खुमबहादुरको मुद्दा फैसला आज

काठमाडौं, साउन ३० (नागरिक)- सर्वोच्च अदालतले आज पूर्वमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार मुद्दाको फैसला सुनाउने भएको छ। साउन १६ मा खड्का र सरकारी वकिल दुवै पक्षको बहस सकिएपछि न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले साउन ३० मा फैसला मिति तोकेको थियो। 
module google ad 600x60|none} 
पटक-पटक मन्त्री हुँदा पदीय दुरुपयोग गरी २ करोड ३६ लाख सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषका तत्कालीन न्यायाधीश भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले खड्काको १२ लाख रुपैयाँको मात्र स्रोत नखुलेको र त्यो रकमलाई अवैध भन्नु नपर्ने भन्दै २०६३ साल कात्तिक २९ मा सफाइ दिएको थियो।

पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन खड्काको मुद्दामा लामो बहसपछि फैसला हुने मिति तोकिएको हो। विशेषको फैसला नियोजित रूपमा खड्कालाई उन्मुक्ति दिने खालको भनी अख्तियारले २०६३ साल चैत १५ मा सर्वोच्चमा पुनरावेदन दिएपछि पाँच वर्षपछि मुद्दा फैसला हुन लागेको हो। खड्काको लगायत तीन दर्जन भ्रष्टाचार मुद्दा २०६३ सालमा दर्ता भए पनि सर्वोच्चमा सुनुवाइ नभई थन्किएका थिए। डेढ वर्षअघि पूर्वप्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश सुशिला कार्कीले खड्काको मुद्दामा विपक्षी 'झगडिया झिकाउने' आदेश दिएपछि सुनुवाइ सुरु भएको थियो।