यौन जिज्ञासा र समाधान

मैले कसरी उक्त घटना सफल भएको होइन भन्ने ?






म २० वर्षकी भएँ। मैले आफ्नो केटा साथीसँग यौनसम्पर्क गरेकी थिएँ। उसले मलाई एकछिन मात्र बेस्सरी योनिमा दबाब दिएको थियो, तर  उसको लिंग मेरो योनिमा कत्ति पनि पसेन। एकछिनपछि मेरो धेरै रगत गयो। किन यस्तो भएको ? सहवास सफल नहुँदा पनि यस्तो हुन्छ र ?  मैले अहिले अर्कै केटासँग विवाह गरेकी छु। उसले मलाई शंका मात्र गर्छ। मैले कसरी उक्त घटना सफल भएको होइन भन्ने ? 

६४५७३

किन रगत आएको होला ?  

तपाईंले आफ्नो केटासाथीसँग गर्न खोज्नुभएको यौनसम्पर्क पहिलो थियो कि थिएन स्पष्ट लेख्नुभएको त छैन, तर सम्भवतः पहिलो नै थियो  होला भन्ने मानेका छौं। लिङ्ग योनिमा प्रवेश गर्न नसक्नुका अनेक कारण हुन सक्छन् तर अहिले त्यसको चर्चा नगरौं। सफल नभए पनि रगत  आउने सन्दर्भको कुरा गर्दा, तपाइर्ंको योनिमा लिङ्ग प्रवेश गराउन खोज्दा तपाईंको योनिच्छद अर्थात् योनिद्वारमा भएको छालाको पातलो  झिल्ली च्यातिएका कारण रगत आएको हुनसक्छ। यसका लागि पूरै लिङ्ग योनिमा प्रवेश गर्नुपर्छ भन्ने पनि छैन। तपाईं र तपाईंको केटासाथी  पहिलो यौनसम्पर्कको जोसमा भएका कारण कतिपय कुरा थाहा वा सम्झना नहुन सक्छ। तपाईंको कुराअनुसार त्यतिबेला महिनावारी नभएकै  मानेका छौं। अर्कातिर जबरजस्ती योनिमा लिङ्ग पसाउन खोज्दा योनिमा चोटपटक लागेका कारण पनि रगत आउन सक्छ। यद्यपि तपाईंको  प्रश्नमा त्यस्तो कुनै कुरा छैन। 

श्रीमान्को शंका किन ?

तपाईंको श्रीमान्ले किन शंका गर्नुभएको हो त्यसका बारेमा स्पष्टसँग केही लेख्नुभएको छैन। पहिलो यौनसम्पर्कमा रगत नआएका कारण  त्यस्तो मान्नुभएको हो कि ? त्यसबाहेक उहाँले अन्य व्यक्तिवाट पनि तपाईंको केटा साथीका बारेमा सुन्नुभएको वा थाहा पाउनुभएको  हुनसक्छ। त्यसैले उहाँले किन शंका गर्नुभएको हो थाहा पाएपछि त्यसैअनुसार समाधानको बाटो पहिल्याउनु उपयुक्त हुन्छ। 

असफल घटनाका बारेमा किन भन्ने ?

तपाईं र तपाईंको केटासाथीको विचारमा लिङ्ग प्रवेश पूरा नभएको कुराले तपाईंहरूको बीचमा यौन सम्पर्क भएन, तर सबैको विचार त्यस्तो  नहुन सक्छ। तपाईंले आफ्नो केटासाथीलाई उसको लिङ्ग तपाईंको योनिमा प्रवेश गराउन दिनुभएकै हो। त्यहाँ शारीरिक पक्ष मात्र नभएर  मानसिक रूपमा तपाईं यौनसम्पर्कका लागि तयार रहनुभएको र प्रयास गर्नुभएको देखिन्छ। तपाईंले उक्त घटनाका बारेमा भन्नुभयो र आफूले  यौन सम्पर्क नराखेको कुरा भन्दैमा शंका गर्ने क्रम कम हुन्छ भन्ने लाग्दैन। राम्रोसँग विचार गर्नुस् त, यो कुरा किन भन्नु पर्‍यो ?