काठमाडौंमा एक मिनेट पनि बत्ती जानु हुँदैन



बलिउडमा रमाइरहनुभएको मान्छे, अचानक काठमाडौंमा कसरी ? 

म अचानक होइन, योजनाअनुसार नै विगत एक वर्षदेखि काठमाडौंमा छु। 

मुम्बईमा बसिरहेको मान्छे, काठमाडौं आएर स्थायी बसोबास गर्न थाल्नुपर्ने कारण पनि  त होला नि ? 

त्यस्तो खासै कारण केही छैन। नेपाल मेरो आफ्नो देश हो। म नेपालकै कोइराला परिवारमा जन्मिएको मान्छे, आफ्नै देशमा आएर स्थायी  बसोबास थाल्नु नौलो कुरा होइन। 

नौलो त होइन, तर अचम्म लाग्ने कुराचाहिँ हो नि ? 

लामो समयदेखि भारतमा बसोबास गरिरहेको मान्छे एकाएक आफ्नो पुख्र्यौली थलो र्फकनु अचम्म लाग्ने कुरा नै हो। मैले अघि नै भनेँ, म  योजनाअनुसार नै काठमाडौं आएको हुँ। 

अचेल केमा व्यस्त हुनुहुन्छ त ? 

महाराजगन्ज नजिककै हजुर- आमाको नामबाट सुशिला आर्ट एकेडेमी स्थापना गरेको छु। अहिले यसैलाई राम्रो बनाउने कार्यमा लागिरहेको छु। 

सुशीला आर्ट एकेडेमी स्थापना गर्ने योजना कसरी बन्यो ? 

काठमाडौं आएपछि छोरीलाई कहाँ पढाउने भन्ने कुराले समस्या पार्‍यो। औपचारिक शिक्षा त जुनैसुकै विद्यालयमा पनि दिन सकिन्छ, तर  कलासम्बन्धी प्रशिक्षण दिने एउटा संस्थाको खोजी गरेको, भनेजस्तो कतै फेला परेन। महाराजगन्ज क्ष्ाेत्रमा त भेट्दै भेटिन भन्दा पनि हुन्छ।  छोरीका लागि कला प्रशिक्षण केन्द्र खोज्ने क्रममा आफैंले किन एउटा केन्द्र नखोल्ने भन्ने लागेर हामीले सुशीला आर्ट एकेडेमी स्थापना गरेका  हौं। 

एकेडेमीमा हजुर-आमाको नाम समावेश गर्नुपर्ने कारण के होला ? 

नेपाली कला-संस्कृतिलाई थप आयाम दिन स्थापना गरिएको यो एकेडेमीमा मेरी हजुरआमा सुशीला कोइरालाको नाम जोड्नुका आफ्नै कारण  छन्। उहाँ आफैं कलाको अनुरागी हुनुहुन्थ्यो। उहाँ आफैंले एउटा एकेडेमी खोल्ने चाहना राख्नुभएको थियो। अहिले हामीले उहाँको त्यो चाहना  पूरा गरिदिएको मात्र हो। 

के के सिकाइन्छ त यो एकेडेमीमा ? 

यो एकेडेमीमा कला सिकाइन्छ। कलाका दुई विधा छन्, एउटा परफर्मिङ आर्ट अनि अर्को चित्रकला। हामीले परफर्मिङ आर्टअन्तर्गत संगीत, नृत्य तथा अभिनयलाई प्राथमिकता दिएका छौं भने हामी चित्रकलासम्बन्धी प्रशिक्षण समेत दिन्छौं। 

प्रशिक्षकहरू विदेशी राख्नुभएको रहेछ नि ? 

वास्तवमा नेपालमा धेरै राम्रा कलाकार, नृत्यकार एवं संगीतकर्मीहरू हुनुहुन्छ, तर यी विधामा प्रशिक्षण दिनेहरूको भने मैले अभाव देखें।  त्यसैले हाम्रो एकेमेडीमा विदेशी प्रशिक्षक राखेका हौं। चाँडै नै हामी नेपाली प्रशिक्षकहरूका लागि एउटा कार्यशाला आयोजित गर्दैछौं, जहाँ  विदेशी प्रशिक्षकले नेपाली प्रशिक्षकहरूलाई कसरी प्रशिक्षण दिने भनेर सिकाउनुहुनेछ। 

जीवनको सेकेन्ड इनिङ थाल्न काठमाडौं फर्किनुभएको मान्छे, नेपाली चलचित्रमा अभिनय गर्ने चर्चा छ नि ? 

