'काम-दाम भएन, टिकट देऊ घर फर्किन्छौं'
![]() |
काठमाडौं, भाद्र ३० - मलेसियाको राजधानी क्वालालम्पुरको सेरेम्बानुस्थित 'फार इस्ट फोम इन्ड्रस्टि्रज' मा काम गर्न गएका १२ कामदार र नेपालबाट पठाउने मिलेनियम म्यानपावर कम्पनीका सञ्चालकबीच कान्तिपुरमार्फत गरेको यो संवाद हो । नेपाल सरकारले मलेसियालाई ७० हजार रुपैयाँभन्दा बढी सेवा शुल्क लिन नपाइने भने पनि कामदार बढी शुल्क तिरेर गएका छन् ।
कम्पनीले सम्झौताअनुसार तलब नदिएकाले उनीहरू यसै सातादेखि काम छाडेर बसेको जनाउँदै तुरुन्त नेपाल फर्काउन माग गरेका छन् । 'दुई वर्ष काम गर्दा पनि ऋण तिर्न सकिँदैन, घर के पठाउने ?' १ लाख १० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई बुझाएको बताउँदै शिवगन्ज-९, झापाका २७ वर्षीय टेकेन्द्रबहादुर कुँवरले भने, 'म्यानपावरलाई भन्दा कम्पनीले जति दिन्छ त्यतिमा काम गर भन्छ, त्यतिमा सकिँदैन भन्दा म फर्काउँदिन भनेर धम्क्याउँछ ।'
उनी झापाको दमकस्थित गुडविल म्यानपावर कम्पनीका एजेन्ट एकराज शर्मामार्फत काठमाडौंको मिलेनियम म्यानपावरमा हुँदै मलेसिया पुगेका थिए । शर्मासँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन । मिलेनियम म्यानपावरका सञ्चालक सीताराम रेग्मीले कामदारले भनेअनुसार पारिश्रमिक नपाएको स्वीकार्दै मलेसियामा कम्पनी, एजेन्ट र कामदारसँग कुराकानी भइरहेको बताए । 'कम्पनीका दुईवटा मेसिन बिग्रेर ओटी हुन नसकेको हो, बनेपछि १२ घन्टा होइन १८ घन्टा काम दिन्छु भनेको छ,' उनले कान्तिपुरलाई भने, 'कम्पनीले काम दिन्छु भनेपछि ३ वर्षका लागि भनेर गएका कामदारलाई डेढ/दुई महिनामा टिकट दिएर फर्काउन सकिँदैन ।'
कम्पनीले एउटा मेसिन बिग्रेको जनाउँदै मेसिन बने पनि सम्झौताअनुसार कामदारहरूलाई तलब दिन नसक्ने बताएको छ । उनीहरू ५ सय ४० बेसिक तलब र ओटीसहित मासिक न्यूनतम ८ सय ५३ (करिब २४ हजार रुपैयाँ) को सम्झौता गरेर गएका थिए । 'मेसिन बने पनि कम्पनीले सम्झौताअनुसार तलब दिन सक्दिनँ भनेपछि के हामी यहाँ भात खाएर बस्ने? ' लुम्फाबुङ-७, पाँचथरका नरेन्द्र राईले भने, 'कम्पनी नै खराब छ, म्यानवापरले ढाँटेर पठायो, तुरुन्ट टिकट पठाइदेऊ, हामी घर फर्किन्छौं ।'
उनीहरूले नेपालमा वैदेशिक रोजगार विभागलाई फोन गरेर आफ्नो गुनासो सुनाएको बताउँदै विभागले मलेसियास्थित दूतावासका श्रम सहचारीको नम्बर दिएर सम्पर्क गर्न भनेको थियो । कामदारले दूतावासमा सम्पर्क गरेर गुनासो सुनाएको जनाउँदै 'कि सम्झौताअनुसार तलब कि फिर्ती' को पहल गरिदिन आग्रह गरेका छन् । काम छाडेर घर फर्किन भन्दै बसेका कामदारमा पाँचथरका डम्मर विक, चन्द्र विक, राजकुमार राई, झापामा द्रोण बस्नेत, प्यारे मिया, दीपक साह, इलामका संचराम लिम्बु, रौतहटका राकेश साह, धादिङ सञ्जीव घले र रमेश शर्मा छन् ।
![]() |