संसार बुझेको छु भनेर धक्कु नलगाए हुन्छ
![]() |
रिजन कार्की नेपालको सबैभन्दा फुच्चे वैज्ञानिकमा दरिएका छन्। दस कक्षा पढ्दा-पढ्दै न्यूटनले प्रतिपादन गरेको गुरुत्वाकर्षणसम्बन्धी सूत्रमा कमजोरी रहेको सार्वजनिक घोषणा गर्ने रिजन त्यही सिलसिलामा अमेरिकाको सबैभन्दा ठूलो विज्ञान र प्रविधिको केन्द्र नासा पुगे। नासाका वै ज्ञानिकले उनको चुनौती स्वीकार गरेनन्, तर भविष्यको सम्भावित ठूला वैज्ञानिकका रूपमा उनको सराहना गरे। दोस्रो पटक विश्वकै ठूलो ऊर्जासम्बन्धी अमेरिकी संस्था हेस फाउन्डेसनले रिजनको इन्धनबिनाको पहाडी रेलको सूत्रलाई भने मान्यता दियो। अमेरिका पुगेका बेला त्यहाँका कलेजले पूर्ण छात्रबृत्तिमा पढ्ने निम्तो दिए पनि उनी काठमाडौंमै बिएस्सी पढ्न थालेका छन्। मध्यमवर्गीय परिवारका विराटनगरवासी रिजनसँग साप्ताहिकले उनीजस्ता तीक्ष्ण बुद्धिका युवाहरूका बारेमा लामो कुराकानी गर्यो।
१७ वर्षकै उमेरमा वैज्ञानिकको उपाधि पाउँदा कस्तो लाग्छ ?
खुसी नै लाग्छ। देशका लागि काम लाग्ने केही सूत्र वा उपकरण सिर्जना गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ। केही गर्न नसके त अमेरिकामा विश्वप्रसिद्ध वैज्ञानिकहरूले मलाई दिएको सम्मानको अर्थ पनि रहँदैन।
तपाईंलाई विज्ञानमा मुख्यतया कुन विषयमा चासो छ ?
त्यही वैज्ञानिक सफल हुन्छ, जसले आफ्नो देशअनुसार अन्वेषण गर्न सक्छ। नेपाल पहाडी मुलुक भएकाले यस्तो क्षेत्रमा गर्न सकिने विकास नै मेरो चासोका विषय हुन्। नेपालमा पेट्रोलियम पदार्थ विदेशबाट मगाउनुपर्ने बाध्यताले इन्धनको बचत पनि मेरो चासोको विषय हो।
त्यस्तो कुनै अन्वेषण गर्नुभएको छ ?
मसँग दुई-तीनवटा पहाडी बाटो र इन्धनसँग सम्बन्धित परियोजना छन्। त्यसमध्ये ढुंगा, माटो वा पानीबाट पहाडी क्षेत्रमा चल्ने रेल र उफ्रने कार मुख्य छन्।
उफ्रने कार...?
मैले पहाडको साँगुरो बाटोमा उकालो चढ्दा भ्यागुतोजस्तो उफ्रिने कारको परिकल्पना गरेको छु। यसले अप्ठयारो बाटोमा पनि उफ्रेर गन्तव्यमा पुग्न मद्दत पुग्छ। यसको रमाइलो पक्ष के छ भने उफ्रँदा इन्धन लाग्छ, तर ओरालो झर्दा त्यसमा इन्धन खर्च हुँदैन।
कुनै पनि आविष्कार आर्थिक रूपमा सक्षम हुनुपर्छ, तपाईंका अन्वेषणले त्यो पूरा गर्न सक्लान् ?
विदेशमा प्युनिकलर भनिने पहाडी क्षेत्रमा चल्ने रेललाई हेस फाउन्डेसनले आर्थिक रूपमा सक्षम हुन सक्ने मानेको छ। मेरो अन्वेषण अझ सजिलो खालको भएकाले यसलाई मैले आफ्नै नाम दिएको छु। यो रेल आर्थिक रूपमा किफायती छ, किनभने यसमा ढुंगा, माटो वा पानीको मात्र वैज्ञानिक प्रयोग हुन्छ। उफ्रने कार नेपालमै बनाउन सके आर्थिक रूपमा सक्षम हुन्छ, विदेशमा बनाएर यहाँ ल्याउँदा महँगो पर्छ। फेरि बाटो पनि त्यहीअनुसार पुनर्निर्माण गर्नुपर्ने हुन्छ।
तपाईंलाई अमेरिका जाँदा त्यहाँका वैज्ञानिकहरूले त्यही पढ्ने भए सहयोग गर्ने वचन दिएका थिए रे, किन र्फकनुभयो ?
