'पत्रकार महासंघको भवन निर्माण खर्च सरकारले दिन्छ'




काठमाडौ, श्रावण २९ - अर्थमन्त्री वर्षमान पुनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय भवन निर्माणमा लाग्ने खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महासंघको निर्माणाधीन भवनको सोमबार निरीक्षण गर्दै उनले त्यसो भनेका हुन् ।
तिलगंगास्थित सञ्चारग्राममा महासंघले आधुनिक सुविधा सम्पन्न भवन बनाउन लागेको हो । अर्थमन्त्री पुनले महासंघको भवन नेपाली पत्रकारिताको अवस्था देखाउने सांकेतिक भवन हुने उल्लेख गरे ।
उनले विदेशबाट आउने र जाने विशिष्ट व्यक्तिहरुका लागि पत्रकार सम्मेलन गर्ने कक्ष, महासंघको आधुनिक सचिवालय कक्ष र क्षमता अभिवृद्धिका लागि तालिम हल समेत रहेको भवन निर्माण गर्नु सरकारको दायित्व रहेको बताए । 'भवन निर्माणमा सरकारको पूर्ण सहयोग रहन्छ,' उनले भने ।
महासंघका अध्यक्ष शिव गाउँले र महासचिव ओम शर्माले अर्थमन्त्री पुनलाई स्वागत गर्दै निर्माणधिन भवनको निरीक्षण तथा भवन बारे जानकारी गराएका थिए । गाउँलेले पत्रकार महासंघको भवन निर्माण हुनु भनेको पत्रकारको क्षमता अभिवृद्धि र भौतिक सुधारमा सघाउनु पनि भएको बताए ।  
४ करोड १० लाख अनुमानित लागतमा निर्माण कार्य सुरु गरिएको महासंघको भवन निर्माणका लागि गतवर्ष सरकारले १ करोड रुपैयाँ दिएको थियो । बाँकी रकमका लागि महासंघले सरकारसंग माग गर्दै आएको छ ।