लभलेटर/केकी अधिकारी (नायिका)



आजको युवापुस्ता प्रेम र सेक्समा उदार हुँदै गएको छ। स्कुलमा सानो कक्षादेखि नै प्रेमपत्र लेख्ने र गर्लफ्रेन्ड-ब्वाइफ्रेन्ड बनाउने चलन बढ्न  थालेको छ। अर्काको देखासिकी भए पनि प्रेमपत्र लेख्ने र प्रतिउत्तर दिने चलनले सबैजसोका ब्वाइफ्रेन्ड-गर्लफ्रेन्ड देखिन्छन्। यद्यपि मलाई  अझैसम्म प्रेमपत्र आएको छैन। प्रेमपत्र नआउँदा म अनाकर्षक पो छु कि भन्नेसम्म परेको थियो। अहिले लाग्छ, मलाई प्रेमपत्र नआउनुको  कारण अर्कै रहेछ। 

मेरो बुवा बद्री अधिकारी पेसाले कलाकार-निर्देशक भए पनि उहाँको आफ्नो विद्यालय पनि छ। बुवाले त्यसको व्यवस्थापन हेर्नुहुन्छ भने ममी  त्यसको प्रिन्सिपल हुनुहुन्छ। अरूको तुलनामा हाम्रो विद्यालय अनुशासनमा निकै कडा मानिन्छ। प्रिन्सिपलदेखि सबै विद्यार्थी थर्कमान हुन्छन्। म  त्यही विद्यालयकी विद्यार्थी भएकाले मलाई घरमै विद्यालयको अनुशासनका सम्बन्धमा सम्झाइन्थ्यो। म विद्यालयमा प्रिन्सिपल म्यामकी छोरी हुँ  भन्नेसम्म बिर्सन्थे। त्यसैले विद्यालयमा कहिल्यै प्रेमपत्र आएन। मलाई प्रेमपत्र पठाउने हिम्मत समकालीनमा मात्र होइन, सिनियरहरूमा समेत  थिएन। मलाई पत्र लेख्नेबित्तिकै त्यो सीधै म्यामकहाँ पुग्छ भन्ने डर उनीहरूलाई हुँदो रहेछ। म भने कहिलेकाहीँ मलाई किन कसैले पत्र लेख्दैनन्  भनेर छटपटिन्थें। 

त्यसो त विद्यालयमा भएको कडाइका बाबजुद पनि मेरा साथीहरूलाई प्रेमपत्र नआउने होइन। विद्यालय छुट्नेबित्तिकै उनीहरूको घुम्न जाने  योजनासमेत मलाई थाहा हुन्थ्यो। सबैका आफ्ना साथीहरू थिए, म भने एक्लै। कक्षाको प्रथम विद्यार्थी भएका कारण पनि मसँग अध्ययनशील  युवक मात्र झुम्मिन्थे। उनीहरूमा मप्रति आकर्षण भएको थाहा नपाउने होइन, तर लभलेटर लेख्ने आँट भने कसैले गरेनन्। 

डिस्टिङसनसहित प्रवेशिका उत्तीर्ण भएपछि अभिभावकले मलाई चिकित्सक बनाउने उद्देश्य राख्नुभयो। यसका लागि धेरै मेहनत गर्नुपर्छ भन्ने  छाप मेरो मनमा सानैदेखि थियो। प्रेम हुनका लागि वा मनपराउनका लागि मानिससँग समय हुनुपर्ने रहेछ। साथीभाइसँग भेटघाट र  कुराकानीबाटै मानिस आकषिर्त हुने हो। प्रवेशिकापछि पनि मैले उक्त वातावरण पाइनँ। एकैपटक एनटिभी प्लसमा नृत्यसम्बन्धी कार्यक्रममा  भाग लिन म पहिलो पटक घर बाहिर निस्किएँ। उक्त कार्यक्रममा म दोस्रो भएँ, लगत्तै केही म्युजिक भिडियोमा काम गर्ने अफर आयो। त्यो  छोटो समयमै म सेलिब्रेटी भैसकेछु। अहिले यो क्षेत्रमा काम गर्न थालेको पनि चार वर्ष हुन लाग्यो। यो अवधिमा पनि मलाई प्रेमपत्र आएको  छैन। टेलिफोनमार्फत मेरो अभिनय मन पराउने धेरै छन्। घरमार्फत मसँग विवाह प्रस्ताव राख्नेहरू पनि छन् भन्ने सुनेकी छु। यद्यपि मलाई  प्रत्यक्ष प्रेम प्रस्ताव राख्ने वा लभलेटर लेख्नेहरू अहिलेसम्म फेला परेका छैनन्। यो खुसीको कुरा हो कि दुःखको ? मलाई नै थाहा भएन।