भारतमा बस दुर्घट्ना, ७ नेपालीको निधन




महोत्तरी, श्रावण २९ - सीमापारी भारतको सीतामढी्-भिट्टामोड सडक खण्डमा सोमबार बिहान नेपाली तिर्थयात्रु चढेको बस दुर्घट्ना हुँदा ७ जनाको निधन भएको छ । मृतकहरु सबै धनुषा जिल्ला निवासी हुन् । दुर्घट्नामा २४ जना घाइते भएका छन् ।
झारखण्डमा पर्ने प्रसिद्ध बाबाधामको दर्शन गरेर फर्किरहेको तिर्थ यात्रु चढेको ज.१.ख ६७८ नम्बरको बस सीतामढी जिल्लाको सुरसण्ड थाना अन्तर्गत पर्ने कुम्मामा बिहान ५ बजे दुर्घट्ना भएको हो । भारतीय प्रहरीले जनाए अनुसार डाइभर्सन छाडेर भत्केको पुलमा बस चढेको र बाटो बन्द देखेर पछाडि गर्ने बेलामा बस सडकबाट पल्टेको थियो । मृत्यू हुनेमा २ जना महिला छन् ।
घाइतेमध्ये ७ महिला सहित ११ जनाको सितामढी सदर अस्पतालमा र १० जनाको जलेश्वर अस्पतालमा तथा गम्भीर ३ जनाको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ । बसमा ७१ जना सवार थिए । नेपालको भिट्टामोड सीमाबाट दुर्घट्नास्थल १९ किलोमिटर दुरीमा छ ।
मृतकहरुको नामावली
बालाबाखर गाविस १ का ५५ वर्षीय धर्मनाथ यादव
सोही ठाउँका २० वर्षीय अरुण कुमार यादव
भुतही पटेरवाका २८ वर्षीय मनोजकुमार राय
सोही ठाउँका २५ वर्षीय कासिन्दर यादव
ठिल्ला गाविस ७ का ५० वर्षीय रामविह्ल राय
सत्तोखर गाविस ९ का ५० वर्षीया बिल्टी देवी मण्डल
सोही ठाउँकी ५५ वर्षीया परमशिला देवी