यौन सम्पर्क गर्दा समस्या त हुँदैन ?



म १९ वर्षको अविवाहित पुरुष हुँ। मेरो लिंगको टुप्पोको बाहिरी छाला, लिंग उत्तेजित भएको बेलामा फोल्ड हुँदैन। पहिले फोल्ड हुन्थ्यो अहिले  हुँदैन। यसले यौन सम्पर्क गर्दा समस्या त हुँदैन ? मैले अहिलेसम्म यौनसम्पर्क गरेको छैन। उचित सल्लाहको पर्खाइमा छु।    

७६६९

हामीलाई थाहै छ, पुरुषको लिङ्ग एक विशेष छालाले छोपिएको हुन्छ। सामान्यतः लिङ्गको वरिपरि मात्र नभै यसको केही भाग लिङ्गभन्दा पनि  अगाडितिर समेत आएको हुन्छ। लिङ्गको मुण्डलाई छोप्ने उक्त छालाको विशेष पत्रलाई अग्रचर्म भनिन्छ। यसैलाई अंग्रेजीमा प्रीप्यूस अथवा फोर स्किन भनिन्छ। यो छाला जन्मजात नै लिङ्गसँग नटाँसिई अर्थात् फर्काउन मिल्ने गरेर आएको हुँदैन। लगभग ९६ प्रतिशत  बालकमा जन्मदाखेरि लिङ्गमुण्डसंग अग्रचर्म टाँसिएको हुन्छ। बालक ठूलो हुँदै जाँदा त्यो बिस्तारै छुट्टिँदै जान्छ। ५ देखि १२ वर्षका बालकहरूमा  गरिएको अध्ययनमा यस्तै २० प्रतिशतमा राम्रोसँग नछुट्टिएको पाइएको थियो। यसलाई बाल्यावस्थामा फर्काउन मिल्दैन भने किशोरावस्थामा  पुगेपछि भने फर्काउन मिल्छ। यस्तै १७ बर्षको उमेरसम्ममा सामान्यतः छुट्टइसक्ने भएकाले यो छालालाई पछाडितिर फर्काउन मिल्ने हुन्छ, तर  सबैमा यस्तो हुँदैन, यस्तै १० देखि २० प्रतिशतमा फर्काउन गाह्रो हुन्छ। अग्रचर्मको प्वाल साँगुरिएका कारण छाला पछाडि फर्काउन नसकिने  स्थितिलाई फोमोसिस भनिन्छ। तपाईंले पहिले फर्किन्थ्यो, अहिले फर्किंदैन भन्नुभएको छ। कतै संक्रमण भएको थियो कि ? 

लिङ्ग उत्तेजित हुँदा यसले असजिलो गर्‍यो भने यौनसम्पर्कमा पनि असजिलो वा पीडा हुन्छ। उपचारका लागि एउटा सानो शल्यक्रिया गर्नुपर्ने  हुन्छ। अग्रचर्म काट्न गरिने शल्यक्रियालाई सर्कमसिजन भनिन्छ। यो शल्यक्रिया अग्रचर्म साँघुरो भएको स्थितिका लागि प्रभावकारी  उपचार हो। यस किसिमको शल्यक्रियाका लागि अस्पताल भर्ना हुनुपर्ने आवश्यकता पर्दैन। यस्तो किसिमको शल्यक्रिया दस-पन्ध्र मिनेटमै  सकिन्छ। वयस्कहरूलाई शल्यक्रिया गर्दा बेहोस गर्नुपर्ने आवश्यकता पनि पर्दैन। दुखाइ मार्ने सुईको प्रयोग नै पर्याप्त हुन्छ। शल्यक्रिया गरेको  केही बेरपछि घर जान सकिन्छ। शल्य चिकित्सकको सल्लाहबमोजिम पीडा कम गर्ने तथा अन्य औषधीको सेवन गर्नुपर्ने हुन सक्छ। त्यसबाहेक  केही दिनपछि आफ्नो घाऊ जँचाउन पुनः शल्यचिकित्सक कहाँ आउनुपर्छ। राम्रो स्थानमा दक्ष चिकित्सकवाट शल्यक्रिया गराउँदा यसका  नकारात्मक असरहरू एकदमै न्यून रहेको देखिन्छ। अग्रचर्म काटिएको स्थानको संक्रमण तथा रक्तश्राव प्रायःजसो हुने असर हुन्। काटेको  स्थानमा रगत जम्मा हुनेजस्तो समस्या देखिन सक्छ। कुनै पनि ठूला अस्पतालको शल्यचिकित्सा विभागमा सम्पर्क राखी यो शल्यक्रिया गराउन  सकिन्छ। 

