होटलको कोठा सार्वजनिक कि निजी ?
![]() |
मुरारी देवकोटा (नाम परिवर्तन) अहिले १७ वर्षका भए। एक साताअघि उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा पुगे। उनलाई प्रहरीले हेटौंडा बसपार्कको एक होटलबाट पक्राउ गरेको थियो। उनी पक्राउ पर्नुको कारण हो- उनी एक युवतीसँग एउटै कोठामा थिए। देवकोटा टेलिभिजन हेर्दै थिए, उनकी प्रेमिका (देवकोटा स्वयंका अनुसार) बाथरुममा नुहाउँदै थिइन्। त्यही बेला प्रहरी पुगेर पक्राउ गरे पछि उनीहरू दुवैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ। आरोप छ- सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको। अब उनीहरूले पाउने सजाय अस्पष्ट नेपाली कानुनको हातमा छ। सार्वजनिक अपराध ऐनअनुसार उनीहरूमाथि २८ हजारसम्म जरिवाना अनि केही महिना कैद पनि हुनसक्छ।
पक्राउ परेका कारण देवकोटाले मात्रै क्षति बेहोर्नुपरेको छैन्। भीमफेदी घर भएकी उनकी १७ वर्षीया प्रेमिकाले पनि धेरै थोक गुमाउनुपरेको छ। आइतबार उनको साउदी अरेबिया जानुपर्ने टिकट थियो तर शुक्रबार राति उनी बसपार्कको होटलबाट पक्राउ परिन्। उमेर छलेर नागरिकता बनाएकी उनी दुई वर्ष साउदी अरेबिया बसेर तीन महिनाअघि नेपाल फर्किएर पुनः साउदी अरेबिया र्फकने तयारीमा थिइन्। 'उनी नेपाल आउनेबित्तिकै साथीको माध्यमबाट लभ परेको हो,' देवकोटाले भने, अब एक हप्तापछि बिहे गर्छु।' तर, नेपालको कानुनअनुसार दुवैको विवाह गर्ने उमेर भएको छैन।
देवकोटा त एउटा उदाहरण मात्र हुन्। घरमा ढाँटेर होटल छिर्ने उनीहरूजस्तै किशोर हुन वा परिपक्व युवा, घरमा पतिपत्नी हुँदाहुँदै अन्तै सन्तुष्टि खोज्ने प्रौढ हुन् वा वृद्धवृद्धा धेरैले होटलमा रात बिताउने रहर पूरा गर्न खोज्दा अपराधीको दर्जामा उभिनुपरेको छ। होटललाई सावर् जनिक स्थल र त्यहाँ गरिने शारीरिक सम्बन्धलाई अवैध मान्ने नेपाली कानुन पालना गराउन प्रहरीले हेटौंडामा मात्र होइन, नेपालका सबै सहरका होटलमा छापा मार्ने गरेको छ।
गायिका अञ्जु पन्तको स्वरमा एउटा लोकप्रिय गीत नै छ- तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ ? धेरै प्यास लागेपछि मानिस खोलाको पानी पनि पिउन बाध्य हुन्छ। यौनलाई आहाराका रूपमा व्याख्या गर्न थालिएको जमानाका महिला हुन् वा पुरुष, सन्तुष्टि खोज्न भौतारिने चर्चा सर्वत्र हुने गरेको छ। त्यसैले होला, नेपालभर जहाँ-जहाँ होटलमा छापा मारिन्छ, त्यहाँ-त्यहाँबाट जोडीहरू पक्राउ पर्ने गरेका छन्। एकातिर अवैध काम गरेकालाई पक्राउ गरेकोमा प्रहरीले नाक फुलाउने मौका पाएको छ, छाति चौडा बनाएको छ भने पक्राउ पर्नेहरूको नाकै बाँकी नरहने अवस्था छ। उनीहरू समाजमा शिर झुकाएर हिँड्नुपर्ने गरी सार्वजनिक बेइज्जतीमा पर्छन्।
