सहयोगी हातहरू: आमाको घरलाई ५ लाख




काठमाडौ, श्रावण २६ - पर्यटकलाई गाइड गर्दै आएका एक युवाले विदेशी नागरिकबाट 'आमाको घर' संस्थाका लागि सहयोग जुटाइदिएका छन् । दुबईबाट साउन दोस्रो साता नेपाल भ्रमणमा आएका सन सुरीसहित चार जना पर्यटकबाट टुरिस्ट गाइड श्रीप्रसाद बस्ताकोटीले ४ लाख ९५ हजार रुपैयाँसहयोग जुटाइदिएका हुन् ।
कान्तिपुर टेलिभिजनको दिशानिर्देश कार्यक्रममा आमाघर सञ्चालन गर्दै आएकी दिलशोभा श्रेष्ठको अन्तर्वार्ता हेरेर प्रभावित भएको उनले बताए ।
बस्ताकोटीका अनुसार नेपाल भ्रमणमा आएका ती पर्यटक अशक्त र असहाय व्यक्ति देख्दा दुःखी हुने गरेका थिए । 'अशक्त र वृद्धवृद्धा सडकमा बसेको देख्दा सहानुभूति देखाउँथे, घुम्दै जाँदा न्युरोडमा बसेकी एक वृद्ध महिलालाईसहयोग दिन खोजेका थिए, मैले उनीहरूलाई आमाघरमा धेरै वृद्ध महिलाहरू छन्, त्यहाँ सहयोग गर भनेर प्रेरित गरें,' बालाजु बस्दै आएका उनले भने, 'सुरुमा ५ सय डलर सहयोग गरे, मदर टेरेसालाई सहयोग गरेको भन्दै प्रशंसा गर्दा मन छोएछ, फेरि फर्किएर ५ हजार डलर थपिदिए ।' त्यसबाहेक उनले खाद्यान्न र लत्ता कपडासमेत उपलब्ध गराइदिएका थिए ।