मैले करिव डेढ दशक चलचित्र क्षेत्रमै बिताएको छु। बलिउडमा बिताएको त्यो समय मेरो जीवनको एउटा महत्वपूर्ण पाटो हो। त्यहाँ सिकेका  कुरा नेपालमा प्रयोग गर्न सकिन्छ भने किन नगर्ने भन्ने विचारले नेपाली चलचित्रमा अभिनय गर्न लागेको हुँ। 

नेपाली चलचित्रमा डेब्युका लागि सम्झना उप्रेती रौनियारकै चलचित्र 'मेघा' किन छान्नुभयो ? 

हेर्नुहोस्, मेरो एउटा (राम्रो भनौं कि नराम्रो) अचम्मको बानी छ। जो मानिस मलाई भित्रैदेखि मनपर्छ, म उसका लागि जे पनि गर्न तयार  हुन्छु। सम्झना उप्रेतीज्यूको प्रसंगमा पनि त्यही भएको हो। उहाँसँग मुम्बईमै चिनजान भएको हो। हामी एउटै परिवारका सदस्यजस्ता छौं। उहा 'ले चलचित्र 'मेघा' निर्देशन गर्ने कुरा सुनाउनुभयो। स्क्रिप्ट सुनाउनुभयो। सबै कुरा सुनाएपछि अभिनय गर्ने प्रस्ताव राख्नुभयो। मैले नाइँ भन्नै  सकिनँ। 

चलचित्रमा कस्तो भूमिका निर्वाह गर्दै हुनुहुन्छ ? 

चलचित्रका बारेमा धेरै कुरा त अहिले बोल्न मिल्दैन, तर म यो चलचित्रमा एउटा बिजनेसम्यानको भूमिकामा देखिँदैछु। 

मोटाउनुभएको रहेछ, नायकका रूपमा सुहाउला त ? 

मेरो उचाइ करिब ५ फिट साढे ९ इन्च छ अनि अहिलेको तौल ८० किलोग्राम। यो हिसाबले तौल धेरै बढी भएको त होइन, तर काठमाडौं  आएपछि थपिएको ५ किलोग्रामचाहिं फाल्नैपर्ने भएको छ। 

कसरी तौल घटाउने योजना बनाउनुभएको छ ? 

सानैदेखि जिम गर्दै आएको छु। मुम्बईमा जिम गर्नु जीवनको एउटा अभिन्न पाटो नै हो। नेपाल आएपछि जिम गर्न छुटेको छ। अब केही दिनमै  पुनः जिममा भर्ना हुँदैछु। केही हप्ताको जिमपछि म पुनः पहिलेकै स्वरूपमा र्फकनेछु। 

मुम्बईबाट हेरेको काठमाडौं र यहीँ आएर भोगेको काठमाडौंमा के अन्तर पाउनुभयो ? 

मुम्बईमा हुँदा पनि म काठमाडौं आउने जाने गरिरहन्थेँ, तर पछिल्ला केही वर्षयता काठमाडौं सहर निकै व्यस्त भएको रहेछ। घरहरू थपिएका  रहेछन्। मानिसको संख्या पनि बढेको रहेछ।

मुम्बई र काठमाडौंको जीवनशैलीमा के भिन्नता पाउनुभयो ? 

त्यसमा त आकाश-जमिनकै भिन्नता छ। मुम्बई भनेको अति व्यस्त सहर हो। कसैलाई कसैसँग बोल्ने पनि फुर्सद नहुने सहर। काठमाडौं पनि  विगतको भन्दा निकै व्यस्त भैसकेको छ तर मुम्बई र काठमाडौंको व्यस्ततामा पनि भिन्नता छ। 

भौगोलिक भिन्नतालाई चाहिँ कसरी मूल्यांकन गर्नुहुन्छ ? 

मुम्बई त कंक्रिटको सहर नै भयो नि। काठमाडौंमा अझै हरियाली कायम छ। घरको छतबाट बाहिर हेर्दा अझै पनि हरिया पहाडहरू देखिन्छन्।  चारैतिर हरियाली छ। 

विवाह गर्ने निर्णयचाहिँ कसरी भयो नि ? 