मलाई त्यहाँको होप कलेजमा निःशुल्क पढाइदिने व्यवस्था मिलाइएको थियो। यद्यपि खानलाई म आफैंले व्यवस्था गर्नुपर्ने हुन्थ्यो। त्यसका लागि नेपालबाट पैसा पठाउन मेरा अभिभावकहरू सक्षम हुनुहुन्न। म काम गरेर पढ्न चाहन्नँ। फिजिक्सजस्तो विषय अध्ययन गर्दा काम गर्न भ्याइ ँदैन। कलेजले पनि मबाट धेरै आशा गरेर निःशुल्क पढ्ने व्यवस्था मिलाएको थियो, बाहिर काम गरेर पढ्दा त्यो आशा पूरा गर्न सकिँदैन कि भन्ने लागेर फर्किएको हुँ।
नेपालमा पढेर सोचेजस्तो उपलब्धि हासिल गर्न सक्छु भन्ने लाग्छ ?
सिस्टम राम्रो भए अमेरिकै जानुपर्छ भन्ने लाग्दैन। पढ्ने कुरा त उही हो, ल्याब, टेक्निसियन एवं पढाउने शैलीका कारण अमेरिका वा विदेश राम्रो भनिएको हो। यहाँ पढाउने सिस्टम राम्रो भए युवाहरूले विदेश पलायन हुनुपर्दैन। मैले प्लस टु पढ्दा कलेजलाई केही सुझाव पनि दिएको थिए र अन्वेषण गर्ने पैसा पनि लिएको थिएँ। यसमा विद्यार्थीहरू पनि केही एक्टिभ हुनुपर्छ।
तपाईं भर्खरको युवा पनि हो, नेपालको के कुरा राम्रो लाग्छ ?
आफ्नो देश भएका कारण सबै कुरा राम्रो लाग्छ। यदि यसमा 'आफ्नो' हटाइदिने हो भने केही पनि राम्रो छैन।
जस्तो ?
शिक्षाको सिस्टम खराब हो। हामी फरक तरिकाले पढ्न चाहन्छौं, अभिभावक र शिक्षक भने उनीहरूले भनेकै कुरा ठीक हो भन्ने मान्छन्। त्यो ठीक छैन। प्लस टुसम्मका स्कुलहरू रिजल्ट ओरियन्टेड छन्। उनीहरूलाई जसरी पनि धेरै विद्यार्थीलाई धेरै नम्बर ल्याएर पास गराउनु छ, चाहे उनीहरू क्वालिटीका हुन् कि नहुन्। प्लस टुभन्दा माथि सबैको ध्यान विद्यार्थीलाई कसरी जागिरे बनाउने भन्ने छ। हामीले जागिरे मनस्थितिबाट पढेर कहिले देशलाई बनाउने ? जागिर भन्नेबित्तिकै काम अगाडि आउँछ, जबकि देशलाई जागिरे होइन, क्रिएटिभ व्यक्तिहरू चाहिएको छ।
युवाहरू आफ्ना शिक्षक र अभिभावकका बारेमा के सोच्छन् ?
शिक्षक र अभिभावकहरू मेरा विद्यार्थी वा सन्तानलाई केही थाहा छैन, उनीहरू केही बुझ्दैनन् भन्ने मान्छन्। जबकि उहाँहरूलाई इन्टरने टसम्म चलाउन आउँदैन, संसार कहाँ पुगिसक्यो थाहा छैन। हामी कोठामा बसेर संसार नियालिरहेका हुन्छौ। ठूलो जेनेरेसन ग्याप छ।
कतिपय अवस्थामा युवालाई फ्री छाड्दा बिगि्रएका उदाहरण पनि छन् नि, अभिभावकहरूलाई चिन्ता हुनु गलत हो र ?
हामी साथीभाइहरू यस विषयमा पर्याप्त बहस गर्छौं। वास्तवमा अभिभावकहरूले वाच गर्ने हो, यो गर, त्यो नगर भनेर अर्डर गर्ने होइन। कुनै कुरामा फोर्स गरेपछि उसभित्र रहेको क्रिएटिभिटी मर्न थाल्छ।
अभिभावकले तपाईंजस्ता युवालाई कसरी सम्झाउनुपर्छ त ?
