कैदीलाई झ्यालमा बाँधेर प्रहरी शौचालय जाँदा...

काठमाडौ, भाद्र ७ - म्याद थप गर्न लगेको कैदीलाई झ्यालमा बाँधेर प्रहरी शौचालय जाँदा जिल्ला अदालत काठमाडौं परिसरबाट एक कैदी फरार भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट मोटरसाइकल चोरीमा म्याद थपका लागि ल्याएका कैदी साइला तामाङ प्रहरी शौचालय गएको मौका पारी फरार भएका हुन् । उनलाई लिएर गएका प्रहरी जवान दिवाकर फुयालले तामाङसहित थप दुई कैदीलाई एउटै हत्कडीको साङ्लोमा बाँधेर झ्यालमा 'लक' गरेका थिए । तामाङले हत्कडीबाट हात फुस्काएर भागेको काठमाडौं प्रहरी स्रोतले जनाएको छ ।
काठमाडौं प्रहरीले दिवाकरलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले एक दिनअघि पक्राउ गरी मुद्दा चलाउन काठमाडौं प्रहरीलाई बुझाएको थियो । काठमाडौं अदालतबाट मंगलबार साढे ४ बजे ५ दिनका लागि म्याद थप गरिदिएको थियो । म्याद थपपछि अदालत पुर्‍याइएका अन्य थुनुवाको म्याद थप प्रक्रिया पूरा नभएकाले पर्खेर बसेका थिए ।


प्रकाशित मिति: २०६९ भाद्र ७ १२:२५

-ekantipur