धनकुटाका कैदी रातभरि सुत्दैनन्


सिद्धराज राई, धनकुटा, साउन ३०- जिल्ला कारागार धनकुटामा कैदीहरु उडुस उपियाँ र लामखुट्टेको टोकाईको कारण रातभर जाग्राम बस्दै आएका छन्। कारागार व्यावस्थापन पक्षले कारागार भित्र फैलिएको उडुस उपियाँ मार्ने विषाधी खरिद नगरिदिएको र लामखुट्टे रोक्न झुल नदिएको कारण रातभर सुत्न नपाएको चौकीदार दिपक तामाङले बताए।
जिल्ला अदालतको पुरानो भवनमा रहेको जिल्ला कारागार जीर्ण र ओसिलो रहेको छ। जसका कारण उडुस, उपियाँ, लामाखुट्टे बढी लाग्ने गरेको कारागारका चौकीदार तामाङले बताए।



२५ जना क्षमता रहेको घ श्रेणीको जिल्ला कारागारमा ४० जना पुरुष, ३ जना महिला र १ आश्रित बालक सहित ४४ जना कैदी र थुनुवा रहेका छन्। क्षमता भन्दा बढी कैदी रहेका कारण पनि राती पालै पालो सुत्नु पर्ने अवस्था रहेको छ। यसका साथै जिल्ला कारागार पुरानो भएकाले बर्षातमा पानी पर्दा छाना चुहिएर सुत्न नसकिने चौकीदार तामाङले बताए।
धनकुटा जिल्लामा कैदीबन्दीहरुको संख्या बढीरहेकाले गत बर्षदेखि ५० जना क्षमता भएको कारागार निमार्ण भइरहेको छ। तर पुरा नभएकाले समस्या भएको बताइएको छ। यो संगै नेपाल सरकारले दैनिक रुपमा दिँदै आएको सिदा र सुविधा बापतको खर्च समयमा कारागार व्यावस्थापनले नदिएको गुनासो कैदीहरुले गरेका छन्। जस्को कारण भोकभोकै पनि बस्नुपरेको कैदीहरुको पिडा रहेको छ। कारागार भित्र पिउने पानीको अभाव हुदाँ चिउरा मात्र खाएर बस्नुपर्ने पनि बाध्यता समेत रहेको उनीहरुले बताए।।
कारागारका जेलर नरेन्द्र आचार्य भर्खरै मात्र सरुवा भई गएको र अर्को दरबन्दी अनुसारको कर्मचारी नआएकाले प्रशासनिक कार्यहरुमा समस्या रहेको कारागारका सहलेखापाल रञ्जित शाहले स्वीकार गरे। कैदीहरुको समस्या समाधान गर्नको लागि नयाँ हाकिम आउने वित्तिकै सुनुवाई हुने उनले बताए। कारागार भित्र पानीको अभाव रहेकाले कैदीबन्दीहरुलाई सहजताको लागि बाहिरबाट ड्रममा पानी किनेर पनि उपलव्ध गराउँदै आएको उनले बताए।
जिल्ला कारागारमा पढ्नको लागि पत्रपत्रिका, पाठ्यपुस्तक, टेलिभिजन लगायत अन्य सामाग्रीहरुको अभाव रहेको छ। कारागार व्यावस्थापनले किनेको टेलिभिजन पुरानो भएर विग्रिएपछि कैदीहरुले नै किनेर टेलिभिजन हेर्ने गरेको नाइके निरज राईले बताए। कारागारमा केही पत्रिका आउने भए पनि कैदीहरुले पढ्न नपाएको बताएका छन्।