दक्षिण भारतको एउटा सहरको ध्यान केन्द्रमा उनीसँग भेट भयो। त्यो भेट नै हाम्रो विवाहको कारण बन्यो। उनी पनि म जस्तै पुरुषलाई जीवन  साथी बनाउन इच्छुक थिइन्, म पनि उनीजस्तै जीवन साथीको खोजीमा थिएँ। मन मिल्यो, विवाह गर्‍यौं। कुन देशकी नागरिक हुन् भन्ने  कुरामा खासै ध्यानै दिइएन। 

वैवाहिक जीवन कस्तो छ ? 

अत्यन्तै सुमधुर छ। मेरो जीवनमा जति पनि राम्रा काम भएका छन् ती सबै विवाहपछि नै भएका छन्। हामी काठमाडौं आएर नयाँ जीवन  प्रारम्भ गर्ने योजना पनि विवाहपछि नै बनेको हो। 

छोरीको बुबा बन्दा कस्तो अनुभव गर्नुभयो ? 

जीवनको सबैभन्दा रमाइलो क्षण नै त्यही थियो। छोरीको बुबा बनेपछि संसारकै सबैभन्दा भाग्यमानी मानिस मै हुँ कि जस्तो लाग्यो। 

छोरीलाई ठूली भएपछि के बनाउने योजना छ ? 

छोरी यामिनी भर्खरै चार वर्ष पुग्न लागेकी छिन्। उनी ठूली भएपछि के बन्छिन् भन्ने कुरा अहिले नै भन्न सकिन्न। 

तपाईं त कोइराला परिवारको मान्छे, राजनीतिमा आउने सम्भावना कत्तिको छ ? 

(लामो हाँसो) म तपाईंले कति बेला यो प्रश्न सोध्नुहुन्छ भन्ने कुरेर बसेको थिएँ। राजनीति....कोइराला परिवारको प्रतिनिधि त हुँ, तर नेपालको  राजनीतिमा आउँछु कि आउँदिन भन्ने कुरा अहिलेसम्म सोचेको छैन। 

कुनै योजना त होला नि ? 

योजना त किन नहुनु ? मेरो रगतमै राजनीति मिसिएको छ, राजनीति बगिरहेको छ। यस अर्थमा म कुनै दिन राजनीतिमा आएँ भने अचम्म  मान्नु पर्दैन, तर अहिले नै राजनीतिमा आउने सही समय भएजस्तो लाग्दैन। 

सही समयचाहिँ कहिले आउला ? 

म त्यो दिन मात्र राजनीतिमा आउनेछु, जुन दिन कार्यकर्ताले मैले भनेको कुरा मान्ने स्थिति सिर्जना हुनेछ। अर्थात्, म त्यस्तो नेतृत्व लिने नेता  बन्न चाहन्छु जसलाई सबै कार्यकर्ताले पनि मानून। 

कुरा अलि स्पष्ट भएन नि ? 

कुरा स्पष्ट त छ नि, नेता भनेको त्यस्तो हुनुपर्छ जसले पूरै देश हाँक्न सक्छ। जो आफ्ना कार्यकर्तालाई एक ढिक्का बनाएर अघि बढ्न सक्छ। 

नेपालमा त्यस्ता नेता छैनन् त ? 

नेता त छन् तर मैले जुन नेताको परिकल्पना गरेको छु , त्यस्ता नेताचाहिँ देखेको छैन। 

तपाईंको काका हजुर बुवा स्व. गिरिजाप्रसाद कोइरालालाई कसरी सम्झनुहुन्छ ? 

अति आकर्षक व्यक्तित्वका धनी नेताका रूपमा म उहाँलाई जीवनभरि नै सम्झिरहनेछु। यसबाहेक उहाँ अति नै शक्तिशाली नेता हुनुहुन्थ्यो। ने पालको राजनीतिको दुई दशक उहाँले नै सम्हाल्नुभएको थियो। देशलाई यहाँसम्म ल्याउन उहाँले ठूलो योगदान दिनुभएको थियो, तर उहाँका  पनि केही कमजोरी थिए। 

कस्तो कमजोरी ? 

