टेलिकमद्वारा विभिन्न सेवाको शुल्कमा कटौती



काठमाडौ, भाद्र २९ - नेपाल टेलिकमले असोज १ गतेदेखि लागू हुने गरी विभिन्न सेवाको शुल्क कटौती गरेको छ । कम्पनीले आधारभूत टेलिफोन सेवाबाट अर्को अञ्चलको आधारभूत टेलिफोन सेवामा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ लाग्ने व्यवस्था गरेको छ । यो दर पिएसटिएन, सिडिएमए फिक्स्ड, भिस्याटका आधारभूत फोनमा लागू हुनेछ ।
यस्तै पिएसटिएन, सिडिएमए फिक्स्ड (पोष्टपेड) बाट कम्पनीकै पिएसटिएन, सिडिएमए फिक्स्ड टेलिफोनमा गर्ने लोकल कलको महसुल दर प्रतिदुई मिनेटको एक कल हुने गरी प्रति कल १ रुपैयाँ कायम गरिएको छ ।
कम्पनीले यसअघि लोकल कल (जिल्लाभित्र आधारभूत सेवाबाट आधारभूत सेवामा हुने कल) तर्फ बिजनेस आवर, नर्मल आवर र अफ आवर गरी भिन्दाभिन्दै दर शुल्क कायम गरेको थियो ।
केही समय अगाडि कम्पनीले अञ्चल भित्र तथा अन्तर अञ्चल आधारभूत सेवाबाट मोबाइल नेटवर्कमा हुने कल चौबीसै घण्टा प्रति मिनेट १ रुपैयाँ व्यवस्था गरेको थियो ।
यस्तै पिएसटिएन तथा सिडिएमए फिक्स्ड पोष्टपेड सेवामा कायम रहेको न्यूनतम मासिक शुल्क २ सय रुपैयाँमा १ सय ७५ कल गर्न पाउने सुविधा निरन्तरता भएको विज्ञप्तिमा उल्लेख छ ।