लिङ्गमा कुनै पनि विकृति देखिनु अर्थात् सामान्य भन्दा फरक देखिनु वा त्यसको उपचारमा शल्यक्रिया गर्नुपर्ने जस्तो कुरा हुनुले स्वाभाविक  रूपमा यौन सक्षमतामा असर पर्छ कि भन्ने विचार वा शंका-उपशंका उठ्नु स्वाभाविक हो। अग्रचर्मले भौतिक रूपमा लिङ्गको सुरक्षा त गर्छ  नै, तर यो यौन संवदेनशील पनि हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। यो अग्रचर्म यौन सन्देश ओसार-पसार गर्ने स्नायुले भरिपूर्ण हुन्छ। लिङ्गको  उत्तेजना र यौनसम्पर्कको घर्षणका साथै हुने तन्काईले यौन सुख प्राप्त गर्नमा सहयोगी भूमिका खेल्छ।

यौन मनोवैज्ञानिक

यौन शिक्षा दिने चलन कसरी प्रारम्भ भयो ? यौन शिक्षा के हो र नेपालमा कुन उमेरका व्यक्तिलाई यौन शिक्षा दिनुपर्छ ?

सागरमान श्रेष्ठ, काठमाडौं 

करूणा कुँवर, मनोविद्

रूसका एक जार शासकले आफ्नी श्रीमती पारिवारिक डाक्टरसँग लहसिएको थाहा पाएर त्यसको रहस्य खोतल्न थालेछन्। श्रीमतीले उसको  लामो लिंगबाट आफू अत्यन्तै प्रभावित भएको र आनन्दित भएको सुनाएपछि रिसले चुर जारले ती डाक्टरको लिंग काटिदिएछन। काटेर  राखिएको उक्त लिंग अक्सन गरियो। बेलायतले उक्त लिलामी सकारेपछि अहिले त्यो यौन उत्तेजना नहुने महिलालाई देखाएर, ती डाक्टर र  जारकी श्रीमतीबीचको सम्बन्धको कथा सुनाएर यौनचाहना जगाउने प्रयास गरिन्छ। यौनका कुरामा लुकाउनु हुन्न भन्ने एउटा उदाहरण हो यो।  यौन सबैको अनिवार्य आवश्यकताको विषय हो, तर यो कति आवश्यक हो भनेर हामी कहिल्यै यसको सार्वजनिक चर्चा गर्दैनौं। निश्चय नै ने पालीहरूमा यौन शिक्षा लिने उपयुक्त माध्यम पनि छैन। त्यसैले यौन शिक्षाको कमी छ भन्न कर लाग्छ। मानव यौनिकतासँग जैविक,  भावनात्मक, शारीरिक एवं आध्यात्मिक पक्षहरू गाँसिएका हुन्छन्। जैविक पक्ष प्रजनन् स्वस्थ्यसँग सम्बन्धित हुन्छ। भावनात्मक वा शारीरिकमा  दुई व्यक्तिबीचको सामीप्यता र उनीहरूले प्रस्तुत गर्ने भावना, माया, विश्वास र हेरचाह (केयरिङ) आदि पर्छन्। आध्यात्मिक पक्षमा दुई  व्यक्तिबीच कतै न कतै सम्बन्ध छ भन्ने बुझिन्छ। 