समाजको एउटा पक्ष यौन स्वतन्त्रताको वकालत गर्न आँट गर्ने स्थितिमा पनि छ तर यौनका बारेमा निकै अनुदार नेपाली संस्कृति र त्यसका संकुचित अनुयायीहरूको जन्जालमा फसिने डर पनि उत्तिकै छ। जहिल्यै यौनको कुरालाई अनौठो मान्ने र यौनको विषयमा आफूलाई अलग्गै राख्दा भद्रभलाद्मीमा दरिन पाइने भ्रममा बाँचेकाहरूबीच यस्तो आँट गर्नु चानचुने कुरा पनि होइन। होटलमा प्रहरीको बढ्दो निगरानी र त्यसका बाबजुद फेला पर्ने जोडीहरू देख्दा, अब पनि यौनलाई वर्जित गर्नु हुँदैन भन्ने भावना पलाउन थालिसकेको छ, मानिसहरूमा।
होटलमा कडाइ गर्दा जोडीहरू खोलाको किनारा, झाडी र पार्कहरूमा 'आपत्तिजक' अवस्थामा भेटिन थालेको हेटौंडाका प्रहरी प्रमुख नै स्वीकार गर्छन्। अश्लीलता रोक्न होटलमा कडाइ गर्दा अझ खुला ठाउँ रोज्ने मानिसको यौन चाहनाको मुहान कसरी बन्द गर्न सकिएला र ? आफूलाई अनुशासित र मर्यादित राख्न सकेकाले नै मानिस स्वघोषित विवेकशील प्राणी हो। मानिसले आफ्नो यौन क्रियाकलापलाई पशुको भन्दा सभ्य बनाएको छ। मानिस यौन आशक्ति नियन्त्रण गर्न सक्ने प्राणी हो, तर यो मानिसको अभिन्न आवश्यकता पनि हो। अंग्रेजीमा एउटा भनाइ छ- मान्छे दुई चीजका लागि बाँच्छ- महान् बन्ने चाहना तथा यौन चाहनाको प्राप्तिका लागि।
नेपालको कानुनले होटललाई सार्वजनिक स्थल र त्यहाँ गरिने शारीरिक सम्पर्कलाई सार्वजनिक रूपमा अश्लील मान्ने गरेकाले प्रहरीले होटलमा छापा मारी कडाइ गरेको मकवानपुर प्रहरी प्रमुख उपरीक्षक पूर्णचन्द्र जोशी बताउँछन्। तर, होटललाई सार्वजनिक थलो र होटलको कोठामा गरिने शारीरिक सम्पर्कलाई अश्लीलता फैलाएको मान्न नहुने तर्क गर्नेहरू पनि प्रशस्तै छन्। नेकपा मालेका मकवानपुर जिल्ला कमिटी सचिव भीमसेन महत होटलको कोठाभित्र हुने गतिविधिले अश्लीलता नफैलाउने दाबी गर्छन्। उनी होटलका कोठामा गरिने प्रहरी छापा बेतुकको भएको तर्क गर्छन्। महतको विचारमा अब नेपालमा यौन व्यवसायलाई व्यवस्थापन गर्ने बेला भएको छ। किशोरावस्थामा प्रवेश गरेकाहरूलाई यौनसम्बन्धी शिक्षा दिनुपर्ने बेला आएको छ।
यौन सन्तुष्टिका लागि यौन व्यवसायीकहाँ जानुलाई विश्वका केही मुलुकबाहेक सबै मुलुकमा अनौठो मानिँदैन। विश्वका अधिकांश देशले यौन व्यवसायलाई स्वीकृति दिएर व्यवस्थापनका लागि अनेक कदम चालेका छन्। एसिया महादेशकै थाइल्यान्ड यस्तो देश हो जहाँ मुलुकको आम्दानीको प्रमुख स्रोतका रूपमा यौन व्यवसायलाई लिइन्छ। त्यहाँको पर्यटकीय आकर्षणको मुख्य हतियार नै आधुनिक यौन बजार हो। आयरल्यान्डमा अपांगहरूका लागि पनि यौन सन्तुष्टि दिने स्थान वैधानिक रूपमै खुलेका छन्। जहाँ युरोपेली अपांगहरू धक फुकाएर आफ्नो प्यास मेटाउँछन्, तृप्त भएर र्फकन्छन्। अस्ट्रेलियाका यौन व्यवसायीहरू आफ्नो आम्दानी प्रधानमन्त्रीकै जत्तिको भएकोमा गर्व गर्छन्। उनीहरू ले यौन व्यवसायलाई पुनर्ताजगीको उपायका रूपमा व्याख्या गर्दै पेसाप्रति गर्व गर्ने गरेका छन्। भलै, नेपालमा त्यस्तो अवस्था आउन अझै धेरै वर्ष लाग्ला अथवा त्यस्तो अवस्था आउँदै नआउला तर पनि नेपालमा यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भन्ने माग उठ्न थालेको छ, नत्र यसैगरी कलिला मुरारीहरू अपराधिका रूपमा अदालतमा उभिइरहनेछन्।