उसलाई मनी र लाइफको भ्यालु सिकाउनुपर्छ। धनी छु भनेर छोराछोरीलाई धेरै पैसा दिने र गरिब छु भनेर छोराछोरीका अघि लाचार हुने दुवै काम राम्रो होइन। यसले उनीहरूलाई म ठूलो रहेछु वा म सानो रहेछु भन्ने कुरा थाहा हुन्छ। कुनै स्थानमा नपुगुन्जेल उसले यी कुरा थाहै पाउनु हुँदैन। धनीका छोराछोरीमा घमन्ड बढ्ने र गरिबका छोराछोरीमा हीनताबोध हुने काम कुनै पनि आमाबुबाले गर्नु हुँदैन।
तपाईंले त्यस्तो अनुभव गर्नुभएको छ ?
मैले देखेकै कुरा गरेको हो। मैले पढ्ने स्कुल कलेजमा धेरै युवा यस्ता छन्, जसका लागि पैसा ठूलो कुरा होइन। मैले उनीहरूजति अपरच्युनिटी पाए कति काम गर्थें, कति अन्वेषणसम्बन्धी सामग्री किन्थें भन्ने लागिरहन्छ।
युवाहरूमा प्रगति गर्ने बेलामा प्रेम र यौनजस्ता भावना पनि तीव्र रूपमा बढ्छ, कसरी म्यानेज गर्नुहुन्छ ?
नेपालमा केटाहरू त लभ र सेक्समा फ्रीजस्तै छन्, युवतीहरू अलि छैनन्। उनीहरूलाई समाजको डर, अभिभावकको डर, अनि विवाहपछि के गर्ने भन्ने डर हुन्छ क्यारे। युवतीहरू पनि मनमनै फ्री भएर हिँड्न पाए हुन्थ्यो भन्ने सोच्छन्, तर सक्दैनन्। यसले गर्दा केटाहरू सेक्सका लागि गलत बाटो रोज्न थाल्छन्। केटीहरू मानसिक रूपमा पीडित अनुभव गर्छन्। मेरो विचारमा समाज सेक्समा रिजिट नभए युवतीहरू मन परेको व्यक्तिसँग निस्फिक्री हिडडुल गर्न पाउँथे। उनीहरूको ध्यान अरुतिर जाँदैनथ्यो।
सेक्स फ्री नभएका कारण समस्या आएको छ भन्न खोज्नुभएको हो ?
इन्टरनेटबाट हामी लेटेस्ट कुरा थाहा पाउँछौ। सेक्स त जीवनकै अभिन्न अङ्ग भैहाल्यो नि। विदेशमा मन मिल्नेबित्तिकै जे कुरा पनि सजिलै पाउन सकिन्छ, यहाँचाहिँ किन समस्या भन्ने लाग्छ। मैले धेरै साथीले प्रेम र सेक्सका कारण पढाइमा राम्रोसँग मन नलगाएको देखेको छु। यो खानेकुराजस्तै, पहिरनजस्तै, नेटजस्तै किन सरल र सहज छैन भन्ने सबैले महसुस गछौं र पीडित हुन्छौं।
राजनीतिलाई युवाहरू कसरी हेर्छन् ?
वकवास।
किन ?
सबैले गाली गरिरहेका छन्, तैपनि उनीहरू किन राजनीति गरिरहेका छन् ? हामीलाई चाहिँ यसो नगर, उसो नगर भन्छन्। उनीहरू चाहिँ कसैले भनेको नमान्ने, यस्तो पनि हुन्छ, ठूला मान्छेको संस्कार ?
पत्रपत्रिकामा नेताहरूका बारेमा नकारात्मक कुरा बढी प्रकाशन हुने भएकाले राजनीतिलाई नराम्रो भनिएको हो कि ?
हामीजस्ता धेरै युवा नेपालका थोरै मात्र पत्रपत्रिका हेर्छौ। बढी समय नेटमै बितिरहेको हुन्छ। नेटमा हामी विश्वमा कुन देशले आफ्ना नागरिकलाई कसरी धेरै सम्मान गर्छ, त्यसका लागि कसरी अवसरहरू जुटाउँछ भनेर पनि हेर्छौ। नेपालमा त्यही कुरा खोज्दा पाउँदैनौं।
![]() |