाई उपलब्ध गराइएको समाजले जनाएको छ।

मृतकले पाउने विमा र राहत रकम भन अहिलेसम्म मलसिया सरकारले उपलब्ध नगराएको समाजले जनाएका छ। त्यसका लागि मलेसिया सरकारसँग पहल भईरहेको र प्राप्त हुनेवित्तिकै मृतकको परिवारलाई पठाईदिने जनाएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि मलेसिया पुगेका राईको मृत्युपछि राई परिवारको विचल्ली भएको भन्दै समाजले सहयोग संकलन थालेको थियो। तरकारी किनेर फर्कने क्रममा कामदार बसको ठक्करले राईको माघ ११ गते राति घट्नास्थलमै मृत्यु भएको थियो।
-->