परम्पराअनुसार किशोर-किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन, बरु यसलाई खुलेर कुरा गर्न नहुने विषयका  रूपमा प्रस्तुत गरिन्छ। एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदा सम्म पनि यौनको विषयमा छलफल गरिँदैन। यौनका विषयमा  धेरैजसो साथी, संचार वा बाहिरी माध्यमबाट मात्र थाहा हुन्छ। व्यवस्थित र योजनाबद्ध तवरले दिइनेभन्दा यसरी प्रवाहित जानकारीहरू अपयार् प्त हुन्छन् र त्यसले गर्दा फरक मान्यता तथा ज्ञान सिक्ने सम्भावना हुन्छ। यस्ता जानकारी किशोर-किशोरीको पहिलो चरणमा अपर्याप्त हुँदा  विभिन्न यौनसँग सम्बन्धित विकृतिहरू आउन सक्छन्। किशोरावस्थामै यौनसँग सम्बन्धित जिज्ञासाहरू बढी हुन्छन्, तर हामी जानी-नजानी  त्यही बेला यौनका रहस्यमय विषयहरूमा कम जानकारी दिइरहेका हुन्छौं। यसले गर्दा उनीहरूको खुल्दुली अझ व्यापक हुन्छ। पश्चिमा देशहरू  तुलनात्मक रूपमा खुला छन्। तैपनि यौनका विषयमा आवश्यक र प्रभावकारी रूपमा जानकारी नदिइएका कारण त्यहाँ कलिलो उमेरमै गभर् वती हुने गरेका तथ्यहरू सार्वजनिक भैरहेका छन् भने ९० को दशकयता यौनजन्य रोग पनि बढेको पाइएको छ। यसको कारण पनि यौनसँग  सम्बन्धित प्रभावकारी र आवश्यक जानकारीको अभाव नै हो। यिनै समस्याहरू कम गर्न कतिपय देशमा यौन शिक्षामा जोड दिइएको छ।  यद्यपि कतिपय अभिभावक एवं धार्मिक समूहहरूले यौन शिक्षाको विरोध पनि गरेको पाइन्छ।

यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक एवं सामाजिक पक्षहरू गाँसिएका हुन्छन् जसले मानिसलाई लवाइखवाइ, रहनसहन,  उठबसलगायत यौन सम्बन्ध कायम गर्न हुने-नहुने तथा गर्भधारण हुने-नहुनेजस्ता जानकारी दिन्छ। यौन शिक्षाअन्तर्गत आफ्नो समाजमा  स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्बन्धी हरेक शिक्षा पर्छ भन्ने बुझ्नुपर्छ। यौन शिक्षा विद्यालय जाने बालबालिकालाई  दिन सकिन्छ, जसले समाजमा परिवारमा आउन सक्ने हरेक खतरालाई कम गर्छ। यौन शिक्षामा यौनिकताको शिक्षा पनि पर्छ। जस्तै, परिवार  नियोजन, प्रजनन स्वास्थ्य। (बच्चा गर्भमा आउने, राख्ने अनि पाउने) अनि आफ्नो शरीरको चित्र, यौनसँग सम्बन्धित धारणा, यौन आनन्द,  मूल्य-मान्यता, संचार, सम्बन्ध, यौनरोग आदि। यति मात्र होइन, यौन शिक्षाले यौन दुव्र्यवहार, यौनजन्य हिंसाजस्ता आपराधिक क्रियाकलापलाई  पनि कम गर्छ।

सात-आठ वर्षको उमेरदेखि नै यौन शिक्षा विद्यालय, अभिभावकबाट सुरु गर्न सकिन्छ। कतिपय देशमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा  राखिएको छ। स्वास्थ्य, विज्ञानजस्ता विषयमा प्रजनन स्वास्थ्य, यौन रोग एवं शरीरका विषयमा पढाइन्छ। हाम्रो देशमा पनि यी विषयहरू  विद्यालयका केटाकेटीलाई कुनै-कुनै रूपमा पढाइएको पाइन्छ। यस्ता विषयहरूमा खुलेर कुरा नगर्ने, यौनिकताको चर्चा नगर्ने, अभिभावकले  खुलेर नभन्ने जस्ता प्रवृत्तिहरूमा केही सुधार पनि आएको छ। तैपनि हाम्रो समाजमा यौन व्यवहार जस्तै हस्थमैथुन, विवाहअगाडिको यौन  सम्बन्ध, स्वप्नदोष आदि विषयमा अझै खुलेर चर्चा भएको छैन। आमा-बुवालाई के भ्रम हुन्छ भने मेरा छोरा-छोरीले यौनसम्पर्क गरेका छैनन्,  हस्तमैथुन पनि गर्दैनन्। अरूका सन्तानभन्दा सोझा छन्, आदि। यद्यपि यथार्थ त्यस्तो हुँदैन। समाजले यौनलाई खुलेर कुरा गर्ने विषय होइन  भनेका कारण मात्र उनीहरू नखुलेका हुन्।