केही महिनाअघिको कुरा हो। हेटौंडाको होटलमा थरीथरीका जोडी भेटिए। एकजना थिए दाङका पुरुष र अर्की थिइन् बारा मधुवनकी महिला। टे लिफोन कुराकानीकै आधारमा उनीहरूले हेटौंडालाई आफ्नो मिलनबिन्दु बनाए। दुवैका घरमा आ-आफ्ना सन्तान थिए, आ-आफ्नै जीवन साथी थिए। उनीहरूले खोजेको 'फरक स्वाद' थियो। त्यसैले प्रहरीले आपत्तिजनक अवस्थामा फेला परेको भन्दै उनीहरूलाई पक्राउ गरेको थियो।
माथिको घटना उदाहरण मात्र हो। पूर्वपश्चिम राजमार्गको मध्यबिन्दु हेटौंडामा करिब ५ सयजति यौन व्यवसायी रहेको सम्बन्धित क्षेत्रमा कायर् रत संघसंस्थाहरूको अनुमान छ। यो कुरा थाहा पाउनेहरूका लागि हेटौंडा यौन सन्तुष्टि प्राप्त गर्ने प्रमुख स्थल पनि हुनसक्छ। तर, प्रहरी छापाको डरले त्राहिमाम यहाँका होटल व्यवसायीले युवा जोडीहरूलाई कोठा नदिने निर्णय गरे पनि श्रीमान्-श्रीमती, दाजुबहिनी, दिदीभाइ, फुपूभदाको नाममा कोठा बुक गराउनेहरूको कमी छैन्।
होटल एसोसिएन मकवानपुरका अध्यक्ष भगीरथ शर्माको धारणा पनि होटलका बन्द चिहाउँदै हिँड्ने नेपाली कानुनको आलोचनामै केन्दि्रत छ। कसैले मन मिलेर होटलमा 'इन्जोय' गर्छन् भने त्यसमा आपत्ति मान्नु हुँदैन, यद्यपि कानुनतः बर्जित भएकाले होटल व्यवसायीहरूले यौन व्यवसायलाई बढावा दिन नहुने उनको धारणा छ। उनले, अब यौन व्यवसायसम्बन्धी कानुनको आवश्यकता देखिइसकेको छ तर अहिलेको कानुनले होटलको कोठालाई सार्वजनिक ठाउँ नमानिदिने मात्र हो भने पनि धेरै मुरारीहरू पक्राउ पर्नबाट तथा बेफ्वाँकमा घर, परिवार अनि आफ्नो नाक कटाउनबाट जोगिनेछन्।
काठमाडौंमा पनि
नयाँ प्रहरी प्रमुख फेरिनेबित्तिकै वा दरबारमार्ग एवं सोह्रखुट्टेमा नयाँ इन्स्पेक्टर आउनेबित्तिकै उनीहरूको पहिलो काम केही शंकास्पद स्थानमा छापा मार्नु हो। यस्ता छापा मारिने स्थानमध्ये ठमेलका होटल, मसाजकेन्द्र एवं बसपार्क वरपरका केही घर-होटल पर्छन्। विगत तीन महिनाको रेकर्ड हेर्ने हो भने प्रहरीले ती स्थानमा तीन पटकभन्दा बढी छापा मारिसकेको छ। ती स्थानबाट आपत्तिजनक अवस्थामा एक जोडी श्रीमान्- श्रीमती, केही प्रेमी-प्रेमिका एवं केही यौनकर्मी फेला पारेको प्रहरीको भनाइ छ। प्रमाणित भएका श्रीमान्-श्रीमती वा पे्रमी-प्रेमिकालाई तत्काल छाडिएको एवं केही यौनकर्मीलाई पक्राउ गरिएको हनुमान ढोका प्रहरी कार्यालय अनुसन्धान शाखाका कृष्ण पंगेनीको भनाइ छ।
यता छापा मारेको स्थानमा भेटिएका भनिएका श्रीमान्-श्रीमती एवं केही युगल जोडी भने गफ गरिरहेको अवस्थामा अचानक प्रहरी प्रवेश गरेर आफ्नो बेइज्जत गरेको भन्दै प्रहरीसँग आक्रोशित भएका थिए। भैरहवाबाट काठमाडौं आएका एक जोडीले एक रात हनुमान ढोकामै बिताउनुपरेको भन्दै केही अधिकारकर्मीले प्रहरीसमक्ष विरोधसमेत गरे। 'होटल वा मसाज केन्द्रले कुनै युवती राखेरै यौन गतिविधि गरेको भए त्यसको दोषी ती व्यक्ति हुनुहुँदैनथ्यो।' रक्षा नेपालका अध्यक्ष मेनुका थापाले साप्ताहिकसँग भनिन्, 'दोषी होटल वा मसाज केन्द्रका सञ्चालक हुन्, युवती वा ऊसँग बसिरहेको व्यक्ति होइन।' थापाको विचारमा होटलभित्र कसैले बलजफ्ती गरेको अवस्थामा त्यसको चासो प्रहरीलाई हुनुपर्छ, सहमतिमा हुने सम्पर्कमा त्यसरी हस्तक्षेप गर्न मिल्दैन।