उहाँ शक्तिशाली नेता त हुनुहुन्थ्यो, तर उहाँले आफ्नै कार्यकतर्ालाई मिलाएर राख्न सक्नुभएन। कार्यकर्ताहरूलाई एक ठिक्का बनाएर अघि  बढाउन सक्नुभएन। आफ्नै कार्यकर्तालाई मिलाएर अघि बढ्न नसक्दा आज नेपाली कांग्रेसको अवस्था तपाईं-हामीलाई थाहै छ। 

अहिलेको सरकारका क्रियाकलापहरूको कसरी मूल्यांकन गर्नुहुन्छ ? 

सरकार ? खोइ कहाँ छ सरकार ? हाम्रो देशमा सरकार भैदिएको भए राजधानी जस्तो सहरमा लोडसेडिङ हुन्थ्यो ? सहर यसरी कुरुप हुन्थ्यो ? 

अलि स्पष्ट पारिदिनुहोस् न ? 

देशको राजधानी भनेको अति नै संवेदनशील स्थान हो। राजधानी जस्तो शहरमा घण्टौं बिजुली जान्छ भने तपाईं आफैं कल्पना गर्नुहोस्, हामी  जनता कति निरीह छौं ? 

तपाईं प्रधानमन्त्री हुनुभयो भने यो समस्याको समाधान निकाल्न सक्नुहुन्छ ? 

अवश्य निकाल्न सक्छु। काठमाडौंका लागि मात्र एउटा हाइड्रोपावर सञ्चालन गर्न सकिँदैन ? त्यो हाइड्रोपावरबाट निस्कने बिजुली काठमाडौंका  लागि मात्र वितरण गर्न सकिँदैन ? अवश्य सकिन्छ। सरकारले चाह्यो भने काठमाडौंमा एक मिनेट पनि लोडसेडिङ गर्नुपर्दैन, तर विडम्बना,  सरकारले चाहँदै चाहँदैन। काठमाडौं भनेको त राजधानी हो नि, राजधानीलाई घण्टौंसम्म अन्धकारमा राख्न मिल्छ ? 

बिजुलीबाहेक काठमाडौंमा अरू के समस्या देख्नुहुन्छ ? 

अहिले काठमाडौंका सडक घुम्नुहोस् न, समस्यै समस्या देखिन्छन्। प्रायः सबै सडक भत्काइएका छन्। भत्काउन त अति सजिलो छ। एउटा  सिसाको गिलास फुटाउन अति सजिलो हुन्छ, तर त्यही गिलास बनाउन कति गाह्रो हुन्छ भन्ने कुरा फुटाउनुअघि सोच्नुपर्ने हो। अहिले  काठमाडौंको अवस्था पनि त्यस्तै छ। भत्काउन त भत्काइयो तर अब यो कहिलेसम्ममा बनिसक्छ, कसैलाई थाहा छैन। 

तपाईं युवा हुनुहुन्छ, प्रखर वक्ता हुनुहुन्छ, त्योभन्दा पनि बढी कोइराला परिवारको हुनुहुन्छ। आजै राजनीतिमा आउन तपाईंलाई के कुराले रो केको छ ? 

मैले अघि नै भनेँ नि। जुन दिन मैले भनेको कुरा मानिसहरूले मान्ने स्थिति सिर्जना हुन्छ, म त्यही दिनदेखि राजनीतिमा आउँछु। अहिले पनि  मलाई थुप्रै युवाले 'राजनीतिमा आउनुहोस्। हामी तपाईंलाई साथ दिन्छौं' भनेका छन्, तर म अहिले नै राजनीतिमा आउने पक्षमा छैन। 

तपाईं काठमाडौंबाट वाक्क भएर पुनः मुम्बई र्फकने सम्भावना कत्तिको छ ? 

केही गरौं भनेर काठमाडौंमा आएर बसेको छु त्यसैले मुम्बई र्फकने विषयमा मैले केही सोचेको छैन। नेपालको राजनीति अहिलेको भन्दा अझ  जर्जर भयो भने, आर्थिक स्थिति अहिलेको भन्दा अझ ध्वस्त भयो भने, नेपालमा बस्नै नसक्ने अवस्था सिर्जना भयो भनेचाहिँ पुनः मुम्बई फकर् न बाध्य हुनेछु।