घट्यो बिदेसिनेको संख्या


काठमाडौं, आश्विन ७ - व्याप्त बेरोजगारीको बीच चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आवको पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बिदेसिनेको संख्या २६ दशमलव ७९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार साउन र भदौमा अघिल्लो आवको सोही अवधिको तुलनामा बिदेसिने कामदारको संख्या घटेको छ । साउन अघिल्लो साउनभन्दा बिदेसिनेको संख्या २७ दशमलव ६९ प्रतिशतले घटेको छ । भदौमा भने २५ दशमलव ७१ प्रतिशतले यो संख्या ओरालो लागेको छ । 'साउन र भदौमा कामको खोजीमा ६० हजार ७ सय ४५ जना कामदार बिदेसिए,' विभागको तथ्यांक भन्छ, 'गत आवको सोही अवधिमा यो संख्या ८२ हजार ९ सय ७३ थियो ।' यस साउनमा काम गर्न ३२ हजार ६ सय ५८ जना बिदेसिए । गत साउनमा यो संख्या ४५ हजार १ सय ६५ थियो । गत भदौमा काम खोज्दै ३७ हजार ८ सय ८ जना बिदेसिएकोमा यस भदौमा यो संख्या ६० हजार ७ सय ४५ पुगेको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने प्रक्रिया र कागजातमा कडाइ गरे पनि बिदेसिने संख्या घटेको  हो । 'सरकारले मागे अनुसारका कागजात कतारका कम्पनीले दिँदैन,' वैदेशिक रोजगार व्यवसायी संघका कुमुद खनालले भने, 'कामदार लैजाने र जाने देशको कानुनमा देखिएको बेमेलले बिदेसिनेको संख्या घटेको हो ।'
यस अवधिमा मलेसिया जाने कामदारको संख्या बढे पनि अन्य प्रमुख रोजगार गन्तव्य मुलुक कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स जस्ता मुलुकमा जाने कामदारको संख्या घटेको छ । गत आवको पहिलो दुई महिनामा १८ हजार २ सय ८१ जना नेपाली कामको खोजीमा मलेसिया पुगेका थिए । तर यो वर्षको पहिलो दुई महिनामा यो संख्या बढेर २६ हजार ५८ पुगेको छ ।
गत आर्थिक वर्षमा आकर्षक रोजगार गन्तव्य बनेको कतार जानेको संख्यामा भने उच्च गिरावट आएको छ । गत आवको पहिलो दुई महिनामा काम खोज्दै २७ हजार ६ सय ८५ जना कतार पुगेका थियो । अहिले यो संख्या घटेर १० हजार ५ सय ३१ पुगेको छ ।
साउदी जाने कामदारको संख्यामा पनि घटेको छ । गत आवको पहिलो दुई महिनामा १७  हजार ७ सय २६ जना कामदार साउदी गएका थिए । अहिले घटेर १४ हजार ७ सय ४६ पुगेको छ ।
यस्तै संयुक्त अरब इमिरेट्स जाने झन्डै आधाले घटेका छन् । गत आवमा १२ हजार २ सय २१ जना त्यहाँ गएकामा अहिले घटेर यो संख्या ६ हजार २ सय ३५ मात्र छ ।
चालू आवको पहिलो दुई महिनामा ५७ हजार ५ सय नेपाली युवाहरू संस्थागत श्रम स्वीकृति लिएर बिदेसिए । यस्तै व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ३ हजार २ सय ६९ जना छन् । व्यक्तिगत र संस्थागत श्रम स्वीकृति लिएर जानेमा ५८ हजार पुरुष छन् भने २ हजार ७ सय ७० जना महिला छन् ।