अहिले देशभरि नै प्रहरीले होटल, मनोरञ्जनस्थल एवं स्कुल-कलेजको छेउछाउबाट युगल जोडी समातेर कारबाही गर्ने कार्यलाई तीव्रता दिएको छ। युवा-युवतीहरूले सार्वजनिक स्थलमा अवाञ्छित गतिविधि गरेको भन्दै त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको प्रहरीको भनाइ छ। यद्यपि पक्राउमा पर्ने जोडीहरू भने आफूले कुनै अवाञ्चित गतिविधि नगरेको दाबी गर्छन्। 'आजका युवापुस्ता स्वभावैले खुला छन्। उनीहरू सावर् जनिक स्थलमा चुम्बन गर्न वा होटलमा रात बिताउन चाहन्छन्।' यौनसम्बन्धी विषयमा अनुसन्धान गरिरहेकी मनोविज्ञ करुणा कुँवर भन्छिन्, 'होटलमा रात बिताउनु वा खुला स्थानमा माया प्रदर्शन गर्नु अहिलेको परिवेशमा अपराध हो भन्ने लाग्दैन।' कुँवरको विचारमा जति रोकतोक गर्यो, यस्ता कुरा अझ बढ्दै जाने हुनाले युवापुस्तालाई विश्वासमा लिनु उपयुक्त हुन्छ। 'कानुनले होटललाई सार्वजनिक स्थल मानेको छ भने त्यसमा पनि सुधार हुनुपर्छ।' कुँवर भन्छिन्, 'होटलभित्र जोडीको गोपनियताको अधिकारको पनि रक्षा हुनुपर्छ।'
देशभरि नै युगल जोडी समातिने, प्रहरीमार्फत उनीहरूको सार्वजनिक बेइज्जत हुने कार्य लगातार बढेपछि होटल सार्वजनिक स्थल हो कि हो इन भन्ने कुरा पनि बहसको विषय भएको छ। यसले समयअनुसार कानुन परिवर्तन हुन नसकेको पनि देखाउँछ। यता कानुनवेत्ताहरू भने प्रहरीले कानुनमा भएका छिद्र समातेर यस्ता कार्य गरेकोमा आपत्ति जनाउँछन्। 'प्रहरीको काम जनतालाई अपराधी घोषित गर्नु होइन, उनीह रूको आत्मसम्मानको रक्षा गर्नु हो।' अधिवक्ता केशवराज अर्याल भन्छन्, 'युगल जोडीको कर्तुतले कसैलाई गम्भीर असर परेर उजुरी गरेको अवस्थामा बाहेक होटलका कोठाहरूमा गएर जोडीलाई समात्ने, उनीहरूको सार्वजनिक बेइज्जत गर्ने काम प्रहरीको होइन।'
होटल वा मसाज पार्लरका सञ्चालकहरू भने प्रहरीको छापालाई उनीहरूको आर्थिक प्रलोभनसँग जोडेर व्याख्या गर्छन्। नयाँ इन्चार्ज आउने बित्तिकै होटल र मसाज पार्लरमा छापा मार्नुको कारण आर्थिक स्रोत जुटाउनु नै हो। केही समयअघि प्रहरीले छापा मारेको ठमेलको एक हो टलका कर्मचारीले साप्ताहिकसँग भने, 'साहूसँग कुरा मिलेपछि अहिले यहाँ फेरि युगल जोडीहरू आउन थालेका छन्।'
प्रहरी छापा किन ?
नाबालिकबीचको सम्बन्ध, यौनको खरिद-बिक्री एवं अनैतिक सम्बन्धहरूमा नियन्त्रणका लागि पनि प्रहरीले होटलहरूमा छापा मार्नुपरेको एक उच्च प्रहरी अधिकृतले साप्ताहिकलाई बताए। कानुन एवं नैतिक आचरण पालनाका लागि पनि त्यस्ता गतिविधिमाथि नजर राख्नुपरेको ती अधिकृतको धारणा थियो। स्थानीय बासिन्दाहरूको गुनासो आउँदा पनि प्रहरी कारबाही तीव्र हुने उनको तर्क थियो। प्रहरी छापाले यस्ता गतिविधि अनियन्त्रित हुन नपाउने तथा छाडातन्त्र बढेर समाज विकृतिको दलदलमा फस्ने जोखिमबाट जोगिने ती अधिकृतले दाबी गरे।
![]() |