हारसँगै छुट्टिए मेघराज



काठमाडौं , आश्विन ७ - फ्रेन्ड्सको जित जति अस्वाभाविक थिएन, त्यो भन्दा धेरै गुणा अस्वाभाविक रह्यो, प्रशिक्षक मेघराज केसी थ्री-स्टारबाट छुट्टिनु । शनिबारका दुई खेल उनको घोषणाअघि लगभग ओझेलमा पर्ने खालका रहे । प्रतियोगिताका दुई खेलबाट एक अंकमात्र बटुलेपछि थ्री-स्टार नकआउट चरण पुग्न असफल हुने सम्भावना बढेको छ र प्रशिक्षकले यसैलाई कारण मानेका छ, क्लब छाड्ने ।
'मेरा लागि थ्री-स्टार नेपालको नम्बर-१ क्लब हो, त्यसैले टिमको खराब प्रदर्शनको नैतिक जिम्मेवारी लिंदै छाड्दै छु,' मेघराजले भने, 'म क्लबका सबै पदाधिकारी र समर्थकसामु माफी माग्न चाहन्छु ।' उनले प्रस्तुत गरेको त्यो कूटनीतिक कारण थियो । वास्तविक कारण भने उनले खुलाउन चाहेनन् । स्रोत भने प्रशिक्षक र क्लबमा भित्रिएका केही नयाँ स्टार खेलाडीसँग राम्रो सम्बन्ध स्थापित हुन नसक्नुलाई मेघराज छुट्टनिुको कारण मान्छन् ।
थ्री-स्टारका केही ठूला स्टारको 'रवाफ' ले प्रशिक्षकको अधिकारको सीमा नाघ्नु र टिमभित्र अनुशासन विस्तार पातलिंदै जानु नै मेघराजले क्लब छाड्नुको स्पष्ट र एकमात्र कारण मानेका छन् । दशरथ रंगशालाको मैदानमा थ्री-स्टारका लागि केही स्वणिर्म रहेन । उसका केही प्रमुख खेलाडीको प्रदर्शन राम्रो थिएन र उनीहरूको 'कमिटमेन्ट' माथि शंका गर्ने ठाउँ पर्याप्त थियो । फ्रेन्ड्सका लागि निर्णायक गोल प्रकाश बुढाथोकीले ४० औं मिनेटमा गरे । विष्णु केसीको हेड प्रहारलाई थ्री-स्टार गोलरक्षक किरण चेम्जोङले राम्रोसँग नियन्त्रण गर्न सकेनन् र त्यसैमा प्रकाशले गोल गरेका हुन् । फ्रेन्ड्स खेलको अन्त्यतिर दस खेलाडीमा सीमित रह्यो ।
कप्तान सागर थापा ८७ औं मिनेटमा दोस्रो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे । फ्रेन्ड्स प्रशिक्षक दिलकाजी गुरुङ जितमा खुसी रहे र उनले भने, 'अब हाम्रो नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ ।
समूह 'ए' मा फ्रेन्ड्ससँगै एपीएफको तीन-तीन अंक भएको छ । थ्री-स्टार र मध्यपुर युथ एसोसिएसनको समान एक/एक अंक छ । थ्री-स्टारको नकआउट चरण पुग्ने सम्भावना अझै कायम छ र उसले आफ्नो अन्तिम खेलमा एपीएफको सामना गर्नेछ । शनिबारको पहिलो खेलमा बौद्धले जावलाखेलमाथि १-० को जित निकाल्यो । निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा सम्भव भएको थियो । जावलाखेलका नवीन गुरुङले पेनाल्टी एरियामा सुमन लामालाई लडाएपछि बौद्धलाई पेनाल्टीको अवसर प्राप्त भएको थियो । त्यसमा सब्सिटच्युट गोविन्द थापाले सजिलै गोल गरे ।
बौद्ध १-० जावलाखेल
फ्रेन्ड्स १-० थ्